
सरकारले आगामी आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रममा खेलकुदका विभिन्न ६ बुँदा समावेश गरेको छ । जसमा खेलाडी र उनीहरूका सन्ततिलाई छात्रवृत्तिको व्यवस्था प्राथमिकतामा राखिएको छ । शुक्रबार बानेश्वरस्थित संघीय संसद् भवनमा प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त सभालाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रममा निजी क्षेत्रलाई पनि खेलकुदमा जोडिने किसिमका कार्यक्रम समावेश गरेको घोषणा गरे । त्यस्तै, संघ, प्रदेश तथा स्थानीय तह र खेल संघको सहकार्यमा स्पोर्टस् स्कुल कार्यक्रम सञ्चालन गरिने अभिलेख छ । विद्यालय तहदेखि खेलकुद तालिम, प्रशिक्षण र खेलाडीको सहभागिता कार्यक्रम सञ्चालन नीति, घोषणा कार्यक्रमको छ ।
त्रिवि मैदान प्राथमिकतामा
आगामी वर्षको बजेटमा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई आधुनिक स्तरको क्रिकेट मैदानमा रूपान्तरण गरिने उल्लेख छ । हाल नेपाल सरकारले नै त्रिवि क्रिकेट मैदानमा १५ हजार दर्शक अट्ने प्यारापिट निर्माण गरिरहेको छ । त्यस्तै, फ्लड लाइट जडानको काम भएका छन् । आधा काम अघिल्लो वर्षको बजेटमै समावेश भए पनि सरकारले बाँकी दोस्रो चरणको कामका लागि पनि नीति तथा कार्यक्रममा समावेश गरेको हो । नीति तथा कार्यक्रममा त्रिवि मैदानलाई समावेश गरिए पनि मूलपानी तल्लो र माथिल्लो मैदान, पोखरा रंगशाला, चितवनको गौतम बुद्ध रंगशालाको विषय समावेश छैन ।
यस्ता छन् कार्यक्रम
दसौँ राष्ट्रिय खेलकुदले स्थान नै पाएन
सरकारले नीति तथा कार्यक्रम घोषणा गर्दा दसौँ राष्ट्रिय खेलकुद भने प्राथमिकता नै परेन । आर्थिक वर्ष ०८०/८१ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले दसौँ आयोजना गर्दा ६० करोड विनियोजन गरेको थियो । तर, तीनपटक गरी प्रतियोगिता सरेको छ । खेलकुदमन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङको टकरावले प्रतियोगिता दुईपटक सरेको थियो । रिक्त रहेको राखेपको उपाध्यक्षमा ध्रुव आचार्य आएपछि राखेपभित्रको अन्तरद्वन्द्व झनै बढ्यो । तेस्रोपटक जेठमा हुने भनिएको दसौँ राष्ट्रिय खेलकुद पनि नहुने पक्का भएको छ । मन्त्री, उपाध्यक्ष र सदस्यसचिव दसौँ राष्ट्रिय खेलकुद गर्ने मनसायमा देखिँदैनन् । उपाध्यक्ष आचार्य नै प्रतियोगिता गर्ने पक्षमा नभएको राखेपभित्रै आरोप लाग्दै आएको छ । उनी प्रधानमन्त्री केपी ओलीको आडमा प्रतियोगिता जसरी पनि सार्ने मनसायमा छन् ।