
काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)ले उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहप्रति कटाक्ष गरेका छन् । उनले काठमाडौं महानगरभित्र रहेका सार्वजनिक जग्गा संरक्षण गर्ने, खोला व्यवस्थित गर्ने, सार्वजनिक सम्पत्ति जोगाउने र अव्यवस्थित बस्ती हटाउने कार्यमा मन्त्री सिंहले सहयोग नगरेको भन्दै कटाक्ष गरेका हुन् ।
‘माननीय सहरी विकासमन्त्री प्रकाशमान सिंहज्यू, अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैँ कुरामै रह्यो, कहिले गर्ने हो ?’ उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘मलाई हराउने नाममा आफ्नो सहर, क्षेत्र र देशचाहिँ नहराउनुहोला, यत्रो गणेशमान सिंह, पिएल सिंह र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउनुहोला ।’
काठमाडौं महानगरले यसअघि बागमती नदी क्षेत्रको अव्यवस्थित बस्ती हटाउन खोजेको, बालमन्दिरको जग्गा बचाउने र बुढानीलकण्ठ क्षेत्रको कपन खोला व्यवस्थित गर्ने अभियान थालेको थियो । हाल बागमती, कपनलगायत खोलाको केही स्थानमा अवरोध छ । मुआब्जालगायत विवादका कारण केही स्थानमा खोला व्यवस्थितको काम रोकिएको छ भने केही स्थानमा अवैध बसोबासका कारण खोला व्यवस्थित गर्न सकिएको छैन । बालेनले आफू निर्वाचित भएलगत्तै खोला किनारका जग्गा खाली गर्ने अभियान थालेका थिए । तर, संघीय सरकारले साथ नदिएको आरोप उनले लगाउँदै आएका छन् ।