१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
रासस स्वर्गद्वारी
Invalid date format १५:१९:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

पाकापुस्ताको भरमा ‘मारुनी नाच’

Read Time : > 2 मिनेट
रासस, स्वर्गद्वारी
नयाँ पत्रिका
Invalid date format १५:१९:oo

प्युठान नगरपालिका– ६ माझकोट फुर्केथुमका ७७ वर्षीय मारुनी नाचका गुरुमुखे खगे पुन वृद्धावस्थामा पनि युवाजस्तै जोसिलो पारामा मारुनी देखाउँछन्। उनको मारुनीमा विधिपूर्वक गाउने मोह युवापुस्ताको जस्तै छ। गाउँका युवालाई साथमा लिएर माझकोटसहित प्युठानका सरायँ मेलाहरूमा मारुनी देखाउन पुन अहिले पनि पुग्छन्।

पुनले आफूले जान्ने भएदेखि बाबुबाजेका साथमा मारुनी देखाउन थालेको बताए। गाउँमा अहिले फुर्केथुम मारुनी नाच तथा भैलो समूह गठन गरेर गुरुमुखेको रूपमा मारुनी प्रदर्शन गरिन्छ। पूजाआजा, गाउँमा देउसीभैलोसँगै जिल्लामा हुने सरायँ मेला, भाइटीकाको दिन हुने पुरभुरे (जेठो छोरो जन्मिँदा मगर समुदायमा तिहारमा गरिने छैटीको प्रकार), छैटी, आमन्त्रण गरिएका देवालीहरूमा मारुनी प्रदर्शन गर्ने गरेको पुनले जानकारी दिए।

‘मारुनी पछिल्लो समय संकटमा पर्दै गएको छ, युवापुस्ता वैदेशिक रोजगारी, पेसा–व्यवसाय तथा शिक्षाको सिलसिलामा गाउँबाहिर तथा विदेश जाने गरेकाले गाउन र नाच्न रहर गर्ने युवा भेटिँदैनन्,’ पुनले भने, ‘केहीलाई साथमा लिएर सिकाउने गरेका छौँ, तर उनीहरू पनि कतिवेला बिदेसिने हुन् ठेगान छैन।’ गाउँबाट टाढाटाढा नाच देखाउन जान यातायात, आभूषणको पर्याप्त व्यवस्था भए पनि युवाशक्ति नहुँदा समस्या भएको उनको भनाइ छ। पहिला आमा, दिदीबहिनीका सारी, चोलोलगायत वेशभूषा, गरगहना लगाएर नाच्ने गरिएको उनले अनुभव सुनाए।

प्युठान– ६ माझकोटनिवासी शिक्षकसमेत रहेका मादले पोषण पुनले सिँगारू (महिला वेश), पुरसुंगे (पुरुष) एक–एक र मादले दुई गरी चारजनाले नृत्य गर्ने बताए। माझकोटमा दसैँको अष्टमीमा वृद्धिकोटमा समुद्र बाँध्ने (मारुनी सुरुको प्रथम चरणमा देवदेवीको नाम पुकारी नाच्दै मारुनी सुरु गरिने), दसैँको पूर्णिमामा प्युठान– ७ बखडी, डल्लेमा मौलो मान्नका लागि ल्याइने, तिहारमा देउसीभैलो, पूजा, पुरभुरे, देवालीमा मारुनी प्रदर्शनी गर्न लगेर पुस मसान्तभित्र मारुनी विसर्जन गर्ने प्रचलन रहेको पुनले जानकारी दिए।

उनका अनुसार मारुनीमा कृष्ण चरित्र, रामायण, महाभारत, मायाप्रेमका कथा, नारीहरूको वेदना, खुसियाली, बालापन, समयअनुसारका गीत (भाले बास्ने, घाम झल्कने, दिउँसो, साँझ, राति, मध्यराति, बिहानी समय), सन्न्यासीका कुरालाई मारुनीको तालमा गाइन्छ।

‘सबै गीतहरू गाउने हो भने एक महिना लाग्छ, लिपिबद्ध छैनन्, सम्झी–सम्झी गाउनुपर्छ। युवापुस्तामा सिक्ने समय र चाहना नै छैन,’ पुनले भने, ‘खर्चिलो, बढी समय लाग्ने हुँदा नयाँ पुस्ताले चासो दिँदैनन्। परम्पराले अहिलेसम्म निरन्तरता पाउनुको कारण पुरानो पुस्ता नै हो।’

मारुनीमा सोरठी, झुमरा, चुड्का, बाटाताललगायत फरकफरक तालका नृत्य प्रस्तुत हुन्छन्। पुनका अनुसार मारुनी विसर्जन गरेपछि मादल, खाँकर, मुजुरा, बाँसुरी एक वर्ष बजाउन मिल्दैन। ‘गीत निकाल्ने मारुनीको मुख्यलाई प्युठानमा गुरमुखे भनिन्छ। ‘मारुनी’ नृत्यको मुख्य पात्र हुन्। मारुनी मादलेको तालसँगै अगाडि–पछाडि घुमेर नाच्छन्। वेशभूषामा सजिएर एकपटक मारुनी बनिसकेपछि नाचको पूरा अवधिसम्म बदलिन पाउँदैनन्। एउटा गीत पूरा नहुँदासम्म नाचिरहनुपर्छ,’ उनले भने।

पहिला पूजा, न्वारान, छैटी, देवाली, मेलामा अनिवार्यजसो मारुनी नाचिने गरेकामा पछिल्ला वर्षहरूमा युवापुस्ताको मोह नहुँदा कमै मात्रामा देखाइने गरिएको मादले पुनले बताए। ठुला सांस्कृतिक कार्यक्रम, महोत्सवमा संस्कृति जोगाउन पनि मारुनी नाच्ने गरिएको उनको भनाइ छ।

समूहमा नाच्ने व्यक्तिले गुन्यु, चोली, पटुका, गरगहना, घलेक, घाँगर, घाँगरी, मजेत्रो लगाउने चलन रहेको मारुनीका जानकार लीला पुनले बताए। मगर संस्कृति संरक्षण मञ्च गठन गरी ०७८ देखि मारुनी नाच प्रदर्शनी गरेका उनले युवापुस्ताले चासो नदिँदा यस वर्ष मारुनी देखाउन नसकिएको उल्लेख गरे।

‘तिहारको लक्ष्मीपूजाका दिनदेखि सुरु गरेर माघी पर्वलाई बिदा गर्दै मारुनी विसर्जन गर्ने चलन थियो। अहिले लामो समयसम्म खट्ने युवा भेटिएनन्,’ पुनले भने, ‘गत वर्ष नाचेका मारुनी यस वर्ष शारीरिक समस्याका कारण नाच्न सक्नुभएन।’ पहिला मारुनीका सबै विधि देखाउने गरेकामा अहिले समुदायमा सिक्ने व्यक्ति नहुँदा कहिलेकाहीँ मेला, महोत्सव तथा विविध कार्यक्रममा मात्रै सीमित बनेको उनले बताए। परम्परागत संस्कृति संरक्षणमा सरोकार भएका निकायले ध्यान नदिँदा जिल्लाका अधिकांश स्थानमा मारुनी नाच लोप हुँदै गएको जानकारहरू बताउँछन्।