
कृषि विकास बैंकले स्थापनाको ५८औँ वार्षिकोत्सव मनाएको छ । सोमबार बैंकपरिसरमा सम्पन्न उक्त समारोहका प्रमुख अतिथि उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरे । उद्घाटनपछि बोल्दै प्रमुख अतिथि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पछिल्लो समय अब्बल बैंकका रूपमा आफूलाई स्थापित गर्न सफल भएको भन्दै प्रशंसा गरे ।
अर्थमन्त्री पौडेलले हाल बैंकिङ बजारमा निक्षेप संकलनको तुलनामा कर्जाको माग नहुनु चुनौतीका रूपमा रहेको बताउँदै पछिल्लो समय समग्र अर्थतन्त्रका सूचक सकारात्मक हुने संकेत देखिएकाले बैंकहरूले पनि कर्जा लगानीलाई थप सर्वसुलभ ढंगले कर्जा प्रवाह गर्ने गरी आफ्ना कार्यक्रम बढाउन आग्रह गरे ।
सोही अवसरममा बैंकको नयाँ वेबसाइटको शुभारम्भसमेत गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरूले पछिल्लो समयमा गरेको प्रगति राम्रो भएकाले लगानीको मार्ग प्रशस्त गर्दै अगाडि बढ्न आग्रह गरे । पछिल्लो समय बैंकिङ बजार केही चुनौती भए पनि न्यूनतम नियमको पालना गर्दै कृषि विकास बैंकले गत चालू आवमा ग्राहकलगायत सम्पूर्णलाई उत्साहित बनाएको उनले बताए ।
त्यसैगरी, बैंकले प्रकाशन गरेको ५८औँ वार्षिकोत्सव आर्थिक विशेषांक तथा विगत ४६ वर्षदेखि प्रकाशन भइरहेको साहित्यिक प्रकाशन समष्टिको पनि प्रमुख अतिथिबाट विमोचनसमेत गरिएको थियो । बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कृषि विकास बैंकका पूर्वमहाप्रबन्धक श्रीकृष्ण उपाध्यायलगायत अतिथिले वार्षिकोत्सवको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिलगायत सम्पूर्णमा स्वागत गर्दै बैंकका प्रमुख कार्यकारी अधिकत गोविन्द गुरुङले हाल बैंकको समग्र गतिविधिको समेत जानकारी दिएका थिए । समारोहमा बैंकमा अविच्छिन्न २० वर्ष र २५ वर्ष काम गरेका कर्मचारीलाई पदक र कदरपत्रसमेत प्रदान गरिएको थियो ।
आजभन्दा ५७ वर्षअगाडि देशको कृषि तथा ग्रामीण क्षेत्रको विकासका लागि आवश्यक पर्ने वित्तीय एवं प्राविधिक सेवा उपलब्ध गराउँदै कृषि क्षेत्रलाई व्यवसायीकरण गर्ने मूल उद्देश्यका साथ कृषि विकास बैंक ऐन, २०२४ अनुसार २०२४ साल माघ ७ गते कृषि विकास बैंकको स्थापना भएको थियो ।
गत आर्थिक वर्षको लेखा परीक्षणपश्चात्को परिष्कृत वित्तीय विवरणअनुसार चार अर्ब १३ करोड सञ्चालन मुनाफा तथा दुई अर्ब ८९ करोड खुद मुनाफा गर्न सफल भई अघिल्लो आर्थिक वर्षको तुलनामा २१७ प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।