मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८२ बैशाख ८ सोमबार
  • Friday, 14 August, 2026
२o८२ बैशाख ८ सोमबार २१:३३:oo
Read Time : < 1 मिनेट
अर्थ

अत्यधिक विषादी भेटिएपछि ८७० किलो काउली नष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख ८ सोमबार २१:३३:oo

उपभोगका लागि बजारमा लगेको काउलीमा विषादीको मात्रा अत्यधिक देखिएपछि ८७० किलो काउली नष्ट गरिएको छ। सल्यानबाट सुर्खेत लगिएको काउली खान अयोग्य रहेको भन्दै विषादी अवशेषण द्रुत विश्लेषण प्रयोगशाला एकाइ सुर्खेतले ८७० किलो काउली नष्ट गरेको हो। 

सल्यानबाट उक्त काउली व्यापारीहरूले खरिद गरी बिक्रीका लागि वीरेन्द्रनगर सुर्खेत लगेका थिए। काउलीमा अत्यधिक विषादी पुष्टि भएपछि सोमबार नष्ट गरिएको हो। विषादी अवशेषण द्रुत विश्लेषण प्रयोगशाला एकाइका नायब प्राविधिक धनसिंह धामीका अनुसार तरकारीमा ९९ दशमलव ३४ प्रतिशत विषादी रहेको पाइए पछि नष्ट गरिएको हो।

प्राविधिक सहायक  धामीले नष्ट गरिएको काउलीमा ९९.३४ प्रतिशत अर्गानोफस्फेट समूहको विषादीको मात्रा देखिएको जानकारी दिए। उनका अनुसार सामान्यतया कुनै पनि तरकारीमा कार्बामेट र अर्गानोफस्फेट समूहको विषादी मात्रा ३५ प्रतिशतभन्दा कम भए मात्रै खानयोग्य हुन्छ। यस्तै, ३५ प्रतिशतदेखि ४५ प्रतिशत भएमा केही दिन क्वारेन्टाइनमा राख्ने र पर्खिने र ४५ प्रतिशतभन्दा बढी देखिए त्यसलाई बिसर्जन गर्नुपर्ने हुन्छ।

कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनले विषादी प्रयोगशाला सञ्चालनमा नआउँदा समस्या भएको बताए। ‘उत्पादित तरकारी परीक्षण गरेर खानयोग्य छ कि छैन भनेर परीक्षण गरेर पठाउन हुन्थ्यो। तर, प्रयोगशाला सञ्चालनमा नहुँदा अन्योलमा छ,’ उनले भने, ‘हामीले किसानलाई सचेत गराएकै छाैँ, तर पनि किसानले विषादी प्रयोग कम गर्न छाडेको देखिएन, प्रदेश सरकारले प्रयोगशाला सञ्चालनमा ल्याइदेको भए कति मात्रामा विषादी प्रयोग भएको छ, त्यो परीक्षण गरेर पठाउन सहज हुन्थ्यो। विषादी प्रयोगशाला सञ्चालनमा नआउनु नै हाम्रो लागि ठुलो समस्या बनेको कुरा हो।’