
दुईपटक मिति घोषणा हुँदासमेत आयोजना हुन नसकेको राष्ट्रिय खेलकुद आगामी २३ देखि ३० चैतसम्म हुँदै छ, प्रतियोगिताको छनोट सुरु
सुर्खेतमा हुने दसौँ राष्ट्रिय खेलकुदको खेलाडी छनोट धनगढीमा आइतबारदेखि सुरु भएको छ । राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी २३ देखि ३० चैतसम्म पहिलोपटक कर्णाली प्रदेशमा हुन लागेको हो । धनगढी र र महेन्द्रनगरको रंगशालामा विभिन्न खेलका छनोट खेल हुने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । सुदूरपश्चिमबाट ७७८ जना खेलाडी र ४५० जना निर्णायकले प्रतियोगितामा सहभागिता जनाउने सुदूरपश्चिम खेलकुद परिषद्का सदस्यसचिव दीपकबहादुर सिंहले जानकारी दिए ।
‘सुदूरपश्चिममा आइतबारदेखि दसौँ राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलका छनोट सुरु भएको छ,’ सिंहले भने, ‘प्रदेशका दुई हजार आठ सय खेलाडीले भाग लिँदै छन् ।’ सुदूरपश्चिमले आयोजना गरेको छनोट खेलमा ६१ विधाका खेल समावेश छन् । प्रदेश छनोट प्रतियोगितामा महिला र पुरुष गरी ३१ खेल हुनेछन् । कैलालीको धनगढीमा फुटबल, भलिबल, एथलेक्टिस, क्रिकेट, बास्केटबल, ब्याडमिन्टन, टेबुलटेनिस, बुद्धिचाल, खो–खो, उस्सुलगायत खेल हुनेछन् ।
कञ्चनपुरको महेन्द्रनगरमा कबड्डी, तेक्वान्दो, कराँते, कुस्तीका छनोट खेल हुने आयोजकले जनाएको छ । छनोटमा अछामबाट १४१, बझाङबाट २६३, बैतडीबाट २०२, डोटीबाट २९४, बाजुराबाट २३९, दार्चुलाबाट २३६, डडेल्धुराबाट २४३, कैलाली ४३१ र कञ्चनपुरबाट ४२३ जना खेलाडी गरी दुई हजार ४६३ जनाले प्रतियोगितामा भाग लिनेछन् । हक्की, आर्चरी, साइक्लिङ, सफ्ट टेनिस, पौडी, शारीरिक सुगठन, फेन्सिङ, लङ टेनिस, जिम्न्यास्टिकलगायत गरी १० वटा खेलका खेलाडीले सीधै राष्ट्रिय खेलकुदमा सहभागी जनाउनेछन् । प्रदेश छनोमा ३३२ स्वर्ण, रजत ३३२ र कास्य ४५६ गरी एक हजार १९८ संख्याको पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
डेढ अर्बमा बन्यो रंगशाला
वीरेन्द्रनगरमा रहेको दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य रंगशालाको निर्माण कार्य ९९ प्रतिशत समाप्त भएको छ । कर्णाली प्रदेश खेलकुद परिषद्का इन्जिनियर कर्मा शाहीले वीरेन्द्रनगरमा बनेको रंगशालाको लागत एक अर्ब ४९ करोड ४७ लाख ४८ हजार ६ सय रुपैयाँ रहेको बताए । ‘डेढ अर्ब लागतमा अत्याधुनिक रंगशाला बनेको छ,’ शाहीले भने, ‘प्रतियोगितामा प्रयोग हुने कभर्ड हल पनि उच्चस्तरीय छ ।’ २८ कात्तिक ०७८ देखि रंगशालाको निर्माण कार्य सुरु भएको हो ।
शाहीका अनुसार निर्माण सुरु भएको ४२ महिनामा ९९ प्रतिशत निर्माण पूरा भएको हो । रंगशालामा रहेको कभर्ड हलमा फुटबल, भलिबल, एथलेटिक्स, बास्केटबल, मार्सल आर्टलगायत १४ वटा खेल आयोजना हुनेछ । रंगशालामा १० हजार दर्शक अट्ने प्यारापिट बनेको छ । यसैगरी, स्विमिङ पुल, खेलाडी वेटिङ रुम, भिआइपी कक्ष, अन्डरग्राउन्ड पार्किङसमेत निर्माण भएको उनले बताए ।
‘योभन्दा पहिले ओपन सेमिकभर्ड हल र ब्याडमिन्टन कोर्ट मात्र थियो । यसलाई पनि अपग्रेड गरेर इन्डोर गेम गर्ने बनाएका छौँ,’ उनले भने । शाहीले निर्माण भएको संरचनालाई फाइनल फिनिसिङको काम जारी रहेको बताए । ‘निर्माणको काम शतप्रतिशत भइसकेको छ । कतै–कतै बिग्रेको छ, त्यसको मर्मत गर्ने काम जारी छ,’ इन्जिनियर शाहीले भने, दसौँ प्रतियोगितालाई आवश्यक पर्ने संरचना निर्माण पूरा भएको छ । अब दसौँ प्रतियोगिता ढुक्कसँग गर्न सकिन्छ ।’
समयमै गर्न संसदीय समितिको निर्देशन
संसदीय समितिले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको मितिमा नै गर्न सरकारलाई निर्देशन दिएको छ । बैठकले कर्णालीमा हुने प्रतियोगिता समयमै आयोजना गर्न खेलकुद मन्त्रालयलाई निर्देशन दिएको हो । समितिका सभापति अम्मरबहादुर थापाले तोकिएको समयमा खेलकुद सञ्चालन गर्ने अवस्था बनाउन मन्त्रालयलाई निर्देशन दिएका हुन् । यसैबिच खेलकुदमन्त्री तेजुलाल चौधरीले ऐन–कानुनको समस्याका कारण समयमा नै पूर्वाधारलगायतको तयारी गर्न नसकेको बताए । ‘फागुनमा नै राष्ट्रिय खेलकुद सम्पन्न गर्ने भनिए पनि विविध कारण चैतमा सार्नुपरेको हो,’ चौधरीले भने, ‘मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्बिच समन्वय हुन नसक्दा प्रतियोगिता निर्धारित समयमा आयोजना गर्न नसकिएको हो ।’
११८औँ बोर्ड बैठकले मिति तय
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को ११८औँ बोर्ड बैठकले २३ चैतमा आयोजना गर्ने निर्णय गरेको थियो । यसअघि राखेपले प्रतियोगिता २ देखि ९ मंसिरमा गर्ने भनिएको थियो । तर, राखेप र खेलकुद मन्त्रालयबिचको सम्बन्ध राम्रो हुन नसक्दा प्रतियोगिता पूर्वघोषित मितिमा हुन सकेन । गण्डकीमा नवौँ राष्ट्रिय खेलकुदको समापनका दिन २ कात्तिक ०७९ मा बसेको राखेपको ११५औँ बोर्ड बैठकले दसौँ राष्ट्रिय खेलकुद कर्णालीमा गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरेको थियो । सुर्खेतमा २४ खेलका लागि पूर्वाधार निर्माण भएका छन् ।