१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २० शनिबार
  • Saturday, 03 May, 2025
२o८२ बैशाख २० शनिबार o७:३३:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आइपिएल–२०२५ : गुजरात दोस्रो स्थानमा उक्लियो 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २० शनिबार o७:३३:oo

गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल)को तेस्रो स्थानमा उक्लिएको छ । शुक्रबार नरेन्द्र मोदी मैदानमा गुजरातले सनराइजर्स हैदराबादलाई ३८ रनले हरायो । टस हारेर ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै दुई सय २५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा घरेलु टोली हैदराबादले ६ विकेट गुमाउँदा मात्र १८६ रन बनायो । 

यो जितले गुजरात १० खेलबाट १४ अंकसहित दोस्रो स्थानमा उक्लियो । गुजरातको जितले रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) तेस्रो स्थानमा झरेको छ । समान १४ अंक भए पनि मुम्बई इन्डियन्स नेटरन रेटका आधारमा शीर्ष स्थानमा छ । यता, १३ अंकसहित पन्जाब किंग्स चौथो स्थानमा छ । शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् । १० खेलमा ६ अंक जोडेको हैदराबाद पनि प्लेअफ पुग्न सकेन । 

सुभमन गिलको कप्तानीमा रहेको गुजरात राजस्थान, पन्जाब र दिल्लीसँग मात्रै पराजित भएको छ । हैदराबादले भने चेन्नई, पन्जाब र राजस्थानलाई मात्रै हराएको छ । बाँकी सबै खेलमा प्याट कमिन्सको कप्तानीमा रहेको हैदराबाद पराजित भएको थियो । यसअघि पनि कमजोर प्रदर्शन गर्दै चेन्नई सुपर किंग्स र राजस्थान रोयल्स पनि प्लेअफ पुग्नै सकेनन् । 

विशाल लक्ष्य पछ्याएको हैदराबादका लागि ओपनर अभिषेक शर्मा मात्रै चले । अन्य खेलाडीले ठुलो स्कोर बनाउन नसक्दा हैदराबाद पराजित हुन पुग्यो । अभिषेकले ५१ बलमा चार चौका र ६ छक्कासहित सर्वाधिक ७४ रन बनाउन सफल भएका हुन् । हेनरिक क्लासेनले २३ तथा ट्राभिस हेडले २० रनको योगदान गरे । क्लासेन र अभिषेकबिच सर्वाधिक ५७ रनको साझेदारी भएको थियो । त्यस्तै, हेड र अभिषेकबिच पहिलो विकेटका लागि ४९ रनको दोस्रो ठुलो साझेदारी भएको हो । इशान किसनले जम्मा १३ रन जोडेका थिए । आशा गरिएका कामिन्दु मेन्डिस डक आउट भए । अनिकेत बर्मा पनि तीन रन बनाएर आउट भएका हुन् । 

गुजरातका लागि मोहम्मद सिराज र प्रसिद्ध कृष्णले समान दुई विकेट हात पारेका थिए ।  इशान्त शर्मा र गेराल्ड काइट्जले समान एक विकेट लिए ।  कप्तान सुभमन गिल र जस बट्लरले अर्धशतक बनाएपछि गुजरातले ६ विकेट गुमाउँदै दुई सय २४ रन बनायो । गिलले ३८ बलमा १० चौका र दुई छक्कासहित सर्वाधिक ७६ रन बनाएका हुन् । बटलरले ३७ बलमा तीन चौका र चार छक्कासहित ६४ रन जोडे ।

यसअघि ओपनर साई सुदर्शन पनि ४८ रन बनाएर आउट भएका थिए । वासिङटन सुन्दरले २१ रनको योगदान गरे । गुजरातले तीन अर्धशतकीय साझेदारी गरेपछि बलियो स्थितिमा पुगेको थियो । पहिलो विकेटका लागि गिल र सुदर्शनबिच सर्वाधिक ८७ रनको साझेदारी भयो । हैदराबादका लागि जयदेव उनाडकटले सर्वाधिक तीन विकेट हात पारेका थिए । शनिबार हुने खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) र चेन्नई सुपर किंग्सबिच प्रतिस्पर्धा हुनेछ ।