१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १५:o१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

युवा जनशक्तिको पलायन मुलुकका लागि ठुलो चिन्ताको विषय भयो : राष्ट्रपति पौडेल 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:o१:oo

राष्ट्रपति रामचन्द्र पौडेलले युवा जनशक्ति पलायन मुलुकका लागि ठुलो चिन्ताको विषय भएको बताएका छन्। पोखरा महानगपालिका १८, सराङकोटमा जारी श्रीमद्भागवत ज्ञान महायज्ञ तथा धार्मिक उत्सवमा सहभागी सँगै सराङकोटमा निर्माण गरिएको पञ्चमुखी गणेश र कैलाशेश्वर शिवालयको उद्घाटनपछि राष्ट्रपति पौडेलले सो कुरा बताएका हुन्। राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकोप्टमार्फत काठमाडौंबाट सीधै सराङकोट पुगेका थिए।
 
युवा जनशक्ति पलायन मुलुकका लागि ठुलो चिन्ताको विषय भएकोले यस अवस्थाबाट मुलुकलाई जोगाउन सम्बद्ध सबै पक्षलाई गम्भीर बन्न राष्ट्रपति पौडेलले आग्रह गरेका थिए। राष्ट्रपति पौडेलले भने, ‘युवा जनशक्तिको पलायन मुलुकका लागि ठुलो चिन्ताको विषय हो। यो अवस्थाबाट मुलुकलाई जोगाउन सम्बद्ध हरेक पक्ष गम्भीर बनून् भन्ने मेरो आग्रह छ।’ 

२०४६ सालमा देशमा भएको व्यवस्था परिवर्तनपछि गाउँगाउँमा बाटो, बिजुली, पानी, शिक्षा, स्वास्थ्य, सञ्चारलगायतका पूर्वाधार पुगिसकेकाले अब स्वदेशमै रोजगारी र आम्दानीको अवसर सिर्जना गरी विदेश पलायन भएका र जाने क्रममा रहेका युवा जनशक्तिलाई रोक्नु हाल मुलुकको लागि पहिलो आवश्यकता भएको भन्दै राष्ट्रपति पौडेलले भने, ‘यो पवित्र स्थलबाट म आज अपिल गर्न चाहन्छु कि सबै नीति, निर्माण तहमा रहेका हामी सबैको ध्यान यसको समाधानतर्फ केन्द्रित होस्।’

राष्ट्रपति पौडेलले केही भएन भन्ने मात्र नभई धेरै भएको छ, तर देश र जनताका लागि हामीले अझै थुप्रै गर्न बाँकी छ भन्ने अठोटसहित राष्ट्रनिर्माणको महाअभियानमा जुट्न सम्बद्ध सबैमा अपिलसमेत गरेका थिए। जनताको लामो संघर्ष, त्याग र बलिदानबाट संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको भन्दै हाम्रो संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको अभीष्टसमेत मुलुकको आर्थिक विकास भएको उनले बताएका थिए।

अर्को प्रसंगमा राष्ट्रपति पौडेलले देश विकासको मूल आधार कृषि, जलस्रोत, पर्यटन र पूर्वाधारको विकास भएकाले कृषि, जलस्रोत, पर्यटन, उद्योगधन्दाको विकास र उत्पादन बढाएर स्वदेशी अर्थतन्त्रलाई मजबुत बनाउनुपर्ने हालको मुख्य आवश्यकता रहेको बताएका थिए।
 
पोखरा र यस क्षेत्रको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति र सभ्यतालाई नेपाल र विश्व पर्यटन बजारमा प्रवर्द्धन गरी पर्यटन क्षेत्रलाई आय आर्जन र समृद्धिको आधारका रूपमा स्थापित गर्न सकिने प्रचुर सम्भावना रहेकाले पर्यटकीय पूर्वाधार विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताए। निजी क्षेत्रलाई आकर्षित गर्नका लागि लगानीमैत्री वातावरण आवश्यक रहेको र यसका लागि आवश्यक नीति, नियम र कानुन निर्माण गरेर उनीहरूलाई प्रोत्साहन गर्ने गरी काम गर्न संघ, प्रदेश र स्थानीय सरकारलाई आग्रहसमेत गरेका थिए।

अर्को प्रसंगमा पौडेलले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले पोखरालाई सीधै विश्वसँग जोडेको उल्लेख गर्दै जाऊँ है पोखरालगायतका पर्यटन प्रवर्द्धन अभियान मात्र होइन, यहाँ हुने मेला, महोत्सव र साहसिक गतिविधिले समेत पोखरा विश्वकै एउटा घुम्नैपर्ने ठाउँका रूपमा विकास हुँदै गएको बताउँदै पोखरालाई अझै आधुनिक, विकसित र सुविधासम्पन्न बनाउँदै लैजान नीति निर्माता, तीनै तहका सरकार, पर्यटन उद्यमी, व्यवसायी र यहाँका बासिन्दा दत्तचित्त भएर लाग्न सुझावसमेत दिएका थिए।