मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 02 August, 2025
गणेश लम्साल विराटनगर
Invalid date format ११:५६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका निवर्तमान स्वकीय सचिव पक्राउ

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format ११:५६:oo

प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका निवर्तमान स्वकीय सचिव अनिलकुमार पोखरेललाई प्रहरीले पक्राउ गरेको छ । मोरङको रंगेली नगरपालिका– २ घर भई काठमाडौं बस्दै आएका ४३ वर्षीय पूर्वस्वकीय अनिललाई बिहीबार बिहान विराटनगरबाट पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । 

पक्राउ परेका आरोपी पोखरेलललाई बिहीबारै ठगी गरेर आपराधिक लाभ लिएको कसुरमा मोरङ अदालतबाट म्याद थप गराएर अनुसन्धान थालिने मोरङका एसपी नारायणप्रसाद चिमोरियाले बताए । 

मोरङ प्रहरीले उच्च अदालतको आदेशको फैसलासहित पीडित बौआलाल सम्पर्कमा आएपछि २१ पुसमा पूर्वस्वकीय सचिव अनिलविरुद्ध किटानी जाहेरी दर्ता गरेको थियो । २२ पुसमा प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएर अनिलको खोजी थालेको थियो । 

आरोपी अनिलले एमाले कोटाबाट एमबिबिएसमा नाम निकाल्ने र होस्टेलको समेत प्रबन्ध गराइदिने भनेर कृषिका पूर्वकर्मचारी सप्तरीका बौआलाल चौधरीसँग  ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेका थिए ।

एमबिबिएसमा छोरीको नाम ननिस्केपछि पैसा फिर्ता माग्दा उल्टै अनिलले २५ असार ०७४ मा पैसा फिर्ता दिने बहानामा काठमाडाैं बोलाएर ५० लाख उल्टै ऋण लिएको  जबर्जस्ती कपाली तमसुक बनाएर हस्ताक्षर गराएका थिए । त्यसपछि पटकपटक कारबाही माग गर्दै एमाले पार्टी कार्यालय र प्रहरीकहाँ धाइरहेका बौआलालले न्याय नपाएपछि जबर्जस्ती  ५० लाख ऋणको लिखत बदर गरी आफ्नो ३८ लाख ८० हजार रकम फिर्ता गराइदिन र अनिलमाथि कानुनी कारबाही गर्न माग गर्दै उच्च अदालत विराटनगरमा ३१ साउन०७९ मा ठगी गरी आपराधिक लाभ लिएको आरोपमा परमादेश माग गर्दै निवेदन दर्ता गराएका थिए ।

अदालतले उक्त मुद्दामा ३१ भदाै ०८१ मा अन्तिम फैसला गर्दै पूर्वस्वकीय सचिव अनिल पोखरेललाई पक्राउ गरेर कानुनी कारबाही गर्न प्रहरीलाई आदेश गरेको थियो । ११ पुस २०८१ मा प्रमाणीकरण भएको आदेशको पूर्णपाठ २१ पुसमा मोरड प्रहरीले प्राप्त गरेको थियो भने पीडित बौआलालले पनि सम्पर्कमा आएर किटानी जाहेरी दिएका थिए । 

यसअघि बौआलालले दिएको किटानी जाहेरी इलाका प्रहरी रंगेली र जिल्ला प्रहरी मोरडले लिन नमानेपछि बौआलालले १८ साउन ०७९  मा हुलाकमार्फत जाहेरी दर्ता गराउन मोरङ प्रहरीमा पठाएका थिए । तर, मोरङ पहरीले दुईपटक हुलाकको जाहेरी प्राप्त नभएको भन्दै उच्च अदालतलाई जवाफ पठाएको थियो । तर, हुलाकको दर्ता किताबमा जाहेरी पठाएको पुष्टि भएको  र अनिलले पैसा लिएको पनि बैंक स्टेटमेन्टबाट प्रस्ट भएको अदालतले ठहर गरेको थियो । 

पहिले गाउँ कमिटीस्तरका कार्यकर्ता रहेका पूर्स्वकीय सचिव अनिललाई एमाले नेता ऋषिकेश पोखरेलले नै संरक्षण गर्दै आफू अध्यक्ष भएको वेला जिल्ला कमिटी सदस्य बनाएका थिए । अनिल ०७९ को प्रदेश सभा निर्वाचनमा प्रदेश सभा सांसदका लागि पनि पहिलो नम्बरमा सिफारिस भएका थिए । तर, टिकट भने लीलाबल्लभ अधिकारीले पाएका थिए ।  

स्वकीय सचिव अनिल पोखरेलले ठगी गरेको अदालतबाट प्रमाणित आदेश भइसकेको समाचार सार्वजनिक भएपछि प्रतिनिधिसभाका सार्वजनिक लेखा समिति सभापति तथा मोरङ– २ नम्बर क्षेत्रका संघीय सांसद ऋषिकेश पोखरेलले हतारहतार स्वकीय अनिललाई हटाएका थिए ।