
पाकिस्तानसँगको भारतीय सीमाका बासिन्दा सीमाबाट सुरक्षित क्षेत्रतर्फ बसोवास गर्न थालेका छन् । दुई देशका सेनाबिच सीमामा झडपका घटना वृद्धि भइरहेका वेला सीमाका बासिन्दा सुरक्षित क्षेत्रतर्फ सरेका हुन् । चेनाब नदीको किनारमा बसोवास गर्ने कृषि बस्तीका करिब एक हजार ५०० बासिन्दालाई द्वन्द्वको डरले स्थानान्तरण गरेको जनाइएको छ । गाउँ प्रमुख सुखदेव कुमारले अधिकांश परिवार सुरक्षित आवासका लागि अर्को ठाउँमा घर बनाई सरेका र शिविरमा करिब एकतिहाइ मात्र मानिस रहेको बताए ।
भारतले पाकिस्तानलाई कस्मिरमा सर्वसाधारणमाथिको आक्रमणलाई समर्थन गरेको आरोप लगाएपछि दुई छिमेकीबिचको सम्बन्ध बिग्रिएको छ । पहलगाममा अप्रिल २२ मा भएको आक्रमणपछि भारतीय प्रहरीले तीनजनाको खोजी जारी राखेको छ भने संयुक्त राष्ट्र संघले उनीहरूलाई आतंकवादी घोषणा गरेको छ । उक्त घटनाका आक्रमणकारीलाई पाकिस्तानले संरक्षण गरेको नयाँदिल्लीले आरोप लगाउँदै आएको छ ।
भारतीय सेनाले शनिबार आफ्ना सैनिकले पाकिस्तानी सैनिकसँग कस्मिरसँगको सीमामा गोली चलाएको बताएको छ । सन् १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएदेखि नै कस्मिर भारत र पाकिस्तानको विवादित क्षेत्र बनेको छ । सन् १९९९ मा दुवै पक्षले आक्रमण गर्दा यो क्षेत्र नराम्ररी प्रभावित भएको जनाइएको छ ।