
आगामी २–४ जेठमा आयोजना गर्न लागिएको सगरमाथा संवादमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गर्ने सरकारको तयारी छ । जलवायु परिवर्तनका विषयमा पर्वतीय र तटीय मुलुकले व्यहोरेका समस्यालाई उठान गर्न नेपालले सगरमाथा संवाद आयोजना गर्न लागेको हो ।
कूटनीतिक च्यानलमा भएको कुराकानीमा भारतीय अधिकारीहरूले मोदीको भ्रमणबारे सकारात्मक जवाफ दिएको उच्च कूटनीतिक स्रोतले बताएका छन् । भारतीय विदेश मन्त्रालयको नेपाल र भुटान डेस्क हेर्ने अतिरिक्त सचिव मनु मुहावरसँग नेपाली अधिकारीले सगरमाथा संवादमा प्रधानमन्त्री मोदीलाई निमन्त्रणा गर्ने इच्छा सुनाएका थिए । ‘उहाँको समय तालिका हेरेर कूटनीतिक च्यानलमा जानकारी दिन्छौँ भन्ने जवाफ आएको छ । मोदी आउने अनुकूल रह्यो भने प्रधानमन्त्री केपी ओलीका प्रतिनिधिले दिल्ली गएर उहाँलाई निमन्त्रणा पत्र दिने भन्ने कुराकानी भएको छ,’ जानकार उच्च अधिकारीले नयाँ पत्रिकासँग भने ।
मोदी भारतको प्रधानमन्त्री भएयता पाँचपटक नेपालको भ्रमण गरेका छन् । उनी पछिल्लोपटक २ जेठ ०७९ मा लुम्बिनी भ्रमणमा आएका थिए । उनी १४–१५ भदौमा बिमस्टेकको चौथो शिखर सम्मेलनमा, ०७५ मा जनकपुरदेखि मुक्तिनाथसहित औपचारिक भ्रमणमा, ०७१ मा सार्कको १८औँ शिखर सम्मेलनमा आएका थिए । उनी प्रधानमन्त्री भएपछि १८–१९ साउन ०७१ मा नेपालको पहिलो राजकीय भ्रमणमा आएका थिए ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मोदीलाई गत ३ भदौमा दिल्लीस्थित उनको निवासमा भेटेर ओलीको चिठी हस्तान्तण गरेकी थिइन् । प्रधानमन्त्री ओलीले न्युयोर्कमा गत ७ असोजमा समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा सम्झाउँदा मोदीले कूटनीतिक संयन्त्रमार्फत टुंगो लगाउने जवाफ दोहोर्याएका थिए । निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत २७ जेठमा दिल्लीमा मोदीसँगको भेटमा नेपाल भ्रमणको निम्ता दिएका थिए ।
भारतीय प्रधानमन्त्री मोदी अहिले तेस्रो कार्यकाल चलाइरहेका छन् । पहिलो कार्यकालमा मोदीले चारपटक नेपाल भ्रमण गरेका थिए भने दोस्रो कार्यकालमा उनी लुम्बिनी भ्रमण गरेर फर्किए ।
यसपटक सरकारले मोदीलाई सगरमाथा संवादमा प्रमुख अतिथिका रूपमा बोलाउन चाहेको छ । प्रधानमन्त्री केपी ओलीले मोदीलाई नेपाल भ्रमणका लागि आग्रह गर्दै आएका छन् । ‘जलवायु परिवर्तनबाट प्रभावित देश भएको हिसाबले र तटस्थ विषयका हिसाबले मोदीको भ्रमण हुन सक्यो भने नेपाल–भारत सम्बन्ध फेरि ट्र्याकमा फर्किन सक्छ भन्ने हाम्रो बुझाइ छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, ‘उहाँको नेपाल भ्रमण हुने तय भयो भने समयमा उहाँलाई प्युठानको स्वर्गद्वारीको भ्रमण पनि गराउँछौँ । किनभने उहाँले त्यहाँ जाने इच्छा राख्नुभएको छ ।’
१०० देशबाट प्रतिनिधि बोलाइने
सरकारले कम्तीमा १०० देशबाट प्रतिनिधि सहभागी गराउने तयारी गरेको छ । पाँच वर्षअघि प्रधानमन्त्री ओलीकै पहलमा आयोजना गर्न लागिएको सगरमाथा संवाद सुरुमा कोरोना महामारीका कारण रोकिएको थियो । त्यसपछि भने सरकार परिवर्तनसँगै रोकिएको थियो । त्यसवेला परराष्ट्र मन्त्रालय आयोजक रहेर कार्यक्रमको तयारी भएको थियो, जसका लागि करिब पाँच करोड रुपैयाँ बजेट छुट्याइएको थियो । त्यसवेला ४० मुलुकका १५० जना विज्ञ एवं प्रतिनिधि सहभागी गराउने तयारी थियो । सरकारले सुरुमा २०–२२ चैत ०७६ मा तोकेको सम्मेलन कोभिड महामारीका कारण हुन नसकेपछि १८–२० असोज ०७८ मा आयोजना गर्ने निर्णय गरेको थियो । तर कार्यक्रम भएन ।