१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
फुङलिङ– १०, सेवारो चोकमा लत्रिएको बिजुलीको तारमा परेर जलेको बोलेरो
Invalid date format o६:o२:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

पाथीभरा नपुग्दै टुंगियो तीर्थयात्रा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:o२:oo
  • एक आमाको श्रद्धाभाव, छोरी–छोराको उत्सुकता र बुढा बाबुआमाको आध्यात्मिक आस्था बोकेर सुरु भएको एक पवित्र यात्रा पाथीभरा पुग्न नपाउँदै विदारक दुर्घटनामा बदलियो, लत्रिएको तारबाट गाडीमा करेन्ट लाग्दा एउटै परिवारका तीनसहित चारजनाको पीडादायी मृत्यु

ललितपुर महानगरपालिका– १० की ४५ वर्षीया सविना पौडेल आचार्य परिवारका चारजना सदस्य लिएर ताप्लेजुङको पाथीभरा मन्दिर दर्शनका लागि आइतबार साँझ ताप्लेजुङ सदरमुकाम पुगिन् । १० वर्षीय छोरा अविमय, १६ वर्षीया छोरी आध्यासहित झापाको भद्रपुर नगरपालिका– ८ माइत आइपुगेकी उनी त्यहाँबाट ७० वर्षीय बुवा विनोद पौडेल र ६९ वर्षीया आमा सरितालाई लिएर ताप्लेजुङ पुगिन् । सपना थियो पाथीभरा देवीको दर्शन गर्ने । 

आइतबार साँझ उनीहरू सदरमुकाम फुङलिङमा रहेको होटेल प्यारिजमा वास बसे । पाथीभराको फेदी काफ्लेपाटीसम्म पुग्न सविनाले फुङलिङ नगरपालिका– १० का ट्याक्सीचालक ४२ वर्षीय दुर्गा भट्टराईको ट्याक्सी बन्दोबस्त गरिन् । वर्षौँदेखि त्यही रुटमा यात्रुको सेवा गर्दै आएका चालक भट्टराई सुकेटारबाट काफ्लेपाटीसम्मको खाल्डाखुल्डीबारे जानकार थिए । तर, बिजुलीको तार बाटोमा लत्रिएको पत्तै पाएनन् ।

सधैँ यात्रुलाई गन्तव्यमा पुर्‍याउने भट्टराई सोमबार बिहान भने गन्तव्यमा पुर्‍याउन नपाउँदै अस्ताए । सविनाका बुवा–आमालाई पाथीभरा पुर्‍याउने सपना पनि अधुरै रह्यो । मन्दिर पुग्ने यात्रा केही दूरी बाँकी रहँदै सधैँका लागि रोकियो । पाथीभरा पुग्ने त्यो सपना क्षणभरमै चकनाचुर भयो । 

सविनाका बुवा विनोद, आमा सरिता र छोरी आध्या पाथीभराको दर्शन गर्न नपाउँदै सधैँका लागि अस्ताए । सविना र उनका छोरा अविमय घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक रवि रावलले बताए । 

पाथीभरा मन्दिर जाने सुकेटार–काफ्लेपाटी सडक खण्डअन्तर्गत फुङलिङ– १०, सेवारो चोकमा उनीहरू सवार मे १ भ ३०११ नम्बरको बोलेरो जिप लत्रिएको बिजुलीको तारमा अल्झिएर आगो लागेको थियो । सदरमुकाम फुङलिङबाट करिब १४ किलोमिटर टाढा रहेको त्यो ठाउँमा कच्ची सडक छ । उनीहरू त्यहाँ करिब बिहान साढे चार बजे पुगेका थिए । ‘घटना बिहान साढे ४ मै भएको हुनुपर्छ । हामीलाई बिहान ५ बजे पाथीभरा क्षेत्र विकास समितिले जानकारी गरायो । त्यसपछि हामी तत्कालै घटनास्थल पुग्यौँ,’ रावलले भने, ‘त्योभन्दा अघि पनि अरू गाडी त्यो बाटो हिँडेको देखिन्छ । तर, चालकले खाल्डा जोगाउन कुनातिर च्याप्दा लत्रिएको तारले छोएको देखिन्छ । बिहानै भएर नदेखेर वा चालकले ध्यान नपुर्‍याएर दुर्घटना भएको देखिन्छ ।’ उनका अनुसार उक्त ठाउँमा पानी परिरहन्छ । हावाहुरीले अघिल्लो राति तार लत्रिएको हुन सक्ने उनी बताउँछन् । 

प्रहरी नायब उपरीक्षक रावलका अनुसार मृतक चारमध्ये विनोद, सरिता र आध्याको शव मृतकका आफन्तले बुझिसकेका छन् । चालक भट्टराईको शव भने परिवारले बुझेका छैनन् । सोमबार साँझ परिसकेकाले मंगलबार बुझ्ने उनले बताए ।  

दैनिक सयौँ यात्रु आवतजावत गर्ने सुकेटार–काफ्लेपाटी सडक लामो समयदेखि लथालिङ छ । सडक नबन्दा चालकले खाल्डाखुल्डी छल्दै सवारी चलाउँछन् । त्यसमाथि विद्युत् प्राधिकरणको लापरबाहीले सडकमै तार लत्रिँदा चारजनाको मृत्यु हुन पुग्यो । 

नेपाल विद्युत् प्राधिकरण ताप्लेजुङ वितरण केन्द्रका प्रमुख सुरेशप्रसाद चौधरीले भने लापरबाही नभई आइतबार रातिको वर्षा र चट्याङले तारको पिन फुटाएका कारण तार लत्रिएको बताए । यो एउटा दुर्घटना मात्र भएको उनकोे दाबी छ । ‘पहिला नै थाहा भएको भए हामी यसलाई बनाउने थियौँ । तर, थाहा नै भएन,’ उनले भने । 

हेलिकोप्टरमार्फत काठमाडौं ल्याएर उपचार 
बिजुलीको तारका कारण गुडिरहेको गाडीमा आगलागी भई घाइते भएका सविना आचार्य र उनका छोरा अविमयको काठमाडौंस्थित हेम्स अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकसमेत रहेका सविनाका श्रीमान् निरन्जन आचार्यसहितको चिकित्सकको टोली आएर उनीहरूलाई हेलिकोप्टरमार्फत काठमाडौं लगिएको डिएसपी रावलले बताए । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले छोरी र सासूससुरा गुमाएका निरन्जनलाई फोन गरी कोशी प्रदेश सरकारले उपचारसहितको सबै खर्चको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्  ।