१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
Invalid date format २२:४८:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार

घर फर्कने नेपालीसँग नाकामा पैसा असुल्दै भारतीय भन्सार कर्मचारी

सामान ल्याएको बहानामा जबर्जस्ती प्रतिव्यक्ति दुई–तीन सयसम्म असुल्ने गरेको नेपालीको गुनासो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format २२:४८:oo

दसैँ मनाउन भारतको बैंग्लोरबाट स्वदेश फर्कंदै गरेका दार्चुलाको खलंगाका सुरज धामीले गौरीफन्टा नाका पार गर्नुअघि भारतीय भन्सार कर्मचारीलाई भारु सय बुझाउनुप¥यो । सामान ल्याएको बहानामा भारतीय भन्सार कर्मचारीले धामीसँग जबर्जस्ती पैसा असुल गरेका हुन् ।

‘घरपरिवारलाई अलिअलि कपडा ल्याएको थिएँ, सामान हेरेजस्तो गरेर पैसा मागे,’ बिहीबार बिहान नाकामा भेटिएका धामीले भने, ‘दिन्न भन्दा मानेनन्, घर फर्कने वेला के विवाद गर्नु भनेर सय भारु दिएर आएँ ।’ बैंग्लोरमा होटेलमा काम गर्ने उनी दसैँ मनाउन एक वर्षपछि घर फर्कन लागेका हुन् । 

डोटीको बोग्टान–फुड्सिल गाउँपालिका पोखरीका प्रेम कठायतले पनि गौरीफन्टामा भारतीय कर्मचारीलाई सय भारु बुझाए । भारतको महाराष्ट्र कोलापुरमा चिनियाँ होटेलमा काम गर्ने उनी दसैँ मनाउनकै लागि बिदा लिएर स्वदेश फर्केका हुन् । नाकामै भेटिएका उनले सामान ल्याएको बहानामा नाकामा खटिएका भारतीयले जबर्जस्ती पैसा असुलेको गुनासो गरे ।

‘घरमा बालबच्चाका लागि कपडा ल्याएको थिएँ, भित्र बोलाएर सामान हेरेपछि दुई सय रुयैयाँ मागे,’ नाकावारि सशस्त्र प्रहरीको सहायता कक्षमा आफ्नो नाम टिपाइरहेका कठायतले भने, ‘पैसा दिन्न भन्दा घर जाने मन छ कि छैन भन्न थाले, सय रुपैयाँ दिएर आएँ ।’ कठायतसँगै पोखरीका नौजना सँगै फर्कन लागेका थिए । आफूहरू सबैले सय–सय रुपैयाँ तिरेर आएको उनले बताए । ‘अर्काको देशमा दुःख गरेर आउँछौँ, बाटोमा यसरी जबर्जस्ती पैसा असुल्दा नराम्रो लाग्छ,’ कठायतले भने ।

दसैँ सुरु भएसँगै गौरीफन्टा नाकामा भारतबाट फर्कने नेपाली कामदारको घुइँचो लागेको छ । नाकामा बिहीबार बिहानैबाट घर फर्कनेको घुइँचो थियो । भारतमा काम गरेर दसैँ मनाउन घर फर्किरहेका नेपालीसँग नाकामा भारतीय भन्सार कर्मचारीले जबर्जस्ती पैसा असुल्न थालेका हुन् । पैसा नदिए उनीहरूले सामान जफत गर्ने, थुनेर राख्ने भनेर डराउने गरेको घर फर्कने नेपालीको गुनासो छ । सामान हेरेर प्रतिव्यक्ति दुई–तीन सयसम्म असुल्ने गरेको बुझिएको छ । 

गौरीफन्टा नाकामा सडकछेउमै भारतीय भन्सार कर्मचारी बस्ने खोका छ । त्यहाँ सामान चेकजाँचका नाममा घर फर्कने नेपालीसँग पैसा असुल्ने गरिन्छ । त्यसको केही मिटरवर भारतीय सीमा सुरक्षा बल एसएसबीले पनि सामान चेकजाँच गर्ने गर्छन् । 

‘भित्र बोलाएर सामान चेक गरेपछि पैसा मागे, केका लागि पैसा दिने भनेर प्रतिवाद गर्न खोज्यौँ,’ गौरीफन्टा नाका भएर बिहीबार घर फर्किरहेका सुर्खेतको पञ्चपुरी नगरपालिका बाबियाचौरका मदनबहादुर गुरुङले भने, ‘जाने मन भए देऊ भन्न थाले, के झगडा गर्नु भनेर पैसा तिरेर आयौँ ।’ गुरुङसहित बाबियाचौरका ६ जना सँगै फर्कंदै थिए । पैसा नदिए रोकेर राख्लान् भन्ने डरले ५० देखि सय रुपैयाँसम्म तिरेर आएको त्यही समूहमा रहेका सन्तोष रानामगरले बताए ।

वारि नाकामै सशस्त्र प्रहरीको पोस्ट छ । चाडपर्वलाई लक्षित गरेर सशस्त्र प्रहरी र नेपाल प्रहरीले सीमामा नागरिक सहायता कक्ष पनि सञ्चालनमा ल्याएका छन् । ‘पारि नेपालीसँग पैसा असुल्छन् भन्ने थाहा छ, तर हामीले चाहेर रोक्न सक्ने अवस्था छैन,’ नाकामा खटिएका एक सुरक्षाकर्मीले भने, ‘अलि भनसुन गर्न सक्ने, टाढाबाठा पैसा नतिरेर पनि आउँछन्, सोझासाझालाई डर–त्रास देखाएर पैसा असुलिरहेका छन् ।’ 

सशस्त्र प्रहरी ३४ नम्बर गण धनगढीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेयले नाकामा घर फर्किरहेका नेपालीसँग पैसा असुल्ने गरेको बुझिएपछि यसबारे आफूले भारतीय अधिकारीसँग कुरा गरेको बताएका छन् । भारतीय भन्सार र वनका कर्मचारीले पैसा असुल्ने गरेको गुनासो आएको उनले बताए ।
‘पैसा असुल्ने गरेको सुनिएपछि त्यसलाई रोक्न आफैँ गएर भारतीय भन्सारका कर्मचारीसँग कुरा गरेको छु,’ सशस्त्र प्रहरी उपरीक्षक पाण्डेयले भने, ‘मंगलबार भएको काउन्टरपार्ट मिटिङमा पनि यो कुरा गम्भीरताका साथ उठाएका छौँ ।’ सो बैठकपछि अहिले पैसा असुल्ने कार्य घटेको बुझिएको उनले बताए । रोजगारीका लागि गएकाहरू फर्कने क्रममा केही सामान लिएर आउने र सामान ल्याएको नाममा पैसा असुल्ने कार्य रोक्न भारतीय अधिकारीको ध्यानाकर्षण गराइएको सशस्त्र प्रहरीले जनाएको छ ।

नाकामा आवागमन सहज बनाउन सहायता कक्षसँगै गणबाट नाकामा छुट्टै टोलीसमेत परिचालन गरिएको पाण्डेयले जानकारी दिए । ‘सामान पार गराइदिनेलगायत विभिन्न किसिमले नेपालीबाटै पनि भारतबाट फर्कनेलाई ठग्ने कार्य नहोस् भनेर छुट्टै टोली परिचालन गरिएको छ,’ उनले भने, ‘चाडबाडका वेला भारतबाट फर्कनेको भिड हुन्छ, उनीहरूलाई कसरी सहज गर्ने भनेर प्रयास गरिरहेका छौँ ।’ दसैँ, तिहारजस्ता ठूला चाडबाडको समयमा भारतबाट फर्कनेको नाकामा घुइँचो लाग्ने गरेको छ ।