
कञ्चनपुरमा ठेकेदारले सडक अलपत्र पारेपछि वडाध्यक्ष आफैँ आन्दोलनमा उत्रिएका छन् । कृष्णपुर नगरपालिका– २ बंकदेखि दोमिल्ला हुँदै नायल सडक अलपत्र पारेपछि वडाध्यक्ष अर्जुनसिंह साउद आफैँ आन्दोलनमा उत्रिएका हुन् ।
एक साताअघि उक्त सडक निर्माणको माग अघि सारेर पूर्वाधार विकास कार्यालयमा अल्टिमेटम दिएका वडाध्यक्ष साउदले आइतबारदेखि सडकमै कार्यालय राखेर जनतालाई सेवा प्रवाह गरिरहेका छन् ।
चार वर्षअघि सन्तोषी थेगिम जेभीले उक्त सडक कालोपत्रेको ठेक्का पाए पनि हालसम्म निर्माण गर्न नसक्दा सडक बिग्रिँदै गएकाले सर्वसाधारण जनतालाई आवातजावतमा समस्या परेको भन्दै वडाध्यक्ष साउदले सडक सुरुवात विन्दुबंकमै टेबुल राखेर सेवा प्रवाह गरिहेका छन् । ‘मैले व्यक्तिगत र वडा कार्यालयका तर्फबाट यथाशीघ्र सडक निर्माणका लागि पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षण गराएको थिएँ,’ उनले भने, ‘चासो नै दिएनन्, अहिले सडक सञ्चालन लागि दबाबमूलक नयाँ शैली अपनाएर आन्दोलनमा उत्रिएको छु, अहिले सडकबाटै सेवा प्रवाह गरिरहेको छु यो केही दिन निरन्तर चल्छ ।’ वडाध्यक्ष साउदले आफ्नो जिम्मेवारीमा आउने सबै काम सडकमै टेबुल राखेर गरिरहेका छन् ।
‘म अब यो सडक सञ्चालनको सुनिश्चितता नहुँदासम्म यसरी सडकमै बसेर कार्यालय चलाउँछु,’ वडाध्यक्ष साउदले भने, ‘यो हाम्रो अभियानमा जनताको समेत साथ–समर्थन छ ।’
वडाध्यक्ष साउदले विकासका लागि अघि सारेको दबाबमूलक सिर्जनात्मक आन्दोलनमा स्थानीयले समेत साथ–समर्थन दिएका छन । स्थानीय रविन्द्र लुहारले सरकारबाट ठेक्का पाएर पनि काम नगर्ने प्रवृत्ति उपज बाध्य भएर जनप्रतिनिधिले सडकमै कार्यालय राखेर काम गर्नुपर्ने बाध्यता आएको बताए । ‘वडाध्यक्षज्यूले विकास निर्माणका लागि अघि सारेको आन्दोलन सिर्जनशील छ,’ उनले भने, ‘अब आन्दोलन अरूलाई बाधा पारेर होइन, दबाब सिर्जना गर्ने खालकै हुनुपर्छ ।’
पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख योगेन्द्र अधिकारीले उक्त सात किलोमिटर सडकखण्ड निर्माणका लागि कार्यालयबाट निर्माण कम्पनीलाई पत्राचार गरिएको बताए । ‘ठेकेदारले ठेक्का लिएदेखि यथाशीघ्र काम गरेन,’ उनले भने, ‘आगामी ०८२ चैतसम्म म्याद भएकाले अहिले नै ठेक्का तोडेर अर्कोलाई दिन पनि समस्या हुन्छ, हामीले तारन्तार ताकेता गरेका छौँ, ठेकेदारले थप एक साता समय मागेको छ, समयमै काम गर्न नसके हामीले पनि अर्को एक्सन लिन बाध्य हुनेछौँ ।’
पहिलोपटक २० साउन ०७७ मा ठेक्का भई २० वैशाख ०८१ मा सकिएको थियो । पहिलोपटक ३० चैत ०८२ सम्म म्याद थप भए पनि सडक निर्माण कार्य पूरा भएको छैन । उक्त सडकको प्रगति ३५ प्रतिशत मात्रै भएको छ । झन्डै ११ करोड ८६ लाख रुपैयाँमा सात किलोमिटर कालोपत्रे सडक निर्माण चार वर्षदेखि अलपत्र पारेपछि स्थानीयसमेत हैरान भएका छन् ।