
उदयपुरको कटारी नगरपालिकामातहतमा रहेको १५ शय्याको कटारी अस्पताल ५० शय्यामा स्तराेन्नति हुँदै प्रादेशिक अस्पतालमा रूपान्तरण भएको छ । केही दिनअघि मात्र १५ शय्याको नगर अस्पताल ५० शय्यामा स्तरोन्नति गरी प्रादेशिक अस्पतालमा रूपान्तरण भएको औपचारिक रूपमा उद्घाटन गरिएको हो ।
उक्त उद्घाटन कोशी प्रदेशका भौतिक योजना एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले गरेका थिए । अब कटारी अस्पताल कोशी प्रदेश सरकारको मातहतमा सञ्चालन हुनेछ । कटारी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. गौरव साहले अस्पतालमा अब थप सेवा सुविधा बढ्ने बताए । उनले भने, ‘सरकारी मापदण्डअनुसार कटारी अस्पतालमा हाल १५ शय्याको अस्पतालमा हुने सेवा सुविधा मात्र थियो । अब ५० शय्याको अस्पतालले दिने सेवा सुविधा पाइनेछ ।’ प्रमुख साहका अनुसार हाल अस्पतालले एमडिजिपी सेवा, जर्नल सर्जरी सेवा, परिवार नियोजन, प्याथोलोजीलगायतका सेवा दिँदै आएको थियो ।
५० शय्याको औपचारिक रूपमा हुने भएपछि महिला, बालरोग सेवा, फिजिसियन, एसएनसिएलगायतका सेवा थपिनेछ । उनले भने, ‘त्यसको व्यवस्था अब आउने आर्थिक वर्षबाट कोशी प्रदेश सरकारले गर्दै लैजानेछ ।’ कटारी अस्पतालको अहिले पुरानो र हालको नयाँ गरी दुईवटा भवनबाट नगरपालिकाले आन्तरिक रूपमा ४५ शय्या सञ्चालन गर्दै आएको थियो ।
आउने आर्थिक वर्षबाट प्रदेश सरकारले नयाँ भवन बनाउने र सेवा–सुविधा विस्तार हुने हालका अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्रसिंह तामाङले बताए । उनले भने, ‘कटारी अस्पतालको नाममा हाल १४ कठ्ठा जग्गा छ । अब त्यसैमा एक बिघा नाै कठ्ठा थपिँदै छ । जग्गा प्रशस्त भएकाले नयाँ भवन बनाएर अस्पताल विस्तारमा सहज छ । आउने आर्थिक वर्षबाट कटारी अस्पतालबाट प्रादेशिक अस्पतालको सेवा पाइनेछ ।’
कटारी अस्पताल प्रशासनका अनुसार हाल चिकित्सकसहितको सरकारी स्वीकृत दरबन्दी २८ भए पनि हाल विभिन्न प्रकारका करारमा समेत गरी ५७ जना छन् । कटारी अस्पतालले दैनिक तीन सयको संख्यामा बिरामीलाई सेवा दिँदै आएको अस्पतालको भनाइ छ । नेकपा माओवादी केन्द्र उदयपुरका जिल्ला संयोजक विनोद कटुवाल दिवशले कटारी अस्पताललाई प्रादेशिक अस्पताल बनाउन स्थानीय राजनीतिक दलहरूले गरेको प्रयास सफल भएको र अस्पतालको वृद्धि विकासमा अझै सशक्त बनाउनुपर्ने बताए । उनले भने, ‘कटारी क्षेत्रमा भरपर्दो निजी र सरकारी क्षेत्रका कुनै पनि अस्पताल छैनन् । अब सबैले कटारी अस्पताललाई कटारी क्षेत्रको उपचारको केन्द्र बनाउनुपर्छ ।’
कटारी अस्पताल उदयपुरको कटारी क्षेत्रमा पर्ने कटारी नगरपालिका, ताप्ली गाउँपालिका, उदयपुरगढी गाउँपालिका मात्र नभइ सिन्धुलीको पूर्वी क्षेत्रमा पर्ने दुधौली नगरपालिका, ओखलढुंगा, सोलुखुम्बु, पश्चिम खोटाङका बिरामीको उपचार केन्द्र हो । अनुमानित झन्डै एक लाखमाथि जनसंख्याको उपचारको केन्द्र कटारी अस्पताल बन्दै आएको आउने बिरामीहरुबाट प्रस्ट हुन्छ ।