
सन् २०२५ को अप्रिल महिना नेपाली पर्यटन क्षेत्रका लागि उत्साहप्रद बनेको छ । एक महिनामा एक लाख १६ हजार चार सय ९० विदेशी पर्यटक नेपाल भित्रिएर अहिलेसम्मकै धेरै पर्यटक आएको महिना बन्न सफल भएको छ । यसअघि सन् २०२४ को अप्रिलमा सबैभन्दा धेरै एक लाख ११ हजार तीन सय ७६ पर्यटक नेपाल भित्रिएका थिए ।
कोभिड महामारी सुरु हुनुअघि सन् २०१९ को अप्रिलमा एक लाख नौ हजार तीन सय ९९ पर्यटक नेपाल घुम्न आएको पर्यटन बोर्डको तथ्यांक छ । सो महिनासँग तुलना गर्दा यो अप्रिलमा पर्यटक आगमन ६.५ प्रतिशतले बढेको देखिन्छ । विश्वव्यापी कोरोना भाइरस फैलिएपछि सन् २०२० को अप्रिलमा पर्यटक आगमन घटेर १४ जनामा झरेको थियो । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले पर्यटक आगमनमा भएको बढोत्तरी नेपालको आकर्षण र पर्यटन सम्भावनाको प्रमाण भएको बताएका छन् । बोर्डले यो अहिलेसम्मकै सफल अप्रिल भएको जनाएको छ ।
सन् २०२५ को पहिलो चार महिनामा विभिन्न देशबाट चार लाख १५ हजार ४८ पर्यटक नेपाल भित्रिएका छन् । सबैभन्दा धेरै पर्यटक मार्चमा एक लाख २१ हजार ६८७ भित्रिएको पर्र्यटन बोर्डको तथ्यांक छ । यस्तै, जनवरीमा ७९ हजार ९९१, फेब्रुअरीमा ९६ हजार ८८०, मार्चमा एक लाख २१ हजार ६८७ र अप्रिलमा एक लाख १६ हजार ४९० पर्यटक नेपाल भित्रिएका छन् ।
कुन देशबाट कति भित्रिए ?
अप्रिल महिनामा भारतीय पर्यटकको संख्या बढेको छ । एक महिनामा २५ हजार नौ सय ३३ भारतीयले नेपाल भ्रमण गरेका छन् । धेरै पर्यटक भित्रिने दोस्रो देशमा अमेरिका रहेको छ, जहाँबाट अप्रिलमा १० हजार ५३ पर्यटक घुम्न आएका छन् । यस्तै, चीनबाट नौ हजार ३७, युकेबाट ६ हजार सात सय ३८, बंगलादेशबाट पाँच हजार तीन सय ९८, अस्ट्रेलियाबाट पाँच हजार तीन सय १९, जर्मनीबाट तीन हजार आठ सय ३५, फ्रान्सबाट तीन हजार दुई सय ६५, रसियाबाट तीन हजार ५१, इजरायलबाट दुई हजार ६ सय ९८ पर्यटक नेपाल घुम्न आएको पर्यटन बोर्डले जनाएको छ । अप्रिलमा युरोप, आसियाना र मध्यपूर्वी देशहरूका पर्यटक उल्लेख्य बढेका छन् । तर, एसियाली र अफ्रिकन देशहरूका पर्यटक घटेको तथ्यांकले देखाउँछ ।