
ब्राजिलियन स्ट्राइकर नेमार जुनियर स्पेनिस क्लब बार्सिलोना फर्कन चाहन्छन् । आगामी समरको सिजनमा पूर्वक्लब बार्सिलोनामा चाहेको नेमारले आफ्ना एजेन्टमार्फत खुलासा गरेका छन् । एजेन्ट पिनी जाहाभीले बार्सिलोनाका अध्यक्ष जुआन लापार्टालाई यसबारे प्रस्ताव राखेका छन् । सन् २०१७ मा नेमार विश्वकीर्तिमानी रकममा बार्सिलोनाबाट पेरिस सेन्ट जर्मन (पिएसजी) गएका थिए ।
आठ वर्षको अन्तरमा उनले तीनवटा क्लबबाट खेलेका छन् । फ्रेन्च लिग वानपछि उनले साउदी प्रो लिगमा अल हिलालबाट खेले । साउदी प्रो लिगमा मोटो पारिश्रमिक पाए पनि उनले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । नेमार यस सिजनमा सान्तोसमै फर्र्किएका छन् । सान्तोसमा उत्कृष्ट प्रदर्शन गरिरहे पनि उनलाई अहिले ‘पुरानै रोग’ चोटले सताएको छ । गत आइतबार उनको दायाँ खुट्टामा चोट लागेको थियो ।
ह्यामस्ट्रिङका कारण नेमारले दक्षिण अमेरिकी विश्वकप छनोटका खेल गुमाउनेछन् । अहिले सान्तोसले नेमारलाई रेस्टमा राखेको छ । नेमारले आफूलाई शतप्रतिशत फिट बनाएर बार्सिलोनामा आबद्धताको तयारी गरेको एजेन्ट जाहाभीले बताए । बार्सिलोना आफ्ना पूर्वखेलाडीप्रति सकारात्मक देखिएको छ । ‘नेमारलाई बार्सिलोनामा सधैँ स्वागत छ,’ क्लबका अध्यक्ष जुआनले भने, ‘तर, यसका लागि उनी फिट हुनुपर्छ ।’ बार्सिलोनामा उत्कृष्ट प्रदर्शन गर्न आफूभित्र क्षमता रहेको नेमारको भनाइ छ । ‘बार्सिलोनामा अवसर पाए उत्कृष्ट प्रदर्शन गर्न सक्छु,’ उनले भने, ‘क्याटलान क्लबबाट प्रतिस्पर्धा गर्दा सधैँ रोमाञ्चित हुन्छु ।’
सान्तोसबाट १५ गोल गर्न सुझाव
बार्सिलोनाले सान्तोसबाट सुरुमा १५ गोल गर्नुपर्ने जनाएको छ । पछिल्लोपटक नेमार बार्सिलोनामा रहँदा उनको जोडीका रूपमा लियोनल मेसी तथा लुइस सुआरेज थिए । ‘नेमारले आफूलाई प्रमाणित गर्न सान्तोसबाट कम्तीमा यस सिजनमा १५ गोल गर्नुपर्नेछ,’ बार्सिलोनाले भनेको छ, ‘त्यसपछि क्लबले निर्णय गर्नेछ ।’ बार्सिलोनाले ब्राजिलियन खेलाडीलाई शारीरिक रूपमा फिट हुन पनि सुझाव दिएको छ । ‘लगातार चोटग्रस्त देखिन्छन्, त्यसैले यसमा सुधार गर्नुपर्छ,’ बार्सिलोनाले जनाएको छ ।
युरोपियन फुटबलमा फर्कन ३२ वर्षीय नेमारले उच्चकोटिको प्रदर्शन गर्नुपर्नेछ । तर, उनलाई फिटनेसले साथ दिइरहेको छैन । साउदी प्रो लिगमा निरन्तर खेल्न नसक्दा एकैपटक सान्तोस फर्कने नेमारको निर्णयले सबैलाई चकित बनाएको थियो । यसैबिच बार्सिलोनाका प्रशिक्षक हान्सी फिलिकले ब्राजिलियन खेलाडीको क्लबमा आउने र नआउने अन्तिम निर्णय व्यवस्थापकले लिने बताए । ‘उनलाई क्लबमा राख्ने र नराख्ने मेरो अधिकारमा छैन, यो क्लबले निर्णय गर्ने हो,’ प्रशिक्षक हान्सीले भने, ‘अहिले यसै टिमलाई राम्रो बनाउने हो ।’