
सर्लाहीको बलरा नगरपालिकास्थित मनुसमारा खोलामा डुबेर एक युवतीको मृत्यु भएको छ ।
बलरा नगरपालिका–६, स्थित मिर्जापुर निवासी बिकाउ बैठाकी १६ वर्षीया छोरी रङ्गिला बैठाको खोलामा डुबेर मृत्यु भएको हो । शनिबार साँझ घाँस काटेर घर फर्किँदै गर्दा उनी खोला तर्नेक्रममा चिप्लिएर लडेकी थिइन् । सोही क्रममा बैठाको जलकुम्भीमा टाउको फस्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले मृतक युवतीको शव घटनास्थलबाट निकालेर पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्याएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सिंहको भनाइ छ ।