१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १८ बिहीबार
  • Thursday, 01 May, 2025
२o८२ बैशाख १८ बिहीबार ११:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ओखलढुंगामा दुर्घटना रोक्न सवारीका सायरी मेटाउँदै ट्राफिक प्रहरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख १८ बिहीबार ११:१३:oo

ओखलढुंगामा सवारी दुर्घटना न्यूनीकरणका लागि सवारीसाधनमा लेखिएका सायरी, टाँसिएका पोस्टर र झुन्ड्याइएका झल्लर हटाउन थालिएको छ । चालकको ध्यान अन्यन्त्र केन्द्रित गर्ने सायरी र पोस्टरले दुर्घटनाको जोखिम बढाएको भन्दै ट्राफिक प्रहरीले जिल्लामा सञ्चालित सवारीसाधनका सायरी, पोस्टर र झल्लर हटाउन थालेको हो ।

अभियानकै रूपमा सुरु गरेर जिल्लाभित्र चल्ने ठुला–साना सवारीमा जडान गरिएको फोकस लाइट, झल्लर र स्टिकर हटाउन र सायरी मेटाउन थालिएको जिल्ला ट्राफिक कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायब निरीक्षक आशिष काफ्लेले बताए । कम्पनीबाट आउनेलाई हटाएर चालकले नियमविपरीत जडान गरेका ध्वनि प्रदूषण गर्ने प्रेसर हर्न र फोकस लाइटसमेत हटाएर दुर्घटना न्यूनीकरणको विधि अपनाइएको उनको भनाइ छ । 

‘पहाडी क्षेत्रका घुम्ती सडकहरू उसै त जोखिम छन् त्यसमाथि अहिले सवारीमा सायरी लेख्ने र पोस्टर टाँस्ने चलन बढ्यो । चालकले चारैतिर हेर्नुपर्ने भए पनि अनेकथरी झुन्ड्याएर हेर्दा पनि कुरूप र असुरक्षित बन्दा दुर्घटनाको जोखिम बढ्यो,’ काफ्लेले नयाँ पत्रिकासँग भने, ‘त्यस्ता सवारीलाई ठाउँका ठाउँ समातेर कम्पनीले जस्तो पठाउने हो त्यस्तै सवारी सडकमा गुडाउने गरी त्यस्ता सामग्रीहरू हटाइरहेका छौँ । यसले केही हदसम्म भए पनि दुर्घटना न्यूनीकरणमा टेवा पुग्नेछ ।’ 

सवारीको चाप बढेसँगै दुर्घटना जोखिम न्यूनीकरणका लागि सवारी जाँच र सचेतना बढाइएको ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । अहिले जिल्ला सदरमुका बजार क्षेत्र, मानेभञ्ज्याङ, टोक्सेल हर्कपुरलगायतका क्षेत्रमा ट्राफिक प्रहरीले नियमित सवारी जाँच गर्ने गरेको छ । केही महिना अघिदेखि ओखलढुंगामा प्रहरीले मापसेसमेत जाँच गर्न थालेको छ ।

ठाउँठाउँमा दुर्घटना न्यूनीकरणका लागि ट्राफिक संकेत राख्ने, विद्यालयमा विद्यार्थीमार्फत र समुदायस्तरमा समेत ट्राफिक नियमबारे सचेतनाका अभियानहरू सञ्चालन गरेपछि सामान्य असावधानीका कारण हुने दुर्घटनाको संख्या घटेको ट्राफिक प्रहरीले जनाएको छ ।