१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 21 June, 2025
Invalid date format १९:o३:oo
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

जन्मथलोमा गायक रामकृष्ण ढकाललाई ‘गायन सम्राट्’को उपाधि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:o३:oo

नेपाली रंगमञ्चका गायक रामकृष्ण ढकाललाई धेरैले लोकप्रिय, सर्वप्रिय र सदावहारजस्ता उपनाम दिने गरेको पाइन्छ । त,र उनकै जन्मथलो निजगढमा भने ढकाललाई ‘गायन सम्राट्’ उपनाम दिइएको छ । 

निजगढ उद्योग वाणिज्य संघको आयोजना भइरहेको ‘प्रथम निजगढ महोत्सव– २०८१’ मा आफ्नो प्रस्तुति दिन निजगढ आएका गायक ढकाललाई निजगढ नगरपालिकाको तर्फबाट प्रदान गरिएको सम्मानपत्रमा ‘गायन सम्राट्’को उपाधि दिइएको हो ।  

नगर प्रमुख सुरथ पुरी र उपप्रमुख सोममाया थिङले हस्ताक्षर गरेर प्रदान गरेको सम्मानपत्रमा भनिएको छ, ‘नेपालको प्रसिद्ध क्षेत्र बाराको निजगढमा जन्मिएर बाल्यकालदेखि नै नेपाली सांगीतिक क्षेत्रमा अतुलनीय योगदान दिँदै करिब चार दशकदेखि अविच्छिन्न रूपमा योगदान दिइरहनुभएका तपाईं श्री रामकृष्ण ढकालको नाम देशदेशावरमा फैलिएको छ ।’ अगाडि भनिएको छ, ‘संसारभर छरिएका नेपालीहरूमाझ गीत संगीतमार्फत यहाँले गर्नुभएको अतुलनीय योगदानप्रति यो क्षेत्र सदैव कृतज्ञ र ऋणी रहेको छ । नेपाली गीतमार्फत संगीत र संस्कृतिलाई पुस्तान्तरण गर्न र निजगढ क्षेत्रलाई सर्वत्र चिनाउन अहं भूमिका खेल्नुभएकोमा तपाईंलाई समस्त नगरवासीको तर्फबाट सम्मान गर्न पाउँदा हामी गौरवान्वित छौँ ।’ 

त्यसैगरी स्थानीय सञ्चारगृह निजगढ टाइम्सले पनि ढकाललाई सम्मानपत्रसहित ‘गायन सम्राट्’को उपाधि दिएको छ । निजगढ टाइम्सका अध्यक्ष इन्दीप कोइरालाले सोही अवसरमा सम्मानपत्रसहित सो उपाधि दिएका हुन् । कार्यक्रममा ढकालले ‘बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस्’, ‘मन पराउने हजार हुन्छन् जुनी काट्ने एउटै हुन्छ’, ‘मलाई यो जिन्दगीले कहाँ पुर्‍यायो कहिले हँसायो कहिले रुवायो’ जस्ता एक दर्जन गीत प्रस्तुत गरेका थिए ।  

गीतसँगै बोल्ने क्रममा ढकालले निजगढसँगको आफ्नो सम्बन्धबारे पटकपटक चर्चा गरेका थिए । ‘त्यतिवेलाका धेरै घटना अहिले त विस्मरणमा पुगिसके,’ उनले भने, ‘तर, जहाँ पुगे पनि निजगढको माटोको भने सधैँ सम्झना आइनै रहन्छ ।’ त्यसैगरी, बाल्यकालमै जन्मस्थान निजगढ छोडेर अन्यत्र लाग्नुपरेकोमा उनले दुःखमनाउ पनि गरेका थिए । ढकालको निजगढ– ६ सडकटोलमा ४० वर्षअघि जन्म भएको थियो । ढकाल बिहीबार बिहान आफ्नो जन्मघर हेर्न सडकटोल पनि गएका थिए । 

०३५/३६ सालमा निजगढको घरघडेरी बिक्री गरेर सिमरा बसाइँ सरेको उनको परिवार त्यसपछि चितवनको जुगेडीमा बस्दै आएको थियो ।