१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २२ मंगलबार
  • Monday, 21 April, 2025
डा. विनोद पौडेल
२o८१ असोज २२ मंगलबार १o:२१:oo
Read Time : > 1 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

वैदेशिक रोजगारीमा जाने युवालाई सुझाव

Read Time : > 1 मिनेट
डा. विनोद पौडेल
नयाँ पत्रिका
२o८१ असोज २२ मंगलबार १o:२१:oo

नेपालमा मेडिकल गरेर स्वस्थ प्रमाणित भई कामदारका रूपमा विदेश गएका नेपाली युवाको मृत्युको आँकडा भयावह देखिन्छ

दाङका ४३ वर्षीय रूपलाल चौधरीको चार वर्ष मलेसियामा काम गरेर घर फर्कने वेलामा मलेसियाकै एयरपोर्टमा अचानक मृत्यु । दक्षिण कोरियामा कामदारका रूपमा गएका खोटाङका ३२ वर्षीय कल्याण राईको राति सुतेको अवस्थामा निधन । यस्ता अकल्पनीय समाचार पछिल्ला दिनमा सामान्य बन्दै गएका देखिन्छन् । यसरी नेपालमा मेडिकल गरेर स्वस्थ प्रमाणित भई कामदारका रूपमा विदेश गएका नेपाली युवाको मृत्युको आँकडा भयावह देखिन्छ । विगत १० वर्षमा १० हजारभन्दा बढी नेपाली कामदारको मृत्यु वैदेशिक रोजगारीका क्रममा भएको तथ्यांक भेटिन्छ । यसरी हेर्दा प्रत्येक दिन लगभग तीनजनाको मृत्यु वैदेशिक रोजगारीका क्रममा भइरहेको र वैदेशिक रोजगारीका लागि नेपाली युवा बिदेसिने क्रम बढेसँगै यो संख्या अझ बढ्ने निश्चितजस्तै देखिन्छ ।

नियमित काम गरिरहेका र कुनै स्वास्थ्य समस्या नभएका कामदार सुतेको अवस्थामै मृत भेटिने गरेका छन् । जसलाई मेडिकल भाषामा ‘नोक्टर्नल डेथ’ भनिन्छ । सुतेको वेला वा अन्य अवस्थामा अचानक मृत्यु हुने कारणमा ‘हार्ट अट्याक’ (मुटुलाई रगत प्रवाह गर्ने रक्तनलीमा बोसो जम्ने र मुटुमैै रगतको कमी हुने अवस्था), कार्डियाक एरेस्ट (अचानक मुटुले काम गर्न बन्द गरेको अवस्था), स्ट्रोक (मस्तिष्कघात) र सिजर (छारे रोग) मुख्य रहेका छन् ।

यसरी स्वस्थ मानिस सुतेको र अचानक मृत्युको सम्भावना बढी हुने अवस्थामा अनियन्त्रित उच्च रक्तचाप, मुटुरोग, अनियन्त्रित मधुमेह, अत्यधिक मोटोपन देखिनु, अनियमित र अत्यधिक रक्सी सेवन गर्नु, रगतमा बोसोको मात्रा बढेको अवस्था हुनु, अत्यधिक परिश्रम गर्नु वा परिश्रम नै नगर्नु, लागुऔषध दुव्र्यसनमा फस्नु आदि कारण देखिन्छन् ।

विदेशमा रहेका नेपाली कामदारको स्वास्थ्यमा प्रतिकूल असर पार्ने सम्भावित कारण निम्न देखिन्छन् : १. हरिया सागपात, फलफूलभन्दा माछामासु सस्तो हुने र नेपालीले माछामासुलाई अन्य खानेकुराभन्दा पौष्टिक आहारका रूपमा लिनु । २. पानीको सट्टामा पनि क्यालोरी र क्याफिन बढी भएका पेयपदार्थको प्रयोग अत्यधिक गर्नु । ३. अनियमित र अत्यधिक रक्सी सेवन गर्नु । ४. कुनै स्वास्थ्य समस्या देखिएमा भाषागत कारण वा हेलचेक्य्राइँ गरी परीक्षणका लागि चिकित्सककहाँ नजानु । ५. अत्यधिक गर्मी अथवा अत्यधिक चिसोमा असुरक्षित तरिकाले काम गर्नु । ६. अत्यधिक परिश्रम, आरामको कमी तथा तनावको सही व्यवस्थापन गर्न नसक्नु ।

वैदेशिक रोजगारीमा रहेकाहरूका लागि महत्वपूर्ण केही १० सुझाव : १. धेरैजसो मृत्यु सुतेको अवस्थामा भएको देखिनाले बेलुकाको समयमा मुटुको धड्कनमा परिवर्तन गराउन सक्ने केही कार्यबाट बच्नुहोस् । जस्तै : बेलुकाको खाना हल्का र सजिलै पच्ने खालको रोज्नुहोस् । बेलुकाको खानामा माछामासु, भुटेको या तारेको खानेकुराको कम प्रयोग गर्नुहोस् । बेलुकाको खाना खाएको कम्तीमा एक घण्टापछि मात्र सुत्ने प्रयत्न गर्नुहोस् । २. अत्यधिक चिया, कफी खाने बानी छ भने कम गर्नुहोस् । ३. अनियमित र अत्यधिक रक्सीको सेवन नगर्नुहोस् । ४. खानामा प्रशस्त तरकारी, फलफूल, हरियो सागपातलाई समावेश गर्नुहोस् । ५. कोक, फेन्टाजस्ता क्याफिनयुक्त चिसो पेयपदार्थको प्रयोग घटाउनुहोस् । ६. धूम्रपान र सुर्तीजन्य पदार्थको प्रयोग गर्दै नगर्नुहोस् । ७. नियमित व्यायाम गर्नुहोस् र शरीरको वजनलाई सामान्य राख्नुहोस् । शरीरको वजन बढी छ भने कम क्यालोरी भएका खानेकुरा खानुहोस् । व्यायाम गरेर सामान्य ओजनमा आउने प्रयास गर्नुहोस् । ८. चक्कर लाग्ने, सास फेर्न गाह्रो हुने र छाती दुख्नेजस्ता लक्षण छन् भने तुरुन्तै चिकित्सकसँग परामर्श गर्नुहोस् । ९. रगतमा बोसोको मात्रा बढी छ भने खानपान र व्यायामको माध्यमबाट त्यसलाई घटाउनुहोस् । १०. उच्च रक्तचापमा रगतमा चिनीको मात्रा बढेको अवस्था खतरनाक हुने हुनाले खानपिन र जीवनशैली परिवर्तन गरी नियन्त्रण गर्नुहोस् र आवश्यक परे चिकित्सकको सल्लाहमा नियमित औषधिको सेवन गर्नुहोस् । 

(पौडेल सामुदायिक प्राकृतिक चिकित्सालय, रजहर, नवलपुरका निर्देशक हुन्)