१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २३ शुक्रबार
  • Friday, 09 May, 2025
सञ्जीव कार्की
२o८१ फाल्गुण २३ शुक्रबार o७:३७:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

माओवादी ‘मार्च’को संकेत

राजनीतिक दलहरू प्रतिस्पर्धात्मक रूपमा जनताको घरआँगनमा पुग्नु चहलपहलशून्य गाउँघरमा रौनक थपिनु हो

Read Time : > 4 मिनेट
सञ्जीव कार्की
नयाँ पत्रिका
२o८१ फाल्गुण २३ शुक्रबार o७:३७:oo

राजनीतिक पार्टीका लागि जनताको घरदैलो सधैँ नजिकको तीर्थजत्तिकै हुनुपर्ने हो । जनतासँग पार्टी र नेता, कार्यकर्ता जति नजिक हुन्छन्, त्यति नै उनीहरूसितको सम्बन्ध मजबुत र स्थायी बन्छ । जनसम्पर्कले शक्ति आर्जन गर्न, संगठन निर्माण गर्न र नीतिगत प्रशिक्षण गर्न सहयोग गर्छ । यसबाट जनताका समस्या र मर्कालाई नजिकबाट हेर्न, अनुभूत गर्न र समाधान निकाल्न मद्दत पुग्छ । यसबाट जनताका समस्याको वस्तुगत बुझाइ प्राप्त हुन सक्छ । जनतालाई पनि नेताहरू आफ्नो गाउँठाउँमा आइराख्दा अपनत्व महसुस हुन्छ । बेसहारा र असहाय बनेको अनुभूति हुँदैन । माओवादीले तराईकेन्द्रित राजनीतिक ‘लङ मार्च पास’ एक हजार आठ सय ५७ किमि लम्बाइ भएको हुलाकी राजमार्गमा गरिरहेको छ । 

माओवादी केन्द्रका ६ दर्जनजति नेता–कार्यकर्ता स्थानीय नेता–कार्यकर्तासँग घुलमिल गर्दै यस ‘मार्च’मा सहभागी छन् । ‘जनतासँग माओवादी, मधेश–तराई जागरण अभियान’ १२ फागुनमा नेपालको सबैभन्दा होचो भूभाग झापाको केचनाकलनबाट सुरु भएर १२ चैतमा कञ्चनपुर पुगेर समापन हुँदै छ । एकमहिने ‘लङ मार्च पास’ अभियानले जुन तरंग तराई मधेशको स्थानीयस्तरमा ल्याएको छ, त्यसको राजनीतिक फाइदा माओवादीको भागमा जान्छ नै । साथै, यसबाट अन्य दललाई पनि जनतासँग जोडिन दबाब पुग्छ । माओवादीको यस अभियानले मधेशकेन्द्रित दलहरूले बढी दबाब महसुस गरेका प्रतिक्रिया सार्वजनिक भइरहेका पनि छन् । 

राजनीतिक दलहरू प्रतिस्स्पर्धात्मक रूपमा जनताको घरआँगनमा पुग्नु भनेको चहलपहल शून्य गाउँको रौनक थपिनु हो । थुप्रै नेता–कार्यकर्ता गाउँ पुग्दा गाउँको अर्थतन्त्र चलायमान बनाउनदेखि उत्पादन बढ्ने सम्भावना पनि हुन्छ । दलका नेता र गाउँसँगको कडी जोडिन्छ । अझ विशेष के छ भने महँगा रिसोर्टमा पुगेर आफ्नो राजनीतिक प्रतिवेदन लेख्ने नेताहरूले आफ्ना नेता–कार्यकर्ता तथा शुभेच्छुकको घरमा बसेर, सामान्य पकवान सामान्य तवरले ग्रहण गरेर यसपटक ‘रेकर्ड ब्रेक’ गरेका छन् । यसले जनतासितको आत्मीयता अभिवृद्धि गर्छ र नेता भनेका हाम्रै सुखदुःखका सारथी हुन् भन्ने भाव आमजनमासमा जगाउँछ । नेता आफ्नो घरआँगन, बस्ती या टोलमा देखिँदा प्राप्त हुने ऊर्जा र जाँगर उल्लेखनीय हुन्छ । प्रायः चुनावका वेला मात्र गाउँघरमा पुग्ने र जनतासित जोडिने राजनीतिक दलका नेता, कार्यकर्ता बेमौसममा पनि देखिँदा जनयुद्धकालीन झल्को आएको आमजनताको बुझाइ छ । 

एकमहिने ‘लङ मार्च’ले जुन तरंग तराई मधेशको स्थानीयस्तरमा ल्याएको छ, त्यसको राजनीतिक फाइदा माओवादीको भागमा त जान्छ नै । साथै, यसबाट अन्य दललाई पनि जनतासँग जोडिन दबाब पुग्छ ।

माओवादी नेता–कार्यकर्ताले १० वर्षसम्म जनताकै घरदैलोमा बसेर देशमा गणतन्त्र ल्याउने जग बसाएका हुन् । तसर्थ, माओवादीका लागि गाउँ देहात नौलो ठाउँ होइन । माओवादीसँग जनयुद्धका क्रममा दुःख पाएका, परिवार र आफन्त गुमाएका संघर्षको बलिवेदीमा खारिएका नेता–कार्यकर्ताको ठुलो समूह र परिवार देशभर छन् । पाँच हजार सहिद परिवार आज पनि अभाव र शोकसँगै माओवादी समर्थक र भोटर भएर रहेका छन् । माओवादीको जरा गाउँसँग आज पनि जोडिएकै छ । सहरमा माओवादीको जनमत घटेको हो, तर गाउँको जनमत माओवादीले जगाउन नसकेका कारण नबढेको मात्र हो, घटेको छैन भन्न सकिने स्थिति छ । जसको उदाहरण माओवादीको यस मार्चमा देखिएको जनताको उपस्थिति, सौहार्दता र बाक्लो जमघटले पुष्टि गर्छ । प्रचण्डको ‘मर्निङ वाक’मा देखिएको उत्साह सामान्य छैन, चाहे त्यो स्वयं प्रचण्डको होस् या आममान्छेको ? 

प्रचण्डका समकालीन नेताहरू देउवा, ओली, झलनाथ, माधवलाई यसरी आफैँ कस्सिएर हिँड्न सहज छैन । स्वास्थ्यका कारण पनि असजिलो छ । तर, प्रचण्ड फुर्तीसाथ कुनै म्याराथन खेलाडीझैँ आफ्ना नेता–कार्यकर्ताको भुँडीको बोसो पगाल्ने तहमा कुदिरहेका छन् । सायद प्रचण्ड यसरी अब हिँड्न सक्छन् भन्ने धेरैलाई लागेको थिएन । उनको सुरक्षा ‘थ्रेट’लाई लिएर पनि अब प्रचण्ड यसरी गाउँ देहातका बाटोघाटोमा कुद्छन् भन्ने मान्छेले कल्पना गरेका थिएनन् । कतै हिँडे पनि सांकेतिक रूपमा हिँड्छन् र थकाइ मार्छन् भन्ने परेको थियो धेरैलाई । यति लामो त के हिँड्लान् भनेर माओवादी नेताहरू स्वयंमा पनि यो विश्वास थिएन । तर, यस्तै अविश्वास लाग्ने काम गर्ने ‘ब्रान्ड नेम’ भएका छन् प्रचण्ड । राजनीतिमा माओवादी घाटामा भए पनि देशको व्यवस्था परिवर्तन गर्न उसले गरेको योगदान कसैले अवमूल्यन गर्न सक्दैन । 

माओवादीको जरा गाउँसँग आज पनि जोडिएकै छ । सहरमा माओवादीको जनमत घटेको हो, तर गाउँको जनमत माओवादीले जगाउन नसकेका कारण नबढेको मात्र हो, आज पनि घटेको छैन ।

प्रचण्डले यसबिचमा भनेका पनि थिए– मेरो घर जाने, घरमा रमाउने अवस्था छैन, श्रीमती छैनन्, दुई सन्तान छोरा र छोरी बिते ।’ परिवारका प्रिय सदस्यहरू जेठी छोरी, छोरा र पत्नी सीतालाई छोटो अन्तरालमा गुमाएका प्रचण्डलाई घरको मोह कम हुनु स्वाभाविक नै हो । दुइटी छोरीमध्ये रेणु भरतपुरमा छिन् । कान्छी छोरी गंगा उनीसँगै भएपछि प्रचण्डलाई घरको न्यास्रो मेट्न पनि जनताको घरआँगनको वास स्वाभाविक हुने नै भयो । स्थानीयस्तरमा जनताले जसरी र जे पकाएर दिन्छन्, त्यसलाई सहजतापूर्वक लिएर प्रचण्ड आफ्नो टोलीमा रमाइरहेका छन् । जनतासँगको साक्षात्कारले प्रचण्डले स्थानीय समस्या आफ्नै आँखाले देख्ने र कानले सुन्ने मौका पाएका छन् । गाउँगाउँमा युवा नभएको खेतीयोग्य जमिन बाँझिएको जनतालाई अलि–अलि भएको खेती पनि बाँदर, बँदेल, खरायो र अन्य जंगली जनावरबाट जोगाउन मुस्किल भएको तथ्य जान्न सहज हुनेछ । 

जनताले कसरी दुःख पाएका छन् ? आज पनि जनतालाई मिटर ब्याजले कसरी सताएको छ ? गाउँघरको सहकारी र लघुवित्तको स्थिति के छ ? गाउँ किन उत्पादन छाडेर सहर पलायन भयो ? सहरमा पनि किन युवा पढ्न र बस्न छाडेर वैदेशिक यात्रामा निस्कनुपर्‍यो ? चुरे किन मासियो ? पानी किन रसाउन छोड्यो ? यी तमाम आमजनसरोकारका प्रश्न सुन्ने मौका प्रचण्डले पाएका छन् । देशको कला, संस्कृतिको नजिक गएर अवलोकन गर्ने अवसर पाएका छन् । स्थानीयकै लवजमा तिनका समस्या, गुनासा र दुःख हेर्न, सुन्न र बुझ्न पाएका छन् । मलाई लाग्छ, ग्रामीण अर्थतन्त्र पुनर्जीवित पार्ने मन्त्र लिएर प्रचण्ड टोली काठमाडौंमा फर्केर अर्थविद्हरूको टोलीसँग छलफलमा बस्नेछ । यहीँबाट अन्योल, अनिश्चय र दुश्चक्रमा फसेको अर्थतन्त्रको दिशानिर्देशको ‘प्रेसक्रिप्सन’ लेख्नेछन् प्रचण्डले । 

प्रचण्डलाई थाहा छ, चिनियाँ लङ मार्चपासपछि माओ कसरी शक्तिशाली भएर निस्के र आजको चीन बन्यो । सन् १९३४ मा चीनको जियान्सीस्थित रुइजिन र गुचेङ इलाकाबाट ८६ हजार पुरुष र महिलाले लङ मार्च सुरु गरेर ३८१ दिनको दिन २० अक्टुबर १९३५ मा ग्रेटवालमा पुगेर आफ्ना पाइला रोकेका थिए । जसको नेतृत्व माओ त्से तुङ, देङ सियाओपिङलगायत नेताले गरेका थिए । यस अभियानले चीनमा धर्मराउँदो कम्युनिस्ट आन्दोलनलाई पुनर्जीवन दियो र चीनको कम्युनिस्ट पार्टीमा माओ त्से तुङको नेतृत्वलाई झनै बलियो गरी स्थापित गरायो ।

प्रचण्ड यसकारण पनि उत्साहित छन् । गत उपचुनावको सांकेतिक नतिजाले पनि माओवादीलाई जनतासँग सम्पर्क स्थापित गर्न ऊर्जा भरेको छ । माओवादीले २०७९ को स्थानीय चुनावमा गठबन्धन गरेर लड्दाभन्दा अहिले एक्लै प्रतिस्पर्धा गर्दा दश हजार दुई सय ५४ मत बढी प्राप्त गरेको छ । यसर्थ, माओवादी यो मत देशभर बढोत्तरी गरी आफ्नो पुरानो साख आगामी ०८४ को निर्वाचनमा फर्काउन चाहन्छ । प्रचण्डले देहातका बस्तीको अनुभूतिमा २०६४ को झल्को आएको भन्दै आएका छन् । यही अभिप्रेरणाले प्रचण्ड लङ मार्चपासमा तराई, मधेशका जिल्लामा छन् । 

अन्य पार्टीका नेता–कार्यकर्तालाई झैँ माओवादीलाई पनि सुविधाभोगी भएको र सहरमुखी भएको, गाउँ बिर्सेको आरोप लाग्ने गरेको छ । यति मात्र होइन, गणतन्त्रको विस्थापन गरेर संघीयता, धर्म निरपेक्षता खारेजसहित राजसंस्था पुनस्र्थापनाको नारा, स्वर र देशका विभिन्न भागको प्रदर्शन तथा पूर्वराजाको ७ फागुनको सन्देशमा अन्तर्निहित उद्देश्य र सक्रियताले प्रचण्डलाई विशेष दबाब दिएको पनि हुनुपर्छ । प्रचण्ड नेतृत्वको माओवादीले नै सबैभन्दा बढी त्याग र क्षति व्यहोरेर देशमा संघीय गणतन्त्र स्थापना भएको हो । त्यसैले, यसको जरा गाउँगाउँमा कस्तो छ, त्यसको अवलोकन गर्नु पनि प्रचण्डको ध्येय देखिन्छ । 

माओवादीको जरा गाउँगाउँसम्म आज पनि फैलिएको छ । तसर्थ, यसलाई आफ्नो शक्तिको विस्तार र क्षय रोक्ने अवसर पनि प्रशस्त छ । तर, सामान्य प्रयासले मात्र माओवादी नेता–कार्यकर्ताको फेरिएको जीवनशैलीमाथिको प्रश्न शान्त हुनेछैन । चुनावका वेला मात्र जनता जनार्दनलाई न्यायाधीश र भाग्य विधाता ठान्ने अन्य वेला बेवास्ता गर्ने परिपाटीमा परिवर्तनको खाँचो छ । यसका साथै, नेता–कार्यकर्ताको पारदर्शिता र कम्युनिस्ट चरित्रमा पुनरागमन नभएसम्म हिजोको विश्वास र आस्था पुनः आर्जन गर्न देखावटी निष्ठा, प्रतिबद्धताले मात्र सम्भव छैन, मानक दृष्टान्त र चरित्रकै खाँचो छ । 
(कार्की अध्येता हुन्)