
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्था परिवर्तन भए पनि नागरिकको जीवनस्तरमा परिवर्तन नआउनु चिन्ताको विषय भएको बताएकी छिन्। मदन भण्डारी फाउन्डेसन मकवानपुरले आयोजना गरेको श्रीचन्द्र शर्मा स्मृति सम्मान कार्यक्रममा उनले राजनीतिक दलहरूले नागरिकको आर्थिक र सामाजिक अवस्था परिवर्तन हुने गरी काम गर्नुपर्ने बताइन्।
‘नागरिकको आवश्यकता र चाहनाअनुसारको विकास अहिलेको आवश्यकता हो। तर, राजनीतिक दलहरूले जनअपेक्षाअनुसार काम गर्न सकिरहेका छैनन्,’ उनले भनिन्, ‘जनताले सकारात्मक परिवर्तनको महसुस गर्ने गरी सामाजिक र आर्थिक रूपान्तरणको कार्यभार पूरा गर्न बाँकी छ।’
व्यवस्था परिवर्तनसँगै जीवनस्तरमा सुधार आउँछ भन्ने नागरिकको अपेक्षामा दलहरू खरो उत्रन नसकेको पूर्वराष्ट्रपति भण्डारीको भनाइ थियो। संविधानमा उल्लेख भएको अधिकार व्यवहारमा लागु नहुँदा पनि नागरिकमा वितृष्णा छाएको उनको दाबी छ।
उनले जननेता मदन भण्डारीको मौलिक राजनीतिक सिद्धान्त जनताको बहुदलीय जनवादमार्फत नागरिकको सक्रिय सहभागिता, बहुदलीय प्रतिस्पर्धा र खुला लोकतान्त्रिक प्रणालीसहित देशलाई समाजवादको दिशातर्फ उन्मुख गराउन सबै मिलेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिइन्।
फाउन्डेसनका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा भएको कार्यक्रममा श्रीचन्द्र शर्मा स्मृति सम्मान ०८२ बाट हेटौँडा उपमहानगरपालिका–८ कमानेकी सुभद्रा रेग्मीलाई सम्मान गरिएको छ । उनलाई नेपाल स्वतन्त्र मजदुर युनियन र अखिल नेपाल महिला संघमा आबद्ध रही तत्कालीन पञ्चायती निरंकुशताविरुद्धको लडाइमा सक्रिय सहभागिता जनाउँदै भूमिगत कालमा सेल्टरदाताको रूपमा योगदान गरेको भन्दै मदन भण्डारी फाउन्डेसन मकवानपुरले सम्मान गरेको हो।