
नौबिसे–नागढुंगा सडक १० दिनका लागि रातका समयमा बन्द गरिने भएको छ । संघीय राजधानी काठमाडौं आवतजावत गर्ने मुख्य मार्ग मानिने सो सडक यही वैशाख २२ देखि वैशाख ३१ गतेसम्म राति ११ देखि बिहान ३ बजेसम्म सवारीसाधन आवतजावत रोकेर सडक निर्माणको काम गर्न लागिएको हो ।
त्रिभुवन राजपथको नागढुंगा–पिप्लामोड क्षेत्रमा सडक निर्माण भइरहेकाले सम्भावित जोखिमबाट बच्न र तीव्रगतिमा काम अघि बढाउन रातिको समयमा सडक बन्द गरेर काम गर्न लागिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद न्यौपानेद्वारा सूचनामा उल्लेख गरिएको छ ।
काठमाडौंबाट नौबिसेतर्फ जाने हलुका तथा भारी सवारीसाधनलाई राति नागढुंगा चेकपोस्टमा र नौबिसेबाट काठमाडौंतर्फ आउने सवारीसाधनलाई खत्रीपौवा पुलमा रोकिने सूचनामा उल्लेख छ । त्यस समयमा सवारीसाधनलाई वैकल्पिक सडक प्रयोग गर्न नागढुंगा–मुग्लिन सडक योजना कार्यालयले आग्रह गरेको छ ।
साना तथा मझौला सवारीसाधनले सीतापाइला–भीमढुंगा–रामकोट–धार्के सडक प्रयोग गर्न सक्नेछ । त्यस्तै वैकल्पिक बाटोका रूपमा सामाखुसी–टोखा–गुर्जेभञ्ज्याङ–छहरे–त्रिशूली–गल्छी सडक हुँदै जान सकिनेछ । एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन भने रोकिनेछैन । ओभरट्याक नगरी बन्दको समयमा नियमपालना गरिदिन कार्यालयले अनुरोध गरेको छ ।