१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 01 May, 2025
पवन तिमिल्सिना काठमाडाैं
Invalid date format ११:५८:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

यस वर्ष ४.६१ प्रतिशतको आर्थिक वृद्धि, सरकारी लक्ष्य पूरा नहुने

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:५८:oo
  • चालू आव ०८१/८२ मा ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने लक्ष्य भए पनि कमजोर बजेट कार्यान्वयन र बर्सातको अभावमा हिउँदे बालीको उत्पादन खस्किएकाले लक्ष्यअनुसार वृद्धिदर हासिल गर्न कठिन भएको तथ्यांक कार्यालयको अनुमान

चालू आर्थिक वर्ष ०८१/८२ मा ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने सरकारी लक्ष्य पूरा नहुने भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले समष्टिगत अर्थतन्त्रको अध्ययन गरेर यो वर्ष आर्थिक वृद्धि ४.६१ प्रतिशतले हुने प्रारम्भिक अनुमान सार्वजनिक गरेसँगै सरकारी लक्ष्य पूरा नहुने देखिएको हो ।

कमजोर बजेट कार्यान्वयन र वर्षाको कमीले हिउँदे बालीको उत्पादन खस्किएकाले लक्ष्यअनुसार आर्थिक वृद्धिदर हासिल गर्न नसकिने देखिएको कार्यालयले जनाएको छ । 

मधुसुदन बुर्लाकोटी प्रमुख तथ्यांक अधिकारी
विगत ६ देखि आठ महिनाको तथ्यांकलाई आधार बनाएर बाँकी दिनमा कुनै अवरोध उत्पन्न नहुने अवस्थालाई आकलन गरेर आर्थिक वृद्धिदर अनुमान गरेका हौँ । भविष्यमा कस्ता घटना होलान् भनेर आकलन गर्न सकिँदैन । 

सरकारको लक्ष्यको तुलनामा कमजोर आर्थिक वृद्धिदर हुने भए पनि गत हासिल भएको ३.६७ प्रतिशतको वृद्धिको तुलनामा भने सुधारको अवस्था हो । तथ्यांक कार्यालयका अनुसार चालू आवमा अर्थतन्त्रको आकार ४.६१ प्रतिशतले बढेर ६१ खर्ब सात अर्ब पुग्ने अनुमान छ । गत आर्थिक वर्ष ०८०/८१ मा जिडिपीको आकार ५७ खर्ब नौ अर्ब थियो । त्यसअघि आव ०७९/८० मा अर्थतन्त्रको आकार ५३ खर्ब ६७ अर्ब थियो । यो वर्ष एसियाली विकास बैंकले भने ४.४ प्रतिशत र विश्व बैंकले ४.९ प्रतिशतसम्म वृद्धिदर कायम रहने अनुमान सार्वजनिक गरिसकेका छन् ।

केन्द्रीय तथ्यांक कार्यालयको यो अनुमान राष्ट्रिय लेखाका स्थिर मूल्यका अनुमान आर्थिक वर्ष ०६७/६८ को मूल्यमा आधारित छन् । त्यसैगरी, आर्थिक वृद्धिदर मापन गर्नको लागि स्थिर मूल्यमा मापन गरिएको कुल गार्हस्थ्य उत्पादन प्रयोग गरिएको छ । जसअनुसार, चालू आर्थिक वर्ष ०८१/८२ मा आर्थिक वृद्धिदर आधारभूत मूल्यमा ३.९९ प्रतिशत र उपभोक्ताको मूल्यमा ४.६१ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । 

चालू आर्थिक वर्ष ०८१/८२ मा कृषि क्षेत्रको ३.२८ प्रतिशत र गैरकृषि क्षेत्रको ४.२८ प्रतिशत वृद्धिदर हुने प्रारम्भिक अनुमान छ । विकसित देशरूमा पनि अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान घट्दै जाने र गैर कृषि क्षेत्रको योगदान बढ्नै जाने हुँदा कृषि क्षेत्रको वृद्धिदर घट्नु स्वाभाविक मान्नुपर्ने प्रमुख तथ्यांक अधिकारी मधुसुदन बुर्लाकोटीले बताए । उनले भने, ‘हामीले विगत ६ देखि आठ महिनामा उपलब्ध तथ्यांकलाई आधार बनाएर बाँकी दिनमा कुनै अवरोध उत्पन्न नहुने अवस्थालाई आकलन गरेर आर्थिक वृद्धिदर अनुमान गरेका हौँ । भविष्यमा के–कस्ता घटना हुन सक्छन् भनेर आकलन गर्न सकिँदैन । सामान्य अवस्था रह्यो भने यतिसम्म आर्थिक वृद्धिदर हुन सक्छ भन्ने हाम्रो अनुमान हो । त्यसैले यसलाई प्रारम्भिक अनुमान भनेका छौँ ।’

कुन क्षेत्रको वृद्धिदर कति ?

  • विद्युत् तथा ग्यास १३.८२ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । चालू आर्थिक वर्षमा विद्युत् तथा ग्यास क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा १.७३ प्रतिशत योगदान रहने अनुमान छ ।  
  • यातायात तथा भण्डार क्षेत्रको वृद्धिदर ९.४५ प्रतिशत हुने अनुमान छ । यो क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ७.२ प्रतिशत योगदान रहने अनुमान छ ।  
  • कृषि, वन तथा मत्स्यक्षेत्रले २५.१६ प्रतिशत योगदान पुर्‍याउने प्रारम्भिक अनुभान छ । चालू आर्थिक वर्षमा यस क्षेत्रको कुल मूल्य वृद्धिदर ३.२८ प्रतिशत रहने प्रारम्भिक अनुमान छ ।  
  • खानी तथा उत्खनन क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा ०.४६ प्रतिशत योगदान पुर्‍याउने प्रारम्भिक अनुमान छ । चालू आर्थिक वर्षमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि अघिल्लो आर्थिक वर्षको तुलनामा १.९९ प्रतिशतले वृद्धि हुने अनुमान छ ।
  • गत आर्थिक वर्षमा ऋणात्मक रहेको उद्योग क्षेत्रको वृद्धिदर चालू आर्थिक वर्षमा ४.९८ प्रतिशत योगदान रहने र कुल मूल्यको वृद्धिदर ३.७८ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ ।
  • पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापन तथा पुनः उत्पादनका क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ०.४२ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर २.०९ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ ।
  • निर्माण क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ५.२४ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर २.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । 
  • थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवाक्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा १४.५५ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर ३.३ प्रतिशत हुने प्रारम्भिक अनुमान छ ।
  • आवास तथा खाना क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा २.४६ प्रतिशत योगदान रहने र कुल मूल्यको वृद्धिदर पाँच प्रतिशत हुने प्रारम्भिक अनुमान छ ।
  • सूचना तथा सञ्चार क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा १.९४ प्रतिशत योगदान रहने र कुल मूल्यको वृद्धिदर ४.८१ प्रतिशत हुने प्रारम्भिक अनुमान छ ।
  • वित्तीय तथा बिमा क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ६.६५ प्रतिशत योगदान रहने र कुल मूल्यको वृद्धिदर ६.२९ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । बैंकमा निक्षेप तथा ऋण प्रवाहमा भएको वृद्धिसँगै यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा बढोत्तरी हुने अनुमान छ ।