१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 25 June, 2025
डा. राधिका बुढ्थापा
Invalid date format o८:o३:oo
Read Time : > 4 मिनेट
Read Time : > 4 मिनेट
डा. राधिका बुढ्थापा
नयाँ पत्रिका
Invalid date format o८:o३:oo

तिजलगायत सम्पूर्ण चाडपर्व सामाजिक एकतालाई बलियो बनाउने र समाजसँग एक–अर्कालाई बलियोसँग जोड्ने भरपर्दो माध्यम बन्न सक्नुपर्छ

नेपाली बृहत् शब्दकोशमा तिजको अर्थ नारीहरूले सौभाग्य र समृद्धिका निम्ति धार्मिक परम्पराअनुसार शिवपार्वतीको उपासना र पूजा गर्ने, भाद्र शुक्ल तृतीयाको दिन, हरितालिका अर्थात् तिज हो भनेर परिभाषित गरिएको छ । हिन्दु धार्मिक ग्रन्थमा हिमालयपुत्री पार्वतीले महादेव पति पाऊँ भनी अत्यन्त कठिन तपस्या गरेपछि महादेव प्रसन्न हुँदा भाद्र शुक्ल तृतीयाको दिन दुवैको विवाह भएको मानिन्छ । सोही तिथिदेखि नै हिन्दु नारीले यस दिनलाई उत्सवका रूपमा मनाउन थालेको विश्वास गरिन्छ । जहाँ जे लेखिए पनि तिजलाई महिलाले धार्मिक मात्र नभई रमाइलो पर्वको रूपमा समेत लिने भएकाले सबैजसो हिन्दु महिलाले यस पर्वलाई निकै महत्व दिन्छन् । हिन्दु महिला मात्र नभई यो चाड हालका दिनमा अन्य धर्म र जातजातिका नेपाली महिलाले पनि हर्षोल्लाससाथ मनाउने गरेको देखिन्छ । यो चाड नेपालभरि, नेपालीको बसोवास भएका विश्वका अन्य कैयौँ देश र भारतका केही स्थानमा पनि मनाउने गरिन्छ । मूलतः अविवाहित महिलाको आफूले चाहेजस्तो सुशील र सुयोग्य वरसँग विवाह होस् भन्ने चाहनासँग पनि जोडिएको छ । 

विवाह प्रथाको सुरुवात हुनाको कारण : प्रख्यात इतिहासकार तथा समाजशास्त्री युवल नोह हरारीले आफ्नोे एउटा पुस्तकमा करिब ७५ हजार वर्षपूर्वदेखि महिला र पुरुष सँगै बस्दै आएको बताएका छन् । त्यस समयमा मानिस आआफ्नो कबिलामा बस्थे, बच्चा जन्माउँथे, त्यो त्यस कबिलाको सबैको बच्चा हुन्थ्यो र त्यही किसिमले ऊ हुर्कन्थ्यो, बढ्थ्यो । यी कबिलामा छोरा वा छोरीमा भेदभाव थिएन । अथवा भनौँ मातृसत्तात्मक समाज थियो । बिस्तारै मानिसको सम्बन्ध आर्थिक प्रणालीसँग गाँसिदै गयो । विविध कारणले त्यसपछि बिस्तारै पितृसत्तात्मक प्रणाली सुरुवात भयो । मानव समाजमा विवाह पितृसत्तात्मक प्रणाली सुरु भइसकेपछि सुरुवात भएको प्रथा थियो । अझ भनौँ, यो प्रथा करिब २३५० बिसीदेखि मात्र सुरुवात भएको मानिन्छ । आफ्नो कबिलामा भएकी महिला स्वतन्त्र रूपमा बाँचिरहेकीले ऊ आप्mना दाजुभाइको निजी श्रीमती बन्ने सम्भावना भएन, त्यसैले अर्काे कबिलाबाट अपहरण गरेर दिनदिनै कुट्दैपिट्दै दास बनाएर पुरुषले बलात्कार गर्न थाल्यो । त्यसबाट जन्मेको छोरा त उसको मात्र हो भन्ने पक्का भयो । 

व्यक्तिगत सम्पत्ति बनाउन, छोरा जन्माउन, आफ्नो शेषपछि आफ्नो सम्पत्ति आफ्नो छोरालाई हस्तान्तरण गर्न, महिलालाई बन्धनमा राख्न, बलात्कार र अपहरणबाट विवाह प्रथा सुरु भएको मानिन्छ । यसै प्रसंगमा अमेरिकी लेखिका एन्ड्रिया ड्वर्किनले ‘विवाह एउटा संस्थाका रूपमा व्यवहारतः बलात्कारबाट विकास भएको हो’ भनेर ठोकुवा गरेकी छिन् । यही प्रक्रिया एवम् रीतले वर्षौंवर्ष चल्दै गयो । ‘अघिल्लो जुनीमा पाप गरेकीले भगवान् रिसाएर अहिले महिला भएर जन्म लिएको हो, यदि यो जुनीमा पनि पुरुषको सेवा गरिन भने यसले अर्काे जुनीमा झन् दुःख भोग्नुपर्छ’ भन्ने त्रास समाजमा फैलाइयो । यसरी पछि आएर यही भनाइ एउटा डरलाग्दो प्रथाका रूपमा विकास भयो । कबिलाका यी पुरुषले बिस्तारै शारीरिक रूपमा कमजोर आफ्नै कबिलाका महिलालाई पनि बल र छलका भरमा दोस्रो दर्जाको नागरिक बनाउँदै गए । घरमा श्रीमान्को मात्र नभई सबै पुरुषको सेवा गर्नु नै महिलाको पहिलो धर्म बन्यो । 

त्यस समयमा एकल महिलालाई विवाह गर्ने अधिकार थिएन । कडा शारीरिक श्रमका बाबजुद महिलालाई सात्विक भोजन गर्न लगाइन्थ्योे, त्यसले पनि पुगेन भनेर अत्यन्त क्रूर सतीप्रथा प्रचलनमा ल्याइयो । श्रीमान्को मृत्यु हुँदा एउटै चितामा श्रीमती पनि जिउँदै जल्नुपर्ने यो प्रथा नेपालमा चन्द्रशमशेरले अन्त्य गर्नुअघि विसं २५ असार १९७७ सम्म रहिरह्यो । आज पनि हामी लाखाैँ हिन्दु महिलाले ‘स्त्रीजातिले आफ्ना पुरुषलाई रिस गरे डेढी हुन्छे, पुरुषको वचन नमाने पक्षघाती हुन्छे, पुरुषसित मुख लागे वा पुरुषलाई गाली गरे लाटी हुन्छे, पुरुषदेखि लुकाई खाए कुकुर्नी हुन्छे, पुरुषसँग द्रोह गरे गोही हुन्छे’ भनेर लेखिएको स्वस्थानी व्रतकथा सानै उमेरदेखि एकाग्र चित्तले एक महिनासम्म पढ्छौंँ, सुन्छौँ, सुनाउँछौँ, पत्याउँछौँ र जीवनभरका लागि कर्मवादी होइन, भाग्यवादी बन्छौँ । 

यस्ता यी विभिन्न प्रसंगलाई समग्रतामा अध्ययन गर्दा हामी महिलाकोे स्वतन्त्रता र समानता खोस्नमा विवाहप्रथा र भाग्यवादको योगदान रहेको देखिन्छ । जब समाजमा विवाह प्रथा सुरु भयो, महिला हिंसा पनि त्यहीँबाट सुरु भयो । पुर्खौंदेखि प्रत्येक पिँढीलाई पनि प्रतिवादमा नगएर जस्तै अत्याचारमा पनि दबेर बस्न सिकाइयो । छोरी भएर जन्मेपछि सबै सहनैपर्छ, होइन भने अर्काे जुनीमा झनै दुःख सहनुपर्छ भन्ने भनाइ पुस्तान्तरण हुँदै आयो । अघिल्लो जुनीमा घोर पाप गरेका कारण यस जुनीमा छोरी भएर जन्मनुपरेको र भाग्यमै पूर्वजन्मबाट त्यही नै लेखाएर ल्याएका कारण यस जुनीमा पनि त्यसैको फल भोग्नुपर्नेे बाध्यता रहेको भन्ने अन्धविश्वास सामाजिक प्रथाको रूपमा विकास भयो । त्यसैले होला, हामीले परापूर्वकालदेखि मान्दै आएका तिजलगायत अधिकांश चाडपर्व कुनै पर्व नभएर महिलामाथिको दासत्वलाई थप निरन्तरता दिने संस्कारका रूपमा अवलम्बन हुँदै आएका छन् भन्दा अत्युक्ति नहोला । 

हिजोको तिज : पहिला–पहिला छोरीलाई विवाह गरी पठाएपछि माइती आउन पाउने भनेको प्रायः तिजमा मात्र हुन्थ्यो । त्यो पनि माइतबाट लिन आएमा मात्र घरकाले जान दिन्थे । अहिलेको जस्तो सवारी साधन र सञ्चारको माध्यम थिएन । माइत र माइती गाउँमा के भइरहेको छ भन्ने खबर प्रायः पाउन सकिन्नथ्यो । अधिकांश महिला पढेलेखेका हुँदैनथे । माइती जाने बाटोघाटो पनि अति विकट हुन्थे । श्रीमती वा बुहारी भनेको बिनाज्याला घरधन्दा र खेतीपाती गर्न भित्र्याइएका दाससरह मानिन्थे । यसैकारणले पनि त्यो वेला तिजको महत्व अति धेरै हुने गर्थ्यो । महिलाले घरपरिवारको दासत्वबाट एक दिन भए पनि मुक्त भएर मिठो खान पाउने, राम्रो लगाउन पाउने, साथीभाइ र दिदीबहिनीसँग एक–आपसमा भेटघाट गर्न पाउने, स्वतन्त्र रूपमा धक फुकाएर गीतका माध्यमबाट मन खोलेर आफ्नो मनको बह पोख्न पाउने, नाचगान गर्न पाउने र दरमा दुधको परिकार आदि मिठामिठा खानेकुरा खान पाउने अवसर प्राप्त हुन्थ्यो । तर, माइती नहुने चेलीबेटीको पीडा पनि त्यत्तिकै असह्य हुन्थ्यो । माइती नभएकाले बोलाउन आउने र माइत जाने कुरै भएन । त्यसैले ‘तिज आयो भन्छन् सबै जान्छन् माइत, आप्mना माइती मुग्लान पसे, छैन साइत’ भन्नेलगायत अनेकौँ विरहका गीत गाउँदै भिर–पखेरामा घाँसदाउरा गर्दै आँखाबाट आँसु झार्थे । 

आजको तिज : समय परिवर्तनशील छ र अहिलेको तिजको स्वरूप पनि समयअनुसार फेरिँदै गएको छ । अहिलेको अवस्थामा तिजपर्व भन्नासाथ दर खाने, भेटघाट गर्ने, व्रत बस्ने, नाचगान गर्ने अवसरका रूपमा मात्र सीमित छैन । बजारमा निस्कने गीतको स्तर, महिलाले दरखाने तरिका, नाचगान र पहिरनको प्रकृति प्रत्येक वर्ष फेरिँदै गएको देखिन्छ । महिना दिनअगाडिदेखि नै महिलाले मात्र मनाउने भनिएको तिजमा अहिले नाच्ने, गाउनेदेखि दर खानेसम्म कार्यक्रममा पुरुषको पनि सहभागिता बाक्लै देखिन्छ । तिजका गीतमा गाउने र नाच्ने पुरुषको पनि कमी छैन । हाम्रा हरेक चाडपर्व, विवाह, व्रतबन्ध, पास्नी, जन्मदिन आदि मनाउने चलन फेरिँदै गएका छन् । ती सबै भड्किला र खर्चिला पनि बन्दै गएका छन् । यस्तोमा तिज पनि त्यही भिडमा मिसिँदै गएको देखिन्छ । यसमा सुधार जरुरी छ । अन्यथा, हुनेखानेको देखासिकीमा हुँदा खाने वर्ग पिसिँदै जान बेर छैन । 

निष्कर्ष : मानवजाति जति आधुनिक भए पनि उसले जन्मसँगै पाएको संस्कार एवम् संस्कृति छोड्न सक्दैन । ऊ आफू जन्मेको जमिन परिवर्तन गर्न सक्छ । तर, उसले मान्दै आएकोे संस्कार परिवर्तन गर्न गाह्रो हुन्छ । यसैले विश्वको कुनै पनि कुनामा पुगे पनि मानिसले आफ्नो संस्कार र संस्कृति सँगसँगै लगेको हुन्छ । भूगोलको हिसाबले जहाँसुकैको नेपाली होओस्, जतिसुकै व्यस्त जीवनबाट पनि थोरै समय निकालेर उसले आफ्ना चाडपर्व सकेसम्म भव्य रूपमा मनाएको देख्न र सुन्न पाइन्छ । यी चाडपर्व विदेशी भूमिमा मन मिल्नेहरूसँगको भेटघाट, सुखदुःख साटासाटका माध्यम पनि बनेका छन् । यो एउटा सुखद अवस्था हो । तर, नेपालमा भने परापूर्वकालदेखि मनाइँदै आएका तिजलगायतका विभिन्न चाडपर्व परिवार, साथीभाइ जमघट, नाचगान गर्दै खुसी साट्ने अवसरमा मात्र सीमित देखिन्नन् । तिजका गीतका नाममा उच्छृङ्खलता बढ्दै छ । देखावटी प्रतिस्पर्धा बढ्दो छ ।

यस्ता प्रवृत्तिबाट सबै सचेत मानिस टाढै बस्नुपर्छ । तिजको दर खाने नाममा अघिल्लो रात आवश्यकताभन्दा बढी खाने र भोलिपल्ट निराहार बसेर साँझ श्रीमान्का गोडा धोएर पानी खानु आफ्नो स्वास्थ्यका लागि पनि राम्रो होइन । यसको मतलब श्रीमान्लाई अपमानित गर्ने, हेप्ने, दुःख दिने भन्न खोजेको होइन । श्रीमान् र श्रीमती भनेका असल मित्र हुन् । मुखले नबोली एक–अर्काको पिरमर्का बुभ्mन सक्ने व्यक्ति भनेकै श्रीमान् र श्रीमती हुन् । यो सम्बन्ध एक–अर्काका सुखदुःखका साथीका रूपमा कायम रहनुपर्छ, दास र मालिकका रूपमा होइन । यसैले आजका दिनमा मनाइने तिजलाई पनि महिला दिदीबहिनीका सुख, दुःख, अनुभव साटासाट गर्ने, नाचगान गरेर रमाइलो गर्ने, आफन्त र साथीसँगीसित भेटघाट गर्ने महत्वपूर्ण र रमाइलो अवसरका रूपमा सदुपयोग गर्नु आवश्यक देखिन्छ ।

हामी संसारको जुनसुकै कुनामा रहे पनि हाम्रा चाडपर्व युग सुहाउँदो रूपले मनाउनुपर्छ । तिजलगायत सम्पूर्ण चाडपर्व सामाजिक एकतालाई बलियो बनाउने र समाजसँग एक–अर्कालाई बलियोसँग जोड्ने भरपर्दो माध्यम बन्न सक्नुपर्छ । नजिकै आइसकेको यसपटकको तिजले हामी सबै महिलालाई धार्मिक अन्धविश्वास र गलत परम्पराको भुमरीबाट बाहिर निकाल्न उत्प्रेरित गरोस् । सम्पूर्ण दिदीबहिनीमा हार्दिक शुभकामना छ ।