१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २२ सोमबार
  • Wednesday, 07 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख २२ सोमबार o६:o३:oo
Read Time : > 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : शक्तिको समान प्रयोग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख २२ सोमबार o६:o३:oo

गंगा किनारमा एक सन्तले आफ्ना शिष्यहरूलाई शिक्षा दिइरहेका थिए । एक शिष्यले उनलाई प्रश्न गरे— गुरुदेव, केही नयाँ काम गर्न खोज्दा समाजले हाम्रो विरोध गर्‍यो भने के गर्नु ठिक होला ? सन्तले भने— यस प्रश्नको उत्तर भोलि दिनेछु । 

दोस्रो दिन जब सबै शिष्य नदी किनारमा एकत्रित भए, तब सन्तले भने— आज हामी एउटा प्रयोग गर्नेछौँ । माछा समात्न प्रयोग हुने यी तीन लट्ठी हेर त । एउटै काठबाट बनेका यी सबै बिल्कुल समान छन् । उनले अघिल्लो दिन प्रश्न गर्ने शिष्यलाई अगाडि बोलाए र भने— बाबु, यी लट्ठीले माछा समात । शिष्यले लट्ठीमा काँटा लगाएर पानीमा डुबाए । एकैछिनमा एउटा ठुलो माछा काँटामा फस्यो । त्यो देखेर सन्तले भने— अब पूरा शक्ति लगाएर बाहिर निकाल । शिष्यले त्यस्तै गरे । उता माछाले पनि पूरै शक्ति लगाएर भाग्ने कोसिस गर्‍यो । परिणामतः लट्ठी भाँचियो । 

सन्तले भने— केही छैन, यो अर्को लट्ठी लिएर पुनः प्रयास गर । शिष्यले फेरि काँटा पानीमा डुबाए । यसपटक पनि माछा काँटामा फस्यो । गुरुले भने— आरामसाथ, बिस्तारै लट्ठी बाहिर तान । शिष्यले त्यस्तै गरे । तर, माछाले जोडले झड्का दिँदा लट्ठी शिष्यको हातबाट फुत्कियो । सन्तले भने— ओहो ! माछा फेरि फुत्कियो । अब यो लट्ठी लिएर एकपटक फेरि प्रयत्न गर । शिष्यले त्यसै गरे । यसपटक माछा फस्नासाथ सन्तले भने— यसपटक जति शक्ति माछाले लगाउँछ, तिमीले पनि त्यति नै शक्ति लगाएर बाहिर तान । केहीबेरमा माछा थाक्छ अनि तिमी सजिलै त्यसलाई बाहिर निकाल्न सक्नेछौ । 

शिष्य माछा पक्रिन सफल भए । सन्तले भने यी माछा त्यो समाजजस्तै हुन् जसले तिमीहरूले केही गर्दा विरोध गर्छ । समाजविरुद्ध तिमीहरूले बढी बल लगायौ भने तिमीहरू पराजित हुनेछौ । कम शक्ति लगायौँ भने पनि तिनले तिमीहरूको योजना पूरा हुन दिँदैनन् । तर, उनीहरूले जति बल प्रयोग गरेर विरोध गर्छन्, त्यति नै बल प्रयोग गर्‍यौ भने उनीहरू बिस्तारै थाक्छन् र हार स्विकार्छन् । तब मात्र तिमीहरूको जित हुनेछ ।