
६ दिनदेखि नेपाली मजदुर आन्दोलनमा, आयोजनाका सबै काम ठप्प, रोजगार सम्झौतापत्र नदिए काममा नफर्कने चेतावनी
दोलखाको विगु गाउँपालिका– ४, सुरीटारमा निर्माणाधीन ९९.८ मेगावाटको तामाकोशी पाँचौँ जलविद्युत् आयोजना आन्दोलनले थलिएको छ । आन्दोलनकै कारण साउनबाट निर्माणकार्य सुरु भएको तामाकोशी पाँचौँ जलविद्युत् आयोजनाको भौतिक प्रगति पनि उद्देश्यअनुसार हुन सकेको छैन । आयोजना निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी सिनो हाइड्रो केएसएनएस जेभीले मजदुरको ज्याला निर्धारणमा विभेद गरेको, रोजगार सम्झौता नदिई काममा लगाउनेजस्ता आरोप लगाएर नेपाली मजदुर आन्दोलनमा उत्रिएको साता लाग्दा पनि समस्या समाधान हुन सकेको छैन ।
फागुन पहिलो सातादेखि नै आन्दोलनमा उत्रिएका नेपाली मजदुरले नौ दिनसम्म सम्पूर्ण कामकाज ठप्प पारेर संघर्ष गरेका थिए । त्यसपछि फागुन १६ गते आयोजनाको व्यवस्थापनसहित ठेकेदार कम्पनी र नेपाली कामदारबिच एक साताभित्र मजदुरका माग पूरा गर्ने समझदारी भएको थियो । तर, समझदारी कार्यान्वयन नभएको भन्दै फागुन २८ गतेदेखि नेपाली मजदुर पुनः आन्दोलनमा उत्रिएका छन् ।
६ दिनदेखि आन्दोलनमा उत्रिएका उनीहरूले आयोजनाको अडिट–१, अडिट–२ र विद्युत्गृहका सबै काम ठप्प पारेर दैनिक संघर्षका गतिविधि गरिरहेको नेपाली मजदुर जीवन मगरले बताए । उनले भने, ‘हामीले कुनै ठुलो माग राखेका छैनौँ मात्रै काम गरेको निस्साका रूपमा रोजगार सम्झौता र सोसँग सम्बन्धित सामान्य विषय जो मजदुरको हितमा छन्, त्यति मात्रै गरिदिनुस् भनेका हौँ ।’ सबै विषय सम्बोधन हुन्छ भनेर सहमति गरे पनि सिनो हाइड्रोले उक्त सहमति कार्यान्वयन नगरेकाले दोस्रो चरणको आन्दोलन गर्नुपरेको उनले बताए ।
मजदुरका माग कार्यान्वयन गर्न लगाउँछौँ : आयोजना
तामाकोशी पाँचौँ जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडका कम्पनी सचिव हरिप्रसाद भट्टराईले नेपाली मजदुरका मागबारे छलफल भएर सहमतिसमेत भइसकेको, तर कार्यान्वयनमा केही ढिलाइ भएको स्विकार्दै छिट्टै कार्यान्वयन गर्न लगाउने बताएका छन् । उनले ज्यालादारीको प्रयोजनबाट काममा भर्ती भएका मजदुरले अस्थायी वा स्थायी दरबन्दीसरहको सुविधा माग गरेकाले तत्काल कार्यान्वयन गर्न ढिलाइ भएको बताए । तत्काल निकास निकाल्न व्यवस्थापन लागिपरेको उनको भनाइ छ ।