
कालीकोटको शुभकालिका गाउँपालिकाकी उपाध्यक्ष धर्मकला शाही अहिले काठमाडाैंमा रहेको काठमाडाैं मेडिकल कलेजमा व्यस्त छिन् । यही फागुन ६–७ गते गाउँपालिकाको समन्वयमा भएको बृहत् स्वास्थ्य शिविरमार्फत रेफर भएका बिरामीको उपचारमा उपाध्यक्ष आफैँ सक्रिय भएर लागेकी छिन् ।
शुभकालिकाबाट रेफर भएर गएका करिब एक सय बिरामीको अहिले मेडिकल कलेज काठमाडाैंमा उपचार भइरहेको छ । आर्थिक अवस्था कमजोर भएका, गरिब, विपन्न, दलित परिवारका बिरामीको उपचार मेडिकल कलेजले निःशुल्क गरिदिने भएको छ ।
दुर्गमका बिरामीका लागि काठमाडाैं मेडिकल कलेज जिउँदो भगवान् बनेर प्रकट भएको उपाध्यक्ष शाहीले बताइन् । उनले शिविरको आयोजना गरिदिन आग्रह गर्दा सहजै स्वीकार गरी बिरामीको उपचार निःशुल्क गरिदिएकोमा केएमसी मेडिकल कलेजका सञ्चालक डा. सुनील शर्मालाई धन्यवाद दिइन् ।