मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८१ असोज १८ शुक्रबार
  • Wednesday, 16 July, 2025
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८१ असोज १८ शुक्रबार १३:५३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भोटेकोशीमा ह्युमपाइप राख्ने काममा इन्धन अभाव 

खर्च व्यहोर्ने निकायको समस्या 

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ असोज १८ शुक्रबार १३:५३:oo

गत १२ गते लार्चास्थित भोटेकोशी नदीको बेलिब्रिज बाढीले बगायो। भोलिपल्टदेखि नै भोटेकोशी वडा नं. ३ का वडाध्यक्ष निमासोना शेर्पा निजी डोजर लिएर नदीकिनारमा गए। स्थानीय युवाको साथमा ह्युमपाइप राख्ने योजना बन्यो र काम सुरु गरियो। 

जिल्लास्थित १ र २ नम्बर निर्वाचन क्षेत्रका संघीय सांसद माधव सापकोटा  र मोहनबहादुर बस्नेत पनि स्थलगत निरीक्षणमा गएर परिस्थिति बुझेका छन् । सीमामा व्यापार गर्ने संघसंस्था र व्यक्ति पुगे, हाइड्रोपावर कम्पनीका प्रतिनिधि पुगेका छन् र सडक डिभिजन कार्यालय चरिकोटको दुईवटा डोजर पुर्‍याइएको छ।

‘दिनभर काम गर्‍याे रातभर परेको पानीले फेरि बिगार्छ,’ ह्युमपाइप राख्ने कामले अझै आकार लिन नसकेको बताउँदै वडाध्यक्ष शेर्पाले भने, ‘एक्स्काभेटर चलाउन इन्धनकै अभाव छ, अरू कुरा के गर्नु ?’ केन्द्रीय सरकारले पुल हाल्नेबारे नबोलेकोले यहाँ भएको खर्च पनि कसले व्यहोर्ने टुंगो छैन । 

ह्युमपाइप राख्ने कामका लागि लार्चामा सडक डिभिजनको दुई, निजी दुई र मध्यभोटेकोशीको एक गरी पाँच डोजर प्रयोगमा छन् । मध्यभोटेकोशीकै एउटा लोडर काममा प्रयोग भएको छ । हालसम्म सडक डिभिजनले एक हजार, इलेक्ट्रो हाइड्रोपावरले एक हजार र हिमरिभर हाइड्रोपावरले दुई ड्रम डिजेल उपलब्ध गराएको शेर्पाले जानकारी दिए।

पहिरो पन्छाउन र ह्युमपाइप राख्न भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पा र वडा नं. २ का अध्यक्ष कुमार श्रेष्ठ पनि दिनभर खटिएका छन्। डोजरलाई  आवश्यक इन्धन, काम गर्ने मजदुरको ज्याला र उपकरण कहाँबाट कसरी ल्याउने राज्य बेखबर रहेको जनप्रतिनिधिहरूले दुःखेसो पोखेका छन्।

अन्तर्राष्ट्रिय राजमार्ग हो कोदारी। तैपनि राज्यको कुनै निकायले निश्चित योजना नबनाएपछि स्थानीय सरकारका जनप्रतिनिधि र व्यापारिक संघसंस्था मिलेर काम गरिरहेको शेर्पाले बताए। लार्चामा ह्युमपाइप हाल्न सके लिपिङखोलामा ह्युमपाइप र कोदारी इको रिसोर्टको पहिरोमा नयाँ ट्रयाक बनाउन दुई दिन मात्रै लाग्ने अनुमान गरिएको छ । तर, लार्चामा ह्युमपाइप बिच्छ्याएर काम गर्न कठिन परेको छ। 

वर्षा नरोकिएकाले काम गर्न सकिएको छैन। बोक्चेन जाने सडकमा नयाँ बेलिब्रिज हालेकाले त्यहाँ स्टक रहेको ह्युमपाइप लार्चामा सेट गर्न लागिएको हो। तर, जम्मा चार सेट मात्रै भएकाले काम अधुरै रहने अवस्था छ। हालका लागि फड्के र तुइनबाट मानिस आवतजावत गरिरहेका छन् । नेपालपट्टि अलपत्र परेका केही कन्टेनरमा रहेको फलफूलसमेत मानिसले बोकेर भन्सार ल्याउन सक्ने अवस्था छैन।

कोदारीस्थित इकोरिसोर्टमा करिब तीन सय मिटर सडक पहिरोले पुरेकाले नयाँ ट्रयाक बनाउनुपर्छ । नेपाली सेना, सशस्त्र र जनपथ प्रहरीको टोलीले ठाउँठाउँमा अवरुद्ध सडक खुलाउने काम गरिरहेको छ। अरनिको राजमार्ग बन्देउदेखि बाह्रबिसेसम्म एकतर्फी सडक खुलेको छ। बाह्रबिसेदेखि तातोपानीसम्मको २६ किलोमिटर कोदारी राजमार्ग हालसम्म बन्द रहेको छ ।