
मदन भण्डारी लोकमार्गको उदयपुरको चौदण्डीगढी नगरपालिका–४, बर्खेडाँडा खण्डमा यात्रुबाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार दुर्घटनामा परी खोटाङ हलेसी तुवाचुङ नगरपालिका–४ की ४० वर्षीया गीता परियारको मृत्यु भएको हो। दुर्घटनामा परी गम्भीर घाइते भएकी उनको उपचारको लागि नगर अस्पताल बेल्टार लगिएको र उपचारको क्रममा मृत्यु भएको हो।
खोटाङबाट उदयपुरको गाईघाट हुँदै सुनसरीको इटहरीतर्फ जन्ती लिएर गएको को १ख ४७२१ नम्बरको बस सडक छेउमा रोकी र सो बसभित्र रहेका यात्रुहरू सडक पार गर्ने क्रममा सोही दिशाबाट आउँदै गरेको ना३त ८१० नम्बरको ट्याक्टरले ठक्कर दिँदा मृत्यु भएको हो।
दुर्घटनामा परी घाइते भएका सुनसरी इटहरी उपमहानगरपालिका–२० बस्ने २३ वर्षीय युजन राईलाई नगर अस्पताल उदयपुरमा सामान्य उपचारपश्चात् थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा पठाएको दोङको भनाइ छ।