१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o८:o१:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सातौँ साफ महिला च्याम्पियनसिप : सावित्राले पहिलो खेल गुमाउने

फ्रान्सेली क्लब एन अभान्टले रिलिजपत्र नदिएका कारण सावित्राले भुटानविरुद्धको पहिलो खेल गुमाउने भएकी हुन्

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:o१:oo

नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले सातौँ दक्षिण एसियाली फुटबल च्याम्पियनसिप (साफ)को पहिलो खेल गुमाउने भएकी छिन् । दशरथ रंगशालामा बिहीबारदेखि साफ च्याम्पियनसिप सुरु हुँदै छ । नेपालले आफ्नो पहिलो खेल शुक्रबार भुटानसँग खेल्दै छ । फ्रान्सेली क्लब एन अभान्ट ग्वेंगाम्पमा आबद्ध सावित्राले रिलिजपत्र पाएकी छैनन् । जसका कारण उनले साफको पहिलो खेल गुमाउने नेपालका प्रशिक्षक राजेन्द्र तामाङले बताएका छन् । 

‘सावित्रालाई क्लबले लिग खेल राख्ने निर्णय लिएपछि उनी आउन नपाउने भएकी हुन्,’ तामाङले भने । नेपाल र भुटानबिचको खेल फिफाको अन्तर्राष्ट्रिय विन्डोभन्दा बाहिर रहेकाले पनि सावित्राले खेल गुमाउने भएकी हुन् । फिफाको अन्तर्राष्ट्रिय विन्डो दिनमा क्लबले खेलाडीलाई रिलिज गर्नुपर्छ । तर, विन्डो दिनमा अन्तर्राष्ट्रिय खेल नहुँदा क्लबले खेलाडीलाई रिजिल गर्ने वा नगर्ने अधिकार उनीहरूसँगै हुने गर्छ । 

फ्रेन्च क्लब अभान्टले फिफा डेमा खेल नभएका कारण पनि उनलाई रिलिज नगरेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सावित्रालाई चाँडै फुकुवा गर्न आग्रह गरेको प्रवक्ता सुरेश शाहले बताए । ‘हामीले टोलीकै महŒवपूर्ण खेलाडी सावित्रालाई चाँडै फुकुवा गर्न फ्रेन्च क्लबलाई आग्रह गरेका छौँ,’ उनले भने । सावित्रा आबद्ध अभान्टले आगामी शनिबार ग्वेंगाम्पले स्ट्रासबर्गको सामना गर्दै छ । 

 रेखाले भुटानविरुद्ध खेल्ने
सावित्रालाई क्लबले रिलिज गरेको पृष्ठभूमिमा नेपालकी अर्की खेलाडी रेखा पौडेलले भने पहिलो खेलमा भुटानविरुद्ध खेल्ने भएकी छिन् । अबुधाबी कन्ट्री क्लबमा आबद्ध रहेकी रेखाले रिलिजपत्र पाएसँगै मंगलबार स्वदेश फर्केकी छिन् । रेखा र रश्मि घिसिङले नेपालको फिनिसिङ सम्हाल्ने छिन् । नेपालका प्रशिक्षक तामाङले साफ च्याम्पियनसिपका लागि तयारी पूरा भएको बताएका छन् । ‘हामीले राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई सम्मिलित गरी टोली तयार गरेका छौँ,’ तामाङले भने, ‘फिनिसिङमा रेखा र रश्मिले सम्ल्हाने छिन् ।’ २३ सदस्यीय नेपाली राष्ट्रिय महिला टोली बन्द प्रशिक्षणमा रहेको छ ।

 सातै राष्ट्र सहभागी 
आयोजक एन्फाले सातौँ संस्करणको तयारी पूरा भएको जनाएको छ । १ देखि १४ कात्तिकसम्म प्रतियोगिता दशरथ रंगशालामा हुनेछ । प्रतियोगितामा सहभागी टोलीलाई एन्फा कम्प्लेक्सको खेल मैदान, नेपाली सेनाको भद्रकाली र लगनखेल खेल मैदान तथा सेन्ट जेभियर्सको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको प्रवक्ता शाहले बताए । प्रतियोगितामा नेपालसँगै माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेश गरी सात टोलीले सहभागिता जनाउँदै छन् । यसअघि पाकिस्तानले प्रतियोगितामा भाग लिने वा नलिने निर्णय गरेको थिएन । प्रतियोगितामा सहभागी हुन पाकिस्तानसँगै माल्दिभ्स र बंगलादेश आइसकेका छन् । भारत र भुटानका टोली बुधबारसम्म आइपुग्ने शाहले मंगलबार आयोजित पत्रकार सम्मेलनमा बताए ।

खेलाडीको मनोबल उच्च छ
अन्जिला तुम्बापो सुब्बा कप्तान, नेपाल

अहिले साफ च्याम्पियनसिपमा खेलाडीहरूको मनोबल उच्च छ । सबैबाट प्राप्त सहयोगले खेलाडी उत्साहित छन् । यसपटक उपाधिका लागि सक्षम छौँ । अहिले टिमवर्क पहिलाको भन्दा राम्रो छ । यस टोलीबाट सकारात्मक नतिजा आउँछ भन्ने विश्वास छ । नेपालको स्ट्राइकर र मिडफिल्डर निकै राम्रो छ । डिफेन्समा काम गरिरहेका छौँ । भर्खरै महिला लिग सकिएको छ । सबै खेलाडी लिगमा व्यस्त भए । लगातार दुई साता प्रशिक्षण गरेका छौँ । हाम्रो तयारी राम्रो छ । घरेलु मैदानमा समर्थकको पनि समर्थन राम्रो रहेको छ । यसले खेलाडीको मनोबल बढाउँछ ।

दशरथ रंगशाला तयार
साफ महिला च्याम्पियनसिप आयोजनाका लागि दशरथ रंगशाला तयार भएको छ । एन्फाले मंगलबार प्रतियोगिताका लागि रंगशाला तयार रहेको जानकारी दिएको छ । ‘साफ प्रतियोगिता आयोजना गर्न रंगशाला पूर्ण रूपले तयार भएको छ,’ एन्फाका प्रतियोगिता निर्देशक सञ्जीव मिश्रले भने, ‘म्याच कमिस्नरले यहाँ प्रतियोगिता आयोजना गर्न मिल्ने अनुमति दिएका छन् ।’ 

प्रतियोगितामा नेपालसँगै दक्षिण एसियाका सातै देश माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेशले सहभागिता जनाउँदै छन् । ‘यसअघि एएफसीको प्रतियोगिताअन्तर्गत चर्च ब्वाइज युनाइटेड र पारो एफसिबिचको खेलका दौरान मैदानमा देखिएको कमजोरीले साफमा पनि त्यस्तै हुन्छ भन्ने धेरैको चिन्ता थियो । तर, यसपटक प्रतियोगिताका निम्ति मैदानलाई उत्कृष्ट रूपमा तयार पारिएको छ,’ मिश्रले भने, ‘अब मैदानमा त्यस्तो हुँदैन भन्ने विश्वास छ ।’ 

च्याम्पियनसिपका लागि चार करोड ६० हजार आठ सय रुपैयाँ खर्च हुने प्रवक्ता शाहले बताए । च्याम्पियनसिपमा सहभागी सात टोली दुई समूहमा विभाजन गरिएको छ । जसअनुसार साबिक विजेता बंगलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’मा छन् । समूह ‘बी’मा नेपालसँगै भुटान, श्रीलंका र माल्दिभ्स छन् । प्रतियोगिताको उद्घाटन खेलमा भारत र पाकिस्तान प्रतिस्पर्धा गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा २ कात्तिकमा भुटानसँग खेल्नेछ । यस्तै, दोस्रो खेलमा ६ कात्तिकमा माल्दिभ्स र तेस्रो खेलमा ८ कात्तिकमा श्रीलंकासँग खेल्नेछ । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । फाइनल खेल १४ कात्तिकमा हुनेछ ।