१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
यम बम काठमाडाैं
Invalid date format o७:४१:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

हिउँदमा पानी कम पर्ने, वायु प्रदूषण अझै बढ्ने

Read Time : > 2 मिनेट
यम बम, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:४१:oo

यसपालि सुक्खायाम अर्थात् हिउँदमा वर्षा कम हुने आकलन गरिएको छ । जसकारण डढेलोका घटना बढ्ने र वायु प्रदूषण खराब स्थितिमा पुग्न सक्ने अनुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागले आगामी १६ फागुनसम्मको हावापानी आकलन गर्दै देशभर औसतभन्दा कम पानी पर्ने र अधिकतमसँगै न्यूनतम तापक्रम औसतभन्दा धेरै हुने प्रक्षेपण गरेको छ । ‘प्रशान्त महासागरमा लानिना विकसित हुने क्रममा छ, प्रिमनसुनको सुरुवाती अवधिसम्म लानिना रहँदा यसले पानी कम पर्ने देखिन्छ,’ विभागका मौसमविद् सुदर्शन हुमागाईंले भने, ‘हिउँदको जनवरी–फेब्रुअरीमा अझ खडेरीको अवस्था हुने देखिन्छ ।’

विभागका अनुसार हिउँदेयाममा कोशी प्रदेशको दक्षिणी भूभाग र मधेश प्रदेशको पूर्वी भूभागमा अझ बढी खडेरी हुने देखिन्छ । सुदूरपश्चिम र कर्णालीको दक्षिणी, लुम्बिनीको अधिकांश, गण्डकीको पूर्वी तथा दक्षिणी, बागमती, मधेशको पश्चिमी र कोशीको पश्चिमी भूभागमा पनि सरदरभन्दा कम पानी पर्ने आकलन छ । यसबाहेक क्षेत्रमा पनि वर्षा कम भए पनि खडेरीको अवस्था भने देखिँदैन । गत वर्ष पनि हिउँदमा औसतभन्दा कम पानी पर्दा डढेलो र वायु प्रदूषण खराब स्थितिमा पुगेको थियो । मुख्य २० वटा स्टेसनको औसतलाई आधार मानेर हिउँदमा ६०.१ मिलिमिटर वर्षालाई औसत मानिन्छ । तर, गत वर्ष हिउँदमा सरदरको १९.८ मिलिमिटर र ०७९ को हिउँदमा १२.९ मिलिमिटर मात्र पानी परेको थियो ।

विभागले यो हिउँदमा अधिकतम र न्यूनतम दुवै तापक्रम औसतभन्दा धेरै हुने आकलन पनि गरेको छ । ‘त्यसै पनि हिउँदमा कम वर्षा हुन्छ, यसपटक सरदरभन्दा कम वर्षा देखिएकाले सरदरभन्दा धेरै तापक्रमको आकलन गरिएको हो,’ मौसमविद् हुमागाईंले बताए । सन् २०२३ पछिल्लो ४० वर्षयताकै तातो वर्ष रेकर्ड भएको थियो । सन् २०२४ पनि त्यसभन्दा अझ बढी तातो रेकर्ड हुने आकलन संयुक्त राष्ट्र संघको विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ)ले गरिसकेको छ ।

जनवरी र सेप्टेम्बरबिचको विश्वव्यापी औसत तापक्रम १९औँ शताब्दीको अन्त्यतिरको तापक्रमभन्दा करिब १.५४ डिग्री सेल्सियस बढी रहेकाले सन् ०२४ अहिलेसम्मकै तातो रहने निष्कर्ष निकालेको हो ।

बढ्न थाल्यो डढेलो

सुक्खायाम सुरु भएसँगै आगलागी र डढेलाका घटना बढ्न थालेका छन् । पछिल्लोपटक दैनिक एक सयभन्दा धेरै ठाउँमा डढेलो सल्किरहेको अमेरिकी अन्तरिक्षसम्बन्धी संस्था नासाको मोडिज भूउपग्रहले संकलन गरेको तथ्यांकले देखाउँछ । त्यस्तै, एक सातामा ६७ ठाउँमा आगलागी भएको गृह मन्त्रालय आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्यांक छ । 

‘पानी कम पर्दा आगलागी र डढेलाका घटना बढ्छन् नै, तर पोहोरजस्तै भयाभव अवस्था नहोला भन्ने अनुमान छ,’ राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले भने, ‘नेपालमा दुई–तीन वर्षको अन्तरमा डढेलोले भयाभव अवस्था लिने गरेको देखिन्छ । जंगलमा रहेका ज्वलनशील वस्तु (ठुलो मात्रामा रहेका पातपतिंगर, दाउरा र सुकेका काठ) धेरैजसो पोहोर जलिसकेकाले यसपटक ठुलो डढेलो कम हुन सक्छ ।’ 

काठमाडौंको हावा एक महिनादेखि अस्वस्थकर, अझै खराब स्थितिमा पुग्न सक्छ
काठमाडौंको हावा एक महिनादेखि अस्वस्थकर छ । वातावरण विभागको मापदण्डअनुसार २४ घण्टामा हावामा पार्टिकुलेट म्याटर (पिएम) २.५ भनिने आँखाले देख्न नसकिने र रौँभन्दा पनि साना धुलोका कण प्रतिघनमिटर औसत ४५ नाघेमा हावा अस्वस्थकर मानिन्छ । तर, कात्तिक मध्यदेखि काठमाडौंको हावामा पिएम–२.५ को मात्रा दैनिक ४६ भन्दा माथि नै छ । यो मात्रा शनिबार ७९.५ रहेकामा आइतबार ७४ रह्यो ।

हरेक घण्टाको एयर क्वालिटी इन्डेक्स (एक्युआई) हेर्दा त आइतबार १६८ पुगेको थियो । यो सूचकांक १०० देखि माथि पुग्नु मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । स्विटजरल्यान्ड मुख्यालय रहेको आइक्यू एअर नामक संस्थाको वेबसाइटमा उल्लेख भएअनुसार आइतबार विश्वको प्रदूषित सहरको शीर्ष छैटौँमा काठमाडौं छ । बंगलादेशको ढाका पहिलो र पाकिस्तानको लाहोर दोस्रो स्थानमा छन् ।

वातावरण विभागका निरीक्षक गोविन्द लामिछाने हरेक वर्षजसो पुस–माघमा प्रदूषण उच्च तहमा पुग्ने गरेको बताउँछन् । ‘वर्षा कम भएर सुक्खा हुनुका साथै हावाको गति कम भएमा पनि काठमाडौंमा प्रदूषण धेरै हुन्छ, यस वर्ष पानी कम पर्ने भनेपछि प्रदूषण धेरै हुन सक्छ,’ वातावरण निरीक्षक लामिछानेले भने, ‘डढेलो अत्यधिक भएमा चैत–वैशाखमा पनि वायु प्रदूषण धेरै हुन्छ ।’ पछिल्लोपटक ०७७ काठमाडौंको रत्नपार्क स्टेसनमा पिएम–२.५ को मात्रा २४ घण्टामा औसत २०० र एक घण्टामा एक्युआईको मात्रा ४०० नाघेको थियो ।