
कोशी प्रदेश सभाको बैठकमा सांसदहरूले जनयुद्ध जिन्दावादको नारा गुन्जाउँदै शुभकामना दिएका छन्। ३०औँ जनयुद्ध दिवसको सन्दर्भमा शुक्रबार दोस्रो कोशी प्रदेश सभाको छैटाैँ अधिवेशनको १३औँ बैठकमा सहभागी माओवादी केन्द्रका सांसदहरूले शून्य र विशेष समय लिएर बोल्दै जनयुद्ध जिन्दावाद भन्दै सबै सांसदहरूलाई शुभकामना दिएका हुन् ।
माओवादी केन्द्र संसदीय दलको तर्फबाट विशेष समयमा बोल्दै सांसद दुर्गा चापागाईंले जनयुद्ध नभएको भए अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रको परिवर्तन सुनिश्चित हुने थिएन भन्दै जनयुद्धलाई हिंसा भनेर बदनाम नगर्न आग्रह गरे । उनले अझै जनताको पक्षमा पूर्ण रूपको संविधान बनिनसकेको र संघीयता पनि पूर्ण कार्यान्वयन हुन बाँकी नै भएकाले सबैले जनताले जनताका लागि गरेको जनयुद्धलाई बदनाम हाेइन सम्मान गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । तेह्रथुमबाट निर्वाचित सांसद दुर्गा चापागाईंले भने, ‘यसैले महान् सहिदहरू लालसला, जनयुद्ध जिन्दावाद।’
माओवादी केन्द्रकी सांसद तथा प्रमुख सचेतक गीता तििम्सनाले शून्य समयमा बोल्दै जनयुद्ध नभएको भए संसद् र सरकारी निकायहरूमा महिलाहरूको सहभागिता सुनिश्चित हुने सक्ने थिएन भनिन् । उनले आफू पनि १८ वर्षकै उमेरमा परिवर्तनका लागि जनयुद्धमा लागेको स्मरण गर्दै सांसद तिम्सिनाले जनयुद्धलाई हिंसा भन्नेहरूलाई गद्दारहरूको संज्ञा दिइन।
माओवादी केन्द्रका सांसद गणेश उप्रेतीले शून्य समयमा बोल्दै १ फागुन ०८१ का दिन परिवर्तनका लागि भएको जनयुद्धको तीस वर्ष लागेको भन्दै महान् जनयुद्ध जिन्दावाद भन्दै कविता वाचन गरेर सबैलाई शुभकामना दिए ।
माओवादी केन्द्रकी सचेतक सपना दर्जीले महान् जनयुद्ध हिंसा नभएर जनताले समानताका लागि लडेको न्यायको लडाइँ थियो भन्दै अहिलेको संविधान, गणतन्त्र, समानुपातिक समावेशिता आदि सबै जनयुद्धकै प्रतिफल भएकोे र फल खान अगाडि सर्ने, तर जनयुद्धलाई हिंसा भन्नु पराजित मानसिकता भएको बताइन् ।
सोलुखुम्बुका सांसद गोम्बु शेर्पाले पनि शून्य सययमा बोल्दै जनयुद्धलाई जनताको महान् युद्ध भन्दै सहिद, बेपत्ता र घाइते परिवारलाई निःशुल्क आवास र उपचारको व्यवस्था गर्न प्रदेश सरकारसँग माग गरे ।
माओवादी सांसद बन्दना झाँगडले जनयुद्धमा सहभागी भएर जीवन त्याग गर्ने सहिदहरूको बलिदानलाई कसैले पनि उपेक्षा गर्न हुँदैन भनिन्। उनले जनयुद्धकै कारण आफू र आफूजस्ता शोषित, पीडित पिछडिएका वर्गहरू शासनको सत्तामा आउन पाएकोमा सबैले जनयुद्धलाई धन्यवाद दिन आग्रह गरिन् ।
खोटाङका सांसद राजेन्द्र किराँतीले हरेक राजनीतिक आन्दोलनमा सहभागी भएको एक मात्र आन्दोलन जनयुद्ध मात्र भएको दाबी गरे । उनले जनताले जनताका लागि लडेकै कारण जनयुद्ध महान् भएको बताए। सांसद राईले जनयुद्धलाई हिंसा भन्नेहरूले कांग्रेसले सात सालमा र मालेले ०२८ सालमा गरेको सशस्त्र आन्दोलनलाई चाहिँ के भन्ने ? भनेर प्रश्न गरे । उनले हिंसा भनेर जनयुद्धलाई बदनाम गराएर बहिष्कार गराउने दुष्प्रयास सफल हुन नसक्ने दाबी गरे ।