मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ माघ ३ बिहीबार
  • Wednesday, 02 September, 2026
२o८१ माघ ३ बिहीबार २o:३५:oo
Read Time : > 1 मिनेट
समाचार

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका ३८ विद्यार्थी दीक्षित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ ३ बिहीबार २o:३५:oo

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह बिहीबार पोखरामा सम्पन्न भएको छ। समारोहमा स्नातकोत्तर तहअन्तर्गत डाक्टर अफ मेडिसिन (एमडी) र मास्टर अफ सर्जरी (एमएस) तर्फ ०८० र ०८१ मा उत्तीर्ण ४३ विद्यार्थीमध्ये ३८ जना दीक्षित भएका छन्। दीक्षित विद्यार्थीमा पहिलो ब्याच ०८० का १५ र दोस्रो ब्याच ०८१ का २३ जना रहेको प्रतिष्ठानका डिन डा. श्रीकृष्ण श्रेष्ठले जानकारी दिए। 

पहिलो ब्याचमा सर्वाेत्कृष्ट अंक प्राप्त गर्ने अरविन्दकुमार शाह र दोस्रो ब्याचका आशिष सापकोटालाई उपकुलपति पदक प्रदान गरिएको थियो। दुई ब्याचमा गरी ४३ विद्यार्थी उत्तीर्ण भएकोमा ३८ जनाले मात्रै समारोहमा सहभागी हुन फर्म भरेका थिए।

प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, कार्यक्रमका प्रमुख अतिथि कारोलिनस्का इन्स्टिच्युट स्टकहोम, स्विडेनका प्राध्यापक लार्स म्याग्नुस रिनहोल्ड वेस्टग्रेन, प्रतिष्ठानका सहकुलपति स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, प्रतिष्ठानका उपकुलपति डा. डुकबहादुर क्षेत्री, प्रतिष्ठानका डिन डा. श्रीकृष्ण श्रेष्ठले विद्यार्थीलाई दीक्षित गरेका थिए। दीक्षान्त समारोहअघि प्रधानमन्त्री ओलीले प्रतिष्ठानको आकस्मिक तथा प्राज्ञिक भवनको उद्घाटन गरेका थिए। 

१२ माघ ०७२ मा स्थापना भएको प्रतिष्ठानले ०७६ फागुनबाट शैक्षिक कार्यक्रम सुरु भएको थियो। 

घमण्ड त्यागेर कर्ममा खटिन प्रधानमन्त्रीको आग्रह
समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दीक्षित विद्यार्थीलाई घमण्ड त्यागेर आफ्नो कर्म क्षेत्रमा खटिन आग्रह गरेका छन्। घमण्डका कारण मानिसको दिमागमा केही पस्नसँगै सिक्नसमेत नदिने भएकाले यसलाई त्यागेर विनयशीलता, दृष्टान्तयोग्य, इमानदार, आदर्शवान र समाजका लागि उपयोगी हुने गरी सोहीअनुसारको काम गरेर अघि बढ्न आग्रहसमेत गरेका छन्।

अध्ययन गरेर कहिल्यै नसकिने भन्दै ओलीले आफ्नो अध्ययनलाई जारी राख्न आग्रह गरे। जसले अध्ययनमा ध्यान दिँदैन र ऊ पछि पर्ने भएकाले आफूलाई अघि बढाउनका लागि भए पनि अध्ययनलाई निरन्तरता दिन आग्रह गरेका थिए।

फरक प्रसंगमा प्रधानमन्त्री ओलीले देशमा केही भएकै छैन भन्दै केही समूह हिँडेकोतर्फ इंगित गर्दै देशमा धेरै परिवर्तन भएको, तर जति हुनुपर्ने हो सोअनुसार नभएको बताएका थिए।

समारोहमा स्वास्थ्यमन्त्री पौडेलले आर्थिक, पूर्वाधार, जनशक्ति, उपकरणलगायतका अभावका बाबजुद मन्त्रालयले अपर्याप्त क्षमताभित्र अधिकतम सेवा प्रदान गरिरहेको बताएका थिए। सीमित क्षमताभित्र अधिकतम सेवा दिन पर्दा केही कठिनाइसँगै जनताले समेत अपेक्षा गरेअनुसारको सेवा दिन नसकेको उनको भनाइ थियो। पौडेलले स्वास्थ्य क्षेत्रलाई आधुनिक र उन्नत बनाउने गरी आफूहरूले काम गरिरहेको बताएका थिए।