
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय उपसभापति एवं तनहुँ क्षेत्र नं. १ का सांसद डा. स्वर्णिम वाग्लेले तनहुँको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरीको विकासका लागि मनकामना र इच्छाकामनासँग जोडेर लैजानुपर्नेमा जोड दिएका छन् ।
आँबुखैरेनी गाउँपालिकाले आज यहाँ आयोजना गरेको ‘छिम्केश्वरी पर्यटन पूर्वाधार विकासले पार्ने प्रभाव’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले आँबुखैरेनी– ५ मा अवस्थित छिम्केश्वरी पर्यटन प्रवर्द्धनका लागि पालिकाले थालेको प्रयास सराहनीय रहेको बताउँदै भने, ‘छिम्केश्वरीको महिमा र गरिमा महत्त्वपूर्ण छ, छिम्केश्वरीलाई मनकामनाकै हाराहारीमा हो भन्ने ‘ब्रान्ड’ स्थापित गर्न लाग्नुपर्छ ।’
छिम्केश्वरीलाई केन्द्रविन्दु बनाएर पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित चालिएको अभियानमा संघीय र प्रदेश सरकारसँग सहकार्य गर्नुपर्नेमा उनले जोड दिए । उनले मनकामना आएका भक्तजनलाई छिम्केश्वरी ल्याउन सकिए यस क्षेत्रको विकासमा सहयोग पुग्ने चर्चा गरे । गाउँ रित्तिँदै गएकाले पर्यटन प्रवर्द्धनमार्फत गाउँ गुल्जार गराउने अभियानमा सबै लाग्नुपर्ने बताउँदै डा. वाग्लेले भने, ‘पर्यटनमार्फत स्थानीयको आर्थिकस्तर उकास्न सम्भव छ, यसतर्फ पनि स्थानीय तहले कार्ययोजना बनाएर अगाडि बढ्नुपर्छ ।’
गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले समुद्री सतहबाट दुई हजार १३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरीमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउँदै यहाँका स्थानीयको आर्थिकस्तर उकास्ने उद्देश्यसहित यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउन पहल थालिएको बताए । आँबुखैरेनी– ५ मा अवस्थित छिम्केश्वरीमा हाल वार्षिक एक लाख पर्यटक आउने गरेको तथ्यांक छ ।
छिम्केश्वरीमा पर्यटकीय पूर्वाधार निर्माण गरेर धेरै पर्यटक भित्र्याउने लक्ष्य राखिएको चुमानले बताए । उनले भने, ‘हामी छिम्केश्वरीको एकीकृत पर्यटकीय विकासमा जुटेका छौँ, त्यसका लागि संघ र प्रदेश सरकारसँग सहकार्य गरेर अगाडि बढ्छौँ ।’ गाउँपालिकाले छिम्केश्वरीमा पूर्वाधार निर्माण गरेर समग्र गाउँपालिकाको विकासको योजना अगाडि बढाएको अध्यक्ष चुमानको भनाइ छ ।
उनले संघीय, प्रदेश तथा स्थानीय तहको सरकारको साझेदारी, आमजनताको सहभागिता र निजी क्षेत्रको लगानी अपेक्षा गरिएको बताए । छिम्केश्वरीमा सडक असुविधा, खानेपानी अभाव, विद्युत् समस्या, मोबाइल नेटवर्क समस्याका रूपमा रहेकाले त्यसको क्रमशः निराकरण हुँदै जाने बताए । सडक सञ्जाल स्तरोन्नतिका क्रममा रहेको बताउँदै चुमानले खानेपानीको बजेट स्रोत भएर डिपिआर गरेर ठेक्का लगाउन बाँकी रहेको जानकारी दिए । रासस