
खासाबाट तातोपानी भन्सार जाँदै गरेको नयाँ विद्युतीय कार भासिएको सडकबाट भोटेकाेशी नदीमा खस्दा एकजना गम्भीर घाइते भएका छन्। घाइते कोदारीनिवासी दाबा तामाङको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।
बिहीबार बिहानै कोदारी राजमार्गको कोप्लाङमा सडक भासिएको थियो। जोखिमपूर्ण सडकबाट कार ल्याउँदा भोटेकोसीमा खसेको हो। शुक्रबार बेलुका ९ बजे कार खसेको छ।
खासाबाट आयात भएका विद्युतीय सवारी बर्खाअघि राजधानी काठमाडौं पुग्नुपर्ने हतार र सडकको दूरावस्थाले घटना घटेको भन्सारका सूचना अधिकृत सूर्यप्रसाद काफ्लेले बताए। तातोपानी क्षेत्रमा पाँच सयभन्दा बढी विद्युतीय सवारी जाँचपासका लागि क्युमा रहेका छन्।
बर्खाअघि नै सडक भासिँदै गएकाले खासामा रहेका नेपाली व्यापारीको सामान तातोपानी पास गर्न समस्या हुने देखिएको छ। जताततै सडक भासिएको र स-साना पहिरोले थिचेकोले केही दिन नाका नै बन्द गरेर सडक बनाउनेबारे सडक डिभिजनले सरोकारवालासँग छलफल चलाइरहेको छ।