मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २० मंगलबार
  • Thursday, 05 December, 2024
२o८१ कार्तिक २० मंगलबार o८:५१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सुन्दर पर्यटकीय गन्तव्य ‘जलजला’

बिदा मनाउन तथा ट्रेकिङ र हाइकिङका लागि उत्कृष्ट गन्तव्यको रूपमा परिचित बन्दै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक २० मंगलबार o८:५१:oo

रोल्पाको जलजला पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको गन्तव्य हो । पर्यटकको रोजाइमा पर्दै गएको जलजला क्षेत्रको विविध आयाम छन् । धार्मिक, प्राकृतिक तथा युद्धसँग जोडिएको यसका विविध पक्ष चाखलाग्दा छन् । रोल्पा सदरमुकाम लिबाङ, सुनछहरी गाउँपालिकाको जेल्बाङ र थबाङ गाउँपालिका गरी तीनवटा द्वारबाट प्रवेश गर्न सकिने प्रसिद्ध पर्यटकीय क्षेत्र जलजला बिदा मनाउन तथा ट्रेकिङ र हाइकिङका लागि उत्कृष्ट गन्तव्यको रूपमा परिचित बन्दै गएको छ ।

चाडपर्वकै सन्दर्भ पारेर माओवादी उपमहासचिव वर्षमान पुनको नेतृत्वमा करिब एक सयजनाको टोलीले ‘घुम्न जाऔँ जलजला पदयात्रा’ गरेको छ । सोमबार रोल्पा सदरमुकाम लिबाङबाट धबाङ–ओखरेनी हुँदै थालिएको पदयात्री टोलीमा पूर्वसभामुख ओनसरी घर्तीमगर, लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री जोखबहादुर महरा, पूर्वमन्त्री दीपेन्द्रकुमार पुन, जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सीता आचार्य, उपप्रमुख कर्मलाल परियार, स्थानीय तहका प्रमुख–उपप्रमुखहरू, प्रमुख जिल्ला अधिकारी, पत्रकार, साहित्यकारलगायतको टोली जलजला पुगेको थियो ।

तीनदिने जलजला यात्रा रोल्पा नगरपालिकाको लिबाङबाट सुरु भई सुनछहरी गाउँपालिकाको ओखरेनीमा पहिलो दिनको यात्रा समापन गरिएको थियो । लिबाङमा बिदाइ तथा धबाङको गापा र पेवामा स्थानीयको भव्य स्वागतपछि पदयात्री टोली ओखरेनी पुगेको थियो । ओखरेनीमा सुनछहरी गाउँपालिका अध्यक्ष धनबहादुर पुन नेतृत्वको टोलीले स्वागत गरेको थियो । ओखरेनी साँझमा कवि तथा साहित्यकारहरूले रचनावाचन गरेका थिए ।

ओखरेनीबाट सुरु गरिएको पदयात्रा धरमपानी हुँदै जलजला पुगेको थियो । जलजलामा थबाङ गाउँपालिका अध्यक्ष ऋषिकेशव बुढा नेतृत्वको टोलीले स्वागत गरेको थियो । पर्यटन अभियन्ता बालकुराम पुनको संयोजनमा सुनछहरी गाउँपालिकाको जेल्बाङस्थित पर्यटन प्रवद्र्धन तथा गेमी होमस्टे र थबाङस्थित थबाङ सामुदायिक होमस्टेको संयुक्त व्यवस्थापन रहेको पदयात्राका लागि रोल्पा नगरपालिका, सुनछहरी गाउँपालिका र थबाङ गाउँपालिकाले सहकार्य गरेका थिए ।

मुलुकभरका एक सय गन्तव्यमा सम्मिलित जलजलाको विकास र प्रचार–प्रसारका लागि पदयात्रा गरिएको पूर्वमन्त्री पुनले बताए । ‘जलजलालाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न यो पदयात्रा गरिएको हो,’ प्रतिनिधिसभा सदस्य पुनले भने, ‘जलजलाको विकास भएमा स्थानीय उत्पादनका वृद्धि, बजार विस्तार र रोजगारी सिर्जनामा समेत टेवा पुग्ने अपेक्षा लिएका छौँ ।’ जलजलालाई पर्यटकीय दृष्टिकोणले अझै विकास गर्न आवश्यक रहेको बताउँदै उनले त्यसका लागि पूर्वाधार निर्माणको कामलाई पनि जोड दिइएको जानकारी दिए ।

समुद्री सतहबाट करिब ३६०० मिटरको उचाइमा रहेको जलजला विशेषतः तीन किसिमले चर्चामा छ । धार्मिक हिसाबले बराह मन्दिर रहेको यहाँ आफूले मागेको पाइने धार्मिक विश्वास छ ।

पर्यटकीय हिसाबले पनि जलजलाको बहुरङ्गी रूप देख्न सकिन्छ । यहाँ करिब १४ प्रजातिका गुराँस पाइन्छ । विशेषतः सेतो गुराँसका कारण जलजलाको रूप लोभलाग्दो देखिन्छ । ४७ हेक्टर क्षेत्रफलमा फैलिएको जलजलामा घाँसेमैदान पनि छ । जलजलालाई यसअघि ‘गामा’ भनिन्थ्यो । मगर खाम भाषामा गामाको अर्थ ‘अग्लो लेकको बुकी पाटन’ भन्ने हुन्छ ।

जलजलालाई १० वर्षे जनयुद्धको प्रतीकका रूपमा पनि लिने गरिन्छ । जनयुद्धका समयमा जलजलामै रेडियो जनगणतन्त्र समेत सञ्चालन गरिएको थियो । तत्कालीन जनमुक्ति सेनाले तालिम केन्द्रको रूपमा पनि जलजलालाई उपयोग गरेको थियो ।