
प्लास्टिकजन्य आयातित सामग्रीको प्रयोग र कच्चापदार्थको अभावका कारण सुदूर पहाडका ग्रामीण भेगमा परम्परागत रूपमा प्रयोग गरिँदै आएको डोका, डाला, सुप्पा र भकारी लोप हुँदै गएका छन् । केही वर्षअघिसम्म गाउँघरमा कृषिकर्म तथा सुरक्षित खाद्यान्न भण्डारणका लागि प्रयोग गरिने यी साधन पछिल्लो समय लोप हुँदै गएका हुन्।
यहाँका दलित तथा जनजाति समुदायका सिपालु व्यक्तिले पुस्तौँदेखि डोको डालो, सुप्पा र भकारी बुनेर विभिन्न ठाउँमा मेला, पर्व तथा गाउँघरमा बिक्री गरी जीविकोपार्जन गर्दै आएका थिए । पछिल्ला केही वर्षयता कृषिजन्य आयातित सामग्रीको बढ्दो प्रयोग र गाउँघरका सामुदायिक वनमा पनि कच्चापदार्थको अभावका कारण यो व्यवसाय लोप हुँदै गएको पाटन नगरपालिका– १० का वीरभान विकले बताए ।
उनका अनुसार गाउँगाउँमा यातायातका साधन सञ्चालन हुन थालेपछि बाहिरबाट आएका प्लास्टिक तथा अन्य धातुुका सामग्रीको प्रयोगले बाँस र निगालो संकलनमा समस्या हुन थालेपछि यसको चोयाबाट बनाइने सामग्री नपाउँदा पेसा संकटमा परेको हो ।
एकदशक अघिसम्म पनि बाँस र निगालोबाट दलित समुदायले डोको, डालो, नाङ्लो (सुप्पो), चाल्लो, टपरी, भकारीलगायत घरायसी प्रयोजनका लागि प्रयोग गरिने सामग्री बिक्री गरेर पर्याप्त आम्दानी गर्दै आएका थिए । डडेल्धुराको अमरगढी नगरपालिका– ७ तिलाडी, कैनी टोल, छचोडा आलितालको डोला, हन्तड, नवदुर्गा गाउँपालिकाका विभिन्न ठाउँमा यही पेसाका भरमा जीविकोपार्जन गर्दै आएका कैयौँ व्यक्ति अहिले पेसा परिवर्तन गर्न बाध्य भएका छन् ।
‘बाँस र निगालो पाउन छाडेपछि आयआर्जनको बाटो बन्द भएको छ,’ अमरगढी– ७ का टीका पार्कीले भने, ‘परिवार पाल्न धौधौ भएको छ ।’ बाँस र निगालोका सामग्री बेचेर आम्दानी गर्ने बाटो बन्द भएपछि समस्या उत्पन्न भएको उनले बताए ।
गाउँघरमा बाँस र निगालाका सामान प्रयोग गर्ने किसानको संख्या पनि घट्दै गएको आलिताल गाउँपालिका– ८ का जोगराज भट्टले बताए । ‘गाउँघरमा गोरुबाट गर्ने काम ट्र्याक्टरको प्रयोगबाट हुन थाल्यो, अन्न राख्नका लागि बजारबाट ड्रम वा प्लास्टिक र स्टिलका भाँडा ल्याएर प्रयोग गरिन्छ । अब बाँस, निगालाबाट बुनेका सामग्री लोप भइसकेका छन्,’ उनले भने ।
टाढाबाट कच्चापदार्थ ल्याएर सामग्री निर्माण गर्दा पनि लागत खर्चअनुसारको आम्दानी नहुँदा दलित समुदायले हैरानी खेप्नु परिरहेको उनीहरूको गुनासो छ । सो समुदायले बाँस र निगालोको चोयाबाट बन्ने प्रतिडोकोलाई रु. ४०० देखि रु. ६०० सम्म बिक्री गर्दै आएका छन् । त्यस्तै, डालो, भकारी, मानो र नाङ्लो रु. एक हजारदेखि रु. चार हजारसम्ममा बिक्री गर्दै आएका छन् ।
युवा वैदेशिक रोजगारी र व्यापार–व्यवसायमा आकर्षित भएपछि केही पाका पुस्ताले सम्हालेको यो पेसा पछिल्लो समय लोप हुँदै गएको हो । निर्माण गरिएका सामग्रीको पनि बिक्री गर्न बजारको समेत अभाव छ । नजिकैका गाउँबस्तीमा सहजै बिक्री हुँदैन । बिक्री भए पनि उचित मूल्य पाउन सकेका छैनन् ।