यस प्रकारको वर्षा होला, यस प्रकारको पहिरो जाला, यस प्रकारको भौतिक संरचनाको क्षति होला, यस प्रकारको मानवीय क्षति होला भन्ने अनुमान थिएन । सरकारले प्राकृतिक विपत्तिका लागि गरेको पूर्वतयारी यस प्रकारको भन्दा अलि कमै प्रकारको हुन्थ्यो । विगतमा सधैँ र यसपटक पनि त्यस प्रकारकै थियो । तर, ठुलै विपत्ति आइलाग्यो । विपत्ति कत्रो आउँछ भनेर भन्न सकिँदैन ।
प्रधानमन्त्री केपी ओलीले विपत्तिका लागि सरकारको पूर्वतयारीमा देखिएको कमजोरीले ठुलो क्षति भएको स्वीकार गरेका छन् । विगतमा अहिलेकै जस्तो वर्षा, बाढी र पहिरोले ठुलो विपत्को अवस्था सिर्जना नगरेका कारण पनि सरकारले आवश्यक सतर्कतासहित गम्भीरतापूर्वक पूर्वतयारी नगरेको भन्दै प्रधानमन्त्री ओलीले कमजोरी स्वीकार गरेका हुन् ।
‘हाम्रो तयारी यस प्रकार (शुक्रबार–शनिबारको बाढीपहिरो)को परिस्थितिका लागि थिएन । हाम्रो मानसिकता त्यस्तो थिएन । यहाँहरू आफैँले पनि भन्न सक्नुहुन्छ– यस प्रकारको वर्षा होला, यस प्रकारको पहिरो जाला, यस प्रकारको भौतिक संरचनाको क्षति होला, यस प्रकारको मानवीय क्षति होला भन्ने अनुमान थिएन,’ प्रधानमन्त्री ओलीले मंगलबार प्रधानमन्त्री कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘सरकारले प्राकृतिक विपत्तिका लागि गरेको पूर्वतयारी यस प्रकारको भन्दा अलि कमै प्रकारको हुन्थ्यो । विगतमा सधैँ र यसपटक पनि त्यस प्रकारकै थियो । तर, ठुलै विपत्ति आइलाग्यो । विपत्ति कत्रो आउँछ भनेर भन्न सकिँदैन ।’
प्रधानमन्त्री ओलीले सरकारको पूर्वतयारीभन्दा ठुलो मात्रामा विपत् आएकाले उद्धार र खोजमा कमी–कमजोरी भएको हुन सक्ने, तर आगामी दिनमा सच्याउने प्रतिबद्धता जनाए । राज्य र समाजसँग भएका स्रोत–साधनको सक्दो उपयोग गर्नुपर्ने उनको भनाइ थियो । तर, विपत्पछि उद्धार, राहत र पुनर्स्थापनाको काम प्रभावकारी रूपमा सञ्चालन भएको सरकारको दाबी छ । बाढीपहिरो तथा डुबानका कारण मृत्यु एवं बेपत्ता भएका व्यक्तिका घरपरिवारलाई राहत रकम वितरण गर्ने कार्य प्रारम्भ भैसकेको प्रधानमन्त्रीले बताए । विपत् प्रभावित व्यक्तिहरूको खोज, उद्धारको कार्य दुई दिनभित्र सम्पन्न गरिने प्रतिबद्धता प्रधानमन्त्रीले व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीले बाढी, पहिरो र डुबानका कारण जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न सबैमा आह्वान पनि गरेका छन् । ‘यो सरकारको मात्रै होइन, सिंगोे समाजको दुःखको विषय हो । हामी सबै विपत्का घटनाबाट दुःखी छौँ । प्रधानमन्त्रीले भने, ‘कतिपय संरचनागत त्रुटिका कारण पनि क्षति भएको छ । आगामी दिनमा संरचना निर्माण गर्दा विपत्को सामना गर्न सक्ने र दीर्घकालीन रूपमा सबल संरचना बनाइनेछ ।’
त्यस्तै, उद्धार गरिएका र सुरक्षित स्थलमा राखिएका व्यक्तिहरूलाई सुरक्षित घरफिर्तीको व्यवस्था तत्काल गरिने तथा राहत वितरण कार्य एकद्वार प्रणालीबाट निरन्तरता दिइने र घरवास गुमाएका परिवारलाई अस्थायी आवास निर्माणका लागि तत्कालै अनुदान रकम वितरण गरिने प्रतिबद्धता प्रधानमन्त्रीले जनाए । त्यस्तै, घाइतेहरूको नि:शुल्क उपचारको प्रबन्ध र विपत्पश्चात् फैलिन सक्ने सम्भावित रोगहरूको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक तयारीका काम अगाडि बढेको प्रधानमन्त्रीको भनाइ छ ।
सरकारले अवरुद्ध तथा क्षतिग्रस्त खानेपानी संरचनाको तत्काल मर्मत–सम्भार गरी खानेपानी प्रणालीलाई पुनर्स्थापना गर्ने तथा बाढीपहिरोबाट अवरुद्ध मुलुकभरका रणनीतिक सडकलाई थप तदारुकताका साथ यथाशीघ्र सुचारु गर्ने प्रतिबद्धता पनि प्रधानमन्त्रीले व्यक्त गरेका छन् । ‘यसका लागि पहिरोबाट अवरुद्ध सडक खोल्ने तथा पुल बगेका महत्वपूर्ण सडकमा बेलिब्रिज जडान गरिनेछ । सम्भाव्यताका आधारमा कजवे, डाइभर्सनजस्ता वैकल्पिक माध्यमबाट तत्काल यातायात सुचारु गर्ने प्रबन्ध गरिनेछ,’ विज्ञप्तिमा छ ।
त्यस्तै, सरकारले जलविद्युत् उत्पादन अवरुद्ध भएका विद्युत् गृह पुनः सञ्चालन र क्षतिग्रस्त विद्युत् प्रसारण लाइनका संरचनाको इमर्जेन्सी रेस्टोरेसन टावरमार्फत प्रतिस्थापन गर्ने बताएको छ । अत्यावश्यक वस्तुको कृत्रिम अभाव, मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्न निजी क्षेत्रसमेतको समन्वयमा बजार अनुगमन र नियमन प्रभावकारी बनाइने सरकारले बताएको छ ।
त्यस्तै, चाडबाडका लागि निजी क्षेत्रका सम्बद्ध व्यवसायीसँग समन्वय गरी सुरक्षित र भरपर्दो यातायात व्यवस्था मिलाउने, मानव बस्ती, पूर्वाधार, कृषिबाली तथा पशुपन्छीमा भएको क्षतिको प्रारम्भिक लेखाजोखा एक महिनाभित्र सम्पन्न गरी जनजीवनलाई सामान्य बनाउन प्रदेश तथा स्थानीय तहसँग समेत समन्वय गरी आवश्यक कार्य सम्पन्न गरिने प्रतिबद्धता पनि विज्ञप्तिमा उल्लेख छ ।
‘कानुनअनुसार सहकारीपीडितको रकम फिर्ता हुन्छ’
प्रधानमन्त्री ओलीले कानुनअनुसार सहकारीपीडितको रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन् । सहकारीपीडितको समस्या समाधानका लागि सरकारले प्रयास अगाडि बढाएको पनि उनले बताए । ‘सहकारीको रकम यसरी उडाएको छ, त्यो रकम फिर्ता नहुने पनि हुन सक्छ । कतिसम्म रकम फिर्ता गर्न सकिन्छ, कति असुलउपर गर्न सकिन्छ, केके प्रक्रियाबाट जान सकिन्छ भन्ने कुरा हामीले कानुन पनि हेर्नुपर्यो, त्यसअनुसार अघि बढ्छौँ ।’ प्रधानमन्त्रीले भने ।
करिब १७ अर्ब क्षतिको प्रारम्भिक अनुमान
- बाढीपहिरोबाट २१ जिल्ला प्रभावित । काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौं, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर अति प्रभावित ।
- २२४ को मृत्यु, २४ बेपत्ता, १५८ घाइते । उच्च जोखिममा रहेका चार हजार ३३१ को उद्धार ।
- प्रारम्भिक आकलनअनुसार खानेपानीतर्फ तीन अर्ब ५५ करोड, सडक संरचनामा दुई अर्ब ५२ करोड, ऊर्जातर्फ चार अर्ब र सिँचाइतर्फ एक अर्बको क्षति ।
- ३७ राजमार्ग अवरुद्ध, अवरोध हटाएर ९ राजमार्ग सञ्चालनमा ।
- कुल ६६७.९३ मेगावाट जडित विद्युत् क्षमताको १६ जलविद्युत् आयोजना, ११३९.१९ मेगावाट विद्युत् क्षमताका १८ वटा निर्माणाधीन जलविद्युत् आयोजना र ५ वटा प्रमुख प्रसारण टावरमा क्षति ।
- नेपाल दूरसञ्चारको ३१२ साइटमा क्षति ।
- कृषि तथा पशुपन्छीतर्फ ६ अर्बको क्षतिको प्रारम्भिक अनुमान ।
- खोज तथा उद्धार कार्यमा ३० हजार ७३१ जना सुरक्षाकर्मी परिचालन र उद्धारका लागि हेलिकोप्टरको पनि प्रयोग ।