१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २० शनिबार
  • Saturday, 03 May, 2025
२o८२ बैशाख २० शनिबार o९:२१:oo
Read Time : > 3 मिनेट
फिचर प्रिन्ट संस्करण

पूर्वसांसद तारासम योङ्याको ‘बुढो साइकल’

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २० शनिबार o९:२१:oo
  • न कुनै सुविधाको खोजी, न राज्यसत्ताबाट अपेक्षा । तारासम जीवनको उत्तरार्द्धमा पनि त्यही साढे दुई दशक पुरानो साइकल चढेर बजार डुल्छन् । 

मध्य वैशाखको चर्को घाम । शिवसताक्षीको दुधेबजारनजिकै पूर्वपश्चिम राजमार्गछेउमै असिनपसिन हुँदै साइकल डोर्‍याइरहेको अवस्थामा भेटिए ८१ वर्षीय पूर्वसांसद तारासम योङ्या । तीन दशकदेखि बोक्दै आएको साइकलले धोका दिएपछि उनी डोर्‍याउन बाध्य थिए । 

‘आज साइकललाई के भयो ?’ हामीले सोध्यौँ । उनले पसिना पुछेर हाँस्दै भने, ‘कहिलेकाहीँ धोका दिन्छ नि ! पन्चर भएछ, के–के बिग्रन्छ, मर्मत गर्दै चलाउँदै छु ।’ घरबाट करिब एक किलोमिटरमा रहेको दुधेबजारसम्म साइकल डोर्‍याएर आइपुगे । साइकल बनाउन दिएर उनी हामीसँग अनुभव साट्न थाले ।

झापाका पुराना र स्थापित कम्युनिस्ट नेता तारासम योङ्या दुई कार्यकाल सताक्षीधाम गाविस अध्यक्ष भए, ०५६ सालमा प्रतिनिधिसभा सदस्य र ०६३ को अन्तरिम संसद्मा पनि सहभागी रहे ।

सादगी जीवनको प्रतिमूर्ति तारासम जीवनको उत्तरार्धमा पनि त्यही पुरानै साइकल चढेर बजार डुल्छन् । न कुनै सुविधा खोजी, न राज्यसत्ताबाट अपेक्षा ।

०५४ सालमा दोस्रोपटक गाविस अध्यक्ष हुँदा किनेको साइकल अझै उनको हिँड्डुलको मुख्य साधन हो ।

‘करिब तीन दशकदेखि यही साइकलमा यात्रा गरिरहेको छु,’ उनी भन्छन्, ‘त्यसवेला जनप्रतिनिधि गाडी चढ्दैनथे, मोटरसाइकलसमेत बिरलै हुन्थ्यो । मचाहिँ साइकलमै जनताको सेवामा खटिएँ ।’

करिब तीन दशकदेखि साथमा रहेको यो साइकल उनका लागि निकै प्रिय छ । ०५६ सालमा सांसदमा निर्वाचित भएपछि भने केही समय यो साइकलले आराम पायो । तर, निर्वाचन क्षेत्र आएका वेला हुने औपचारिक कार्यक्रममा यही साइकल लैजान्थेँ । 

०२४ सालमा शिक्षण पेसामा लाग्दादेखि नै कम्युनिस्ट आन्दोलनप्रति झुकाव राखेका तारासम एमालेको मेची अञ्चल कमिटीदेखि राष्ट्रिय परिषद् सदस्यसम्मका जिम्मेवारीमा सक्रिय रहे । हाल उनी एमाले केन्द्रीय सल्लाहकार परिषद्मा छन्, तर सक्रिय राजनीति भने त्यागिसकेका छन् ।

एमाले अध्यक्ष केपी ओली निकट नेता मानिए पनि उनले सधैँ सत्ता र शक्तिको वरिपरि घुम्ने मोह राखेनन् । लोभलालचबाट टाढा बसेर उनले ‘असली कम्युनिस्ट’को जीवनपद्धति अँगाले ।

‘जहानियाँ राणा, निरंकुश पञ्चायत, राजतन्त्र सब फालिएको छ । लोकतान्त्रिक गणतन्त्र आएको छ,’ उनी भन्छन्, ‘अब सत्तामा राम, श्याम, हरि, जो आए पनि मलाई सरोकार छैन । म आफैँ श्रम गरेर बाँच्न चाहन्छु ।’

खेतीमा दैनिक खटिन्छन्
उमेरले आठ दशक नाघिसक्यो । तर, तारासम योङ्याले अझै श्रम गर्न छाडेका छैनन् । उनी खेतबारीमै पसिना बगाएर घरका लागि अन्नबाली उत्पादन गर्छन् । ‘आफूलाई चाहिने धान, मकै आफैँ फलाउँछु,’ उनी भन्छन्, ‘मन स्थिर राख्न ध्यान गर्छु, शरीरलाई तन्दुरुस्त राख्न व्यायाम गर्छु । साइकल चलाउनु पनि व्यायाम नै हो, त्यसैले म अझै पनि साइकलमै हिँड्डुल गर्छु ।’ तारासमको जीवनशैली नै उनी स्वस्थ्य रहनुको मुख्य कारण हो । ‘आजका धेरै युवाभन्दा छिटो हिँड्न सक्छु,’ उनी दाबी गर्छन् । 

तारासम अहिले मोबाइलमार्फत अनलाइन समाचार हेर्छन्, पत्रपत्रिका पढ्छन् । तर, कृषि क्षेत्रको जटिलता र उपेक्षा देख्दा उनी चिन्तित छन् । ‘कृषिलाई विशेष प्राथमिकता दिनुपर्ने हो,’ उनी भन्छन्, ‘तर, कृषि क्षेत्र झन् पछि परेको छ ।’

उनी सम्झन्छन्, ‘पहिले तोरी र धान बेचिन्थ्यो, आजकाल त किन्नुपर्ने अवस्था आएको छ । खेतबारी खाली छन्, मान्छेले गाईवस्तु पाल्न छाडे, मल उत्पादन हुँदैन । संसद्मा यस्ता विषय उठ्दैनन्,’ उनी गुनासोको पोको खोल्छन्, ‘यी विषयमा गम्भीर छलफल होस् भन्ने चाहना छ । तर, कसले बोलिदिने किसानका कुरा ?’  

जब चुनावकोे टिकट त्यागे 
गाविस अध्यक्षदेखि संसद्सम्मको उनको राजनीतिक उडान रोचक छ । तारासमले दुईपटक सताक्षीधाम गाविसको अध्यक्ष जिते । पहिलोपटक ०४९ सालमा र दोस्रोपटक ०५४ मा । तर, दोस्रो कार्यकाल पूरा गर्न भने पाएनन् । कारण– प्रतिनिधिसभा चुनाव । ०५६ सालमा तत्कालीन झापा–५ बाट उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । गाविस अध्यक्षबाट राजीनामा दिए, चुनाव लडे र जिते पनि । जनताले गाउँमा विश्वास गरेझैँ, संसद्मा पनि भरोसा गरेका थिए, उनलाई ।

०६३ सालमा अन्तरिम व्यवस्थापिकाका सदस्य बनेका तारासमले ०५६ सालको संसदीय चुनावमा जम्मा दुई हजार रुपैयाँ खर्च गरेर चुनाव जितेका थिए । तर, ०७० सालमा दोस्रो संविधानसभा निर्वाचन आउँदा राजनीतिको चरित्र फेरिइसकेको थियो । ‘०५६ मा दुई हजार रुपैयाँमा चुनाव जितेको, ०७० आउँदा त एक करोडले पनि नपुग्ने भयो,’ उनी सम्झन्छन्, ‘खर्चिलो चुनावसामु टिक्न सकिएन । उम्मेदवार नबन्ने मनस्थितिमा पुगेँ ।’ उनलाई मनाउन केपी ओली र झलनाथ खनालले आग्रह गरे । तर, उनले स्पष्ट रूपमा भने, ‘म खर्च गर्न सक्दिनँ ।’ अन्ततः पाएको टिकट नै त्यागिदिए ।

उनको बुझाइमा निर्वाचन खर्च पनि भ्रष्टाचार बढाउने मुख्य कारण हो । ‘जब करोडौँ खर्चेर चुनाव जितिन्छ, त्यो पैसा त कसरी भए पनि उठाउनैपर्‍यो,’ उनी भन्छन्, ‘त्यसैले जितेपछि सरुवा, बढुवामार्फत वा ठेक्कापट्टामार्फत उठाउने चलन सुरु भयो । यही हो भ्रष्टाचारको मूल जड ।’

उनको स्मृतिमा पार्टीको पुरानो अनुशासन अझै ताजा छ । ‘पहिले प्रचारमा पार्टी संगठनले नै खर्च व्यहोथ्र्यो,’ उनी भन्छन्, ‘अहिले त कार्यकर्तामा पनि लोभ पलाउन थालेको छ ।’ 

घरबाटैै विद्रोह
तारासम ००१ सालमा पाँचथरको ओयाममा जन्मिएका हुन् । उनका बुबा गाउँका अमाली सुब्बा थिए । यसकारण सुखसयलमै हुर्किए । तर, पढाइका लागि उनले अफ्नो घरबाट विद्रोह गर्नुपर्ने बाध्यता महसुस गरे ।

‘बुबाको बाकस खोलेर आठ–नौ रुपैयाँ लिएर म दार्जिलिङ भागेँ । पढ्नका लागि विजनबारी पुगेको थिएँ । तर, आमाले मान्छे पठाएर फर्काउनुभयो,’ उनी सम्झन्छन् । तर, अन्ततः उनले विद्यालयमा नाम लेखाउन सर्त राखेका थिए र नाम लेखाइयो पनि । 

पछि, तारासम र उनका साथीहरूले गाउँमै विद्यालय खोले । त्यहाँ कक्षा ५ सम्म पढे र त्यसपछि आफैँले खोलेको सिद्धेश्वर प्राविमा सहायक शिक्षकको रूपमा काम पनि सुरु गरे । ‘कक्षा ६ माथि विद्यालय नगईकनै पढेँ,’ उनी भन्छन् ।

झुटो मुद्दामा जेल
झापामा दारासिंह नामका एउटा चर्चित पात्र थिए । उनी ‘डन’ थिए । उनीसँग सबै डराउँथे । यिनै पात्रको विषयमा ‘उर्फ दारासिंह’ नाटक काठमाडौंको मण्डला थिएटरमा चुलाचुली रंगमञ्चले मञ्चन गरिरहेको थियो । 

तारासम योङ्यालाई तिनै दारासिंहको हत्या आरोपमा फसाइयो र सात वर्ष जेल पठाइयो । तर, तारासम दाबी गर्छन्, ‘त्यो घटनामा मेरो कुनै संलग्नता थिएन । पञ्चायतकोे विरोध गर्‍यो भनेर पुनारावेदन अदालतबाट फेरि थुनाए ।’ पछि, सर्वोच्च अदालतले उनलाई निर्दोष प्रमाणित गर्दै सफाइ दिएको थियो । 

०३७ सालमा तारासम योङ्या, सताक्षी प्राथमिक विद्यालयका शिक्षक, विद्यालयको आयस्रोतका लागि माघे संक्रान्ति मेला आयोजना गर्न जिम्मेवारीमा थिए । मेला आयोजना गर्ने सचिवको रूपमा उनले आयोजकको जिम्मेवारी निभाउँदै थिए । त्यो मेलामा तासजुवाबाहेक अन्य खेलकुद र मनोरञ्जनका कार्यक्रम राख्न अनुमति थियो । तर, मेलामा जुवा खेल्ने प्रचलनको विरोध गर्दै तारासम र केही अन्य व्यक्ति त्यसविरुद्ध उभिए । 

त्यसवेलाको झापाको राजनीतिक र सामाजिक परिप्रेक्ष्यमा मेलामा जुवा खेल्न लागेका दारासिंह, प्रधानपञ्च जंगबहादुर अधिकारी र वडाध्यक्ष शिवकुमार योङ्याबिच विवाद उत्पन्न भयो । त्यही विवादबिच दारासिंह मारिए । त्यसको दोष तारासमको काँधमा आइलाग्यो । तारासमले भने, ‘अनाहकमा मलाई सात वर्ष जेलमा राखियो ।’