मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
सरोज बानियाँ
Invalid date format o९:o८:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

यसकारण मनाउने राष्ट्रिय युवा वर्ष

युवालक्षित आकर्षक कार्यक्रम ल्याउन सकेमा नेपालमै पनि भविष्य सुन्दर र सुखद छ भन्ने सन्देश प्रवाह गर्न सकिनेछ

Read Time : > 4 मिनेट
सरोज बानियाँ
नयाँ पत्रिका
Invalid date format o९:o८:oo

नेपालमा १६ देखि ४० वर्ष उमेर समूहलाई युवा भनी परिभाषित गरिएको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार हाल नेपालमा ४२.५६ प्रतिशत युवाको जनसंख्या रहेको छ । युवाको यति ठुलो जनसंख्या भएको वेलामा राज्यले नै प्रमुख प्राथमिकतामा राखी राष्ट्रिय युवा वर्ष २०२६ मनाउन आवश्यक र अपरिहार्य देखिन्छ । विश्वमा युवा अवस्थालाई विभिन्न देशले फरक–फरक तरिका र उमेर समूहका आधारमा परिभाषित गरेको पाइन्छ । संसारका विभिन्न देशका अनुभव हेर्दा पनि युवाको उमेर समूह फरक–फरक पाइन्छ । अधिकांश देशमा युवाको उमेर १५–३५ वर्षबिच कायम गरेको पाइन्छ, भने संयुक्त राष्ट्रसंघ र अन्य विभिन्न अन्तर्राष्ट्रिय संस्थाले १५ देखि २४ वर्षको उमेर समूहलाई युवा मानेको छ ।

नेपालको अन्तरिम संविधानले १५ देखि २९ वर्षको उमेर समूहलाई युवा भनेर परिभाषित गरेको थियो । तर, नेपालका राजनीतिक पार्टी र सामाजिक संघ संस्थाले चाहिँ आ–आफ्नो अनुकूलतामा युवाको परिभाषा गर्दै आएको देखिन्छ । नेपालमा विसं २०७८ को जनगणना, राष्ट्रिय युवा परिषद् ऐन, २०७२ तथा राष्ट्रिय युवा नीति, २०७२ ले १६ देखि ४० वर्षलाई युवा उमेर समूह निर्धारण गरेको छ । त्यसैअनुरूप हाल नेपालमा ४२.५६ प्रतिशत युवाको जनसंख्या रहेको देखिन्छ । यो संख्या नेपालका लागि निकै ठुलो अवसर हो र यसको उपयोगतर्फ सरकार लाग्न सके यसले निकै ठुलो र सकारात्मक परिणाम दिन सक्छ । यसका लागि देशले युवा उद्यमशीलता र युवा परिचालनमा व्यापक काम गरी नेपालमै गरे सम्भव छ भन्ने सन्देश प्रवाह गर्न सकिन्छ ।

नेपालको पर्यटकीय तथा सांस्कृतिक सम्पदाको प्रचार–प्रसार गरी यहाँको पर्यटन प्रचार–प्रसारमा विश्वका युवा जमातको ऐक्यबद्धता जुटाउने कार्यमा पनि राष्ट्रिय युवा वर्ष प्रभावकारी हुन सक्छ

नेपालको वर्तमान युवाको अनुपातलाई आधार मानेर सन् २०२६ लाई नेपालले ‘राष्ट्रिय युवा वर्ष २०२६’ मनाउन सके नेपालमै नेपाली युवाले आफ्नो भविष्य देख्न र खोज्न सक्ने वातावरण बन्न पनि सक्छ । होइन भने अधिकांश युवा नेपालमा सम्भावना र अवसर केही पनि छैन भन्दै निराश हुने अवस्था आउन सक्छ र अवसरको खोजीमा बिदेसिने युवाको लर्को अझै बढी लामो हुन सक्छ ।

अहिले नेपालका लागि जनसांख्यिक लाभको समय पनि हो । नेपाल सरकारका विभिन्न निकायमा युवा उमेर समूहबारे अझै एकरूपता कायम हुन नसकिरहेको सन्दर्भमा ‘युथ भिजन–२०२५’ मा युवालाई १६ देखि २४ र २५ देखि ४० वर्षको उमेर समूहमा विभाजन गरी समूहगत प्राथमिकता निर्धारण गरिएको छ । पहिलो समूहका युवालाई शिक्षा, व्यक्तित्व र सीप विकासको चरण मानिएको छ भने दोस्रो समूहलाई व्यवसाय, स्वरोजगार र आयआर्जन गर्ने समय वा समूहका रूपमा परिभाषित गरिएको छ ।

राष्ट्रिय युवा नीति २०७२ र युथ भिजन २०२५ तथा दशवर्षे रणनीतिक योजनामा परिलक्षित गरिएका युवालक्षित योजना र कार्यक्रमलाई समस्त नेपाली युवाको विकास र परिचालनका लागि केन्द्रीय सरकारी निकायका रूपमा राष्ट्रिय युवा परिषद् ऐन २०७२ बमोजिम नेपाल सरकारले राष्ट्रिय युवा परिषद् स्थापना गरेको थियो । युवा परिषद्ले नेपाल सरकारले स्वीकृत गरेका युवालक्षित कार्यक्रमको संघ, प्रदेश र स्थानीय तहमा कार्यान्वयन तथा सोका लागि सहजीकरण गर्नुका साथै अन्य सरकारी तथा गैरसरकारी निकायबाट सञ्चालित युवालक्षित कार्यक्रमको समन्वय, सहकार्य र सहजीरकण गर्ने गरी परिषद्को स्थापना भएको हुँदा पनि केही स्तरसम्म त परिषद्ले काम गरेको देखिन्छ । परिषद्ले थप केही रचनात्मक काम गर्नु आवश्यक देखिन्छ । परिषद्ले अहिलेकै ढंगबाट काम गरेमा युवाहरू खासै लाभान्वित हुने अवस्था देखिँदैन ।

राष्टिय युवा वर्ष मनाउने क्रममा हरेक प्रदेशबाट कम्तीमा ३०–३० जना युवालाई ‘युवा र सूचना प्रविधि’सम्बन्धी तालिम सञ्चालन गर्नु उपयुक्त हुन्छ । हरेक प्रदेशमा एक–एकवटा ‘युथ इजोन सेन्टर’ निर्माण गर्ने गरी कार्यक्रम तयार पार्न सकिन्छ । जहाँबाट युवाले निःशुल्क रूपमा सूचना प्रविधिसम्बन्धी तालिम प्राप्त गर्न सक्नेछन् । हरेक प्रदेशबाट कम्तीमा १००–१०० जना युवालाई वित्तीय साक्षरतासम्बन्धी तालिम सञ्चालन गर्न सकियो भने पछि तिनै युवालाई रोजगार बनाएर थप युवालाई यससम्बन्धी तालिम दिलाउन सकिन्छ । हरेक प्रदेशमा तीनदिने ‘प्रादेशिक युवा सम्मेलन’ तथा युवा नीति संवाद कार्यक्रम आयोजना गरी युवालाई नै सहभागी गराई युवा नीति तथा कार्यक्रम निर्माण गरी हरेक प्रदेशको सामाजिक विकास मन्त्रालय र प्रदेश युवा परिषद्लाई कार्यान्वयनतर्फ अग्रसर गराउने गरी विशेष पहलकदमी लिनुपर्नेछ । युवा वैज्ञानिकलाई समेटेर उनीहरूलाई प्रोत्साहन गर्दै राष्ट्रिय तथा प्रदेश स्तरीय युवा वैज्ञानिक सम्मेलन आयोजना गर्ने र स्थानीय तहसँग समन्वय गरी यस्ता खालका कार्यक्रमलाई स्थानीय पालिकाको नीति तथा कार्यक्रममा राख्न प्रोत्साहन गर्ने गरी नेपाल सरकारले विशेष पहलकदमी लिनुपर्छ । सातवटै प्रदेशबाट कम्तीमा १०–१० जना युवालाई छनोट गरी अन्तर्राष्ट्रियस्तरमा भ्रमण गर्ने वातावरण सिर्जना गर्नसकेमा यसबाट उनीहरूले अन्तर्राष्ट्रिय ‘एक्सपोजर’समेत प्राप्त गर्न सक्छन् ।

आन्तरिक पर्यटनका लागि विशेष कार्यक्रम पनि सञ्चालन गर्न सकिन्छ । वातावरण संरक्षणमा युवा जमातलाई संलग्न गराउन प्रदेशस्तरीय ‘प्रादेशिक जलवायु सम्मेलन’ कार्यक्रम सञ्चालन गर्ने र त्यसका लागि प्रदेशस्तरीय सिड फन्डको व्यवस्था मिलाउनुपर्छ । हरेक प्रदेशको एक उत्कृष्ट कार्ययोजनालाई विशेष पुरस्कार दिने व्यवस्था गरिनुपर्छ । नोभेम्बर सन् २०२६ को अन्त्यतिर नेपालमा ‘विश्व युवा शिखर सम्मेलन’ आयोजना गर्न सकियो भने यसबाट युवामा आशा जगाउन विशेष योगदान पुग्न सक्छ । यस शिखर सम्मेलनको मुख्य उद्देश्य नेपालको पर्यटकीय तथा सांस्कृतिक सम्पदाको प्रचारप्रसार गरी नेपालको पर्यटन प्रचारप्रसारमा विश्वका युवा जमातको ऐक्यबद्धता जुटाउनु हो ।

४२.५६ प्रतिशत युवाको जनसंख्या नेपालका लागि निकै ठुलो अवसर हो र यसको उपयोगतर्फ सरकार लाग्न सके यसले निकै ठुलो र सकारात्मक परिणाम दिन सक्छ

हरेक प्रदेशमा विपत् व्यवस्थापनसम्बन्धी कम्तीमा तीनदिने प्रशिक्षक प्रशिक्षण दिने व्यवस्था मिलाएर त्यहाँबाट प्रशिक्षित युवालाई हरेक सामुदायिक विद्यालयमा गई पुनः एक–एक दिनको तालिम दिन लगाउन सकिन्छ । राष्ट्रिय तथा प्रदेशस्तरीय गुरुयोजना निर्माण गर्न निजी क्षेत्र, गैरआवासीय नेपाल संघ, कूटनीतिक नियोग र सरकारी तथा गैरसरकारी संघसंस्थाहरूसँग सहकार्य गरी युवासम्बन्धी राष्ट्रिय तथा प्रदेशस्तरको गुरुयोजना निर्माण गरी संघीय तथा प्रदेश सरकारसँग कार्यान्वयनका लागि सहकार्य गर्नु आजको आवश्यकता हो । यसका लागि सर्वप्रथम प्रदेशस्तरीय र त्यसपछि राष्ट्रियस्तरीय कार्यशाला गोष्ठी आयोजना गरी गुरुयोजना निर्माण गर्ने गरी कार्यको थालनी गर्नुपर्छ ।

स्थानीयस्तरमा रहेका विभिन्न रैथाने खानेकुराको संरक्षण, प्रचारप्रसार गर्ने गरी विभिन्न खाना तथा परिकारसम्बन्धी विशेष महोत्सव आयोजना गरी रैथाने खानेकुराको संरक्षण र प्रवद्र्धनमा काम गरिरहेका संघसंस्था र होमस्टे महासंघसँग विशेष समन्वय गर्ने गरी कार्यक्रम बनाउनु अपरिहार्य छ । युवा उद्यमशीलतालाई प्रमुख प्राथमिकतामा राखी युवा स्वरोजगार कोषलाई परिचालन गरी नयाँ ‘स्टार्टअप’लाई लगानी गरी उनीहरूलाई थप प्रचारप्रसार गर्ने गरी कार्यक्रम तयार गरी कार्यान्वयन गर्नुपर्नेछ ।

प्रदेश तथा राष्ट्रिय स्तरमा नमुना निर्वाचन आयोजना गरी युवालाई निर्वाचनको समग्र प्रक्रियाबारे ज्ञान दिने अत्यावश्यक छ । नमुना युवा संसद्लाई अझै प्रभावकारी बनाउने गरी विशेष कार्यक्रम आयोजना गर्नुपर्नेछ । सातवटै प्रदेशमा यस अभ्यासलाई तीव्र गतिमा लैजाने गरी प्रदेश युवा परिषद्लाई जिम्मेवारी दिने गरी काम गर्नु उचित हुन्छ । नेपाल कला संस्कृतिले धनी राष्ट्र हो । यहाँका हरेक जिल्लामा आ–आफ्नै कला तथा संस्कृतिगत विविधतासमेत रहेको छ । यसैलाई मध्यनजर गर्दै प्रादेशिक एवं युवाको सहभागितामा राष्ट्रिय साहित्य महोत्सव आयोजना गर्नुपर्छ । परियोजना धितो राखेर उद्यमशीलताका लागि युवालाई सहुलियतपूर्ण कर्जा दिने व्यवस्था मिलाउन सकेमा युवा उद्यमशीलता बढ्नेछ र यसबाट विदेश पलायन हुने युवाको संख्यामा पनि कमी आउन सक्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पदक जितेका खेलाडीलाई राष्ट्रियस्तरमा सम्मान गर्ने र उनीहरूलाई मासिक तलब तथा भत्ता नियमित रूपमा दिने गरी व्यवस्था मिलाउनुपर्छ । विशेष क्षमता र अपांगतालक्षित कार्यक्रम सञ्चालन गरी प्रदेशस्तरीय दोभाषे तालिम सञ्चालन गर्नु जरुरी छ ।

‘फ्युचर लिडर्स डेभलपमेन्ट प्रोग्राम’ (एफएलडिपी)बाट ७७ वटै जिल्लाका १८ देखि २४ वर्ष उमेरसमूहका करिब २३ हजार एक सय युवालाई तालिम दिई नेपालमा रहेको सम्भावनालाई उजागर गर्दै नेपालमै बसी उद्यमशीलता र सामाजिक रूपान्तरणमा काम गर्न सक्ने वातावरण बनाउनुपर्छ । यस्तै खालका विविध कार्यक्रम, तालिम, प्रदर्शनी, प्रतियोगिता, स्टार्टअपलागायत विविध गतिविधि सञ्चालन गरी राष्ट्रिय युवा वर्ष २०२६ मनाउँदा युवामा सकारात्मक समृद्धिको सन्देश प्रवाह हुनेछ साथै बढ्दोे विदेश पलायनलाई न्यूनीकरण गर्दै नेपालमै बसेर पनि सुन्दर र सुखद भविष्य सम्भव छ भन्ने सन्देश प्रवाह गर्न सकिनेछ र युवा उद्यमशीलताको सम्भावनामा वृद्धि हुनेछ ।

(नेपाल युवा परिषद्का संस्थापक एवं केन्द्रीय अध्यक्ष बानियाँ युवा अभियन्ता हुन्)