सुरक्षा थ्रेट भएको भन्दै त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रार बिदामा

बुधबार, ५ भदौ, २०८१
डिजिटल संस्करण

समाजशास्त्र केन्द्रीय विभाग प्रमुख नियुक्ति गर्ने विषयमा विद्यार्थी नेताहरूले आपत्ति जनाएपछि सुरु भयो विवाद, पदाधिकारी कार्यालय नजाँदा प्रशासनिकलगायत काम प्रभावित 

सुरक्षा ‘थ्रेट’ देखाउँदै त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरू लामो बिदामा बसेका छन् । अहिले उपकुलपति, रेक्टर र रजिस्ट्रार बिदामा छन् । पदाधिकारीहरू बिदामा बस्नुको मुख्य कारण समाजशास्त्र केन्द्रीय विभाग प्रमुख नियुक्तिको विषयमा हो । मानविकी तथा समाजशास्त्र संकायकी डिन कुसुम शाक्यले विभागमा टीकाराम गौतमको नाम सिफारिस गरेकी छिन् । तर, विभिन्न विद्यार्थी संगठनले यसलाई मानेका छैनन् । 

विभिन्न विद्यार्थी संगठनको धम्कीका कारण त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बराल १५ दिनदेखि बिदामा छन् । रेक्टर प्रा.डा. खड्ग केसी गत बुधबार र रजिस्ट्रार प्रा.डा. केदार रिजाल बिहीबारदेखि कार्यालयमा उपस्थित छैनन् । पदाधिकारी कार्यालय नजाँदा प्रशासनिकलगायत काम प्रभावित भएका छन् । 

बिदा बसेका पदाधिकारीले सुरक्षा थ्रेट र स्वास्थ्यमा समस्या भएको बताएका छन् । सुरक्षा प्रबन्ध भए कार्यालय जान सक्ने उनीहरूको भनाइ छ । २० दिनअघि प्रहरी वृत्त कीर्तिपुरले पदाधिकारीलाई ख्याल गरेर आउजाउ गर्न सुझाव दिएको थियो । 

त्रिविका रेक्टर प्रा.डा. केसीले समाजशास्त्र केन्द्रीय विभागमा प्रमुख कसलाई बनाउने भन्नेबारे धम्की आएको र प्रहरीले सुरक्षा थ्रेट भएको बताएपछि बिदामा बसेको बताए । ‘समाजशास्त्र केन्द्रीय विभागमा विभागीय प्रमुखमा कसलाई लैजाने भन्ने विवादका कारण हामीमाथि थ्रेट भयो । सुरक्षा निकायले थ्रेट छ भनेपछि हामी जान छाडेका हौँ,’ उनले भने, ‘सुरक्षा प्रबन्ध भयो भने बुधबारदेखि उपस्थित हुन्छौँ ।’ 

कार्यालय जान सुरक्षा थ्रेट भएको भन्दै उपकुलपति, रजिस्ट्रार र रेक्टर मंगलबार उपकुलपतिको निवासमा बैठक बसेका थिए । उनीहरूले प्रहरीले सुरक्षा दिए मात्रै कार्यालय जाने निष्कर्ष निकालेका छन् ।

आफूहरूले तोकेको व्यक्ति विभागीय प्रमुख नभए कारबाही गर्ने धम्की विद्यार्थी नेताले दिएका छन् । विद्यार्थी नेताबाट धम्की आउन थालेपछि यसबारे त्रिविले शिक्षा मन्त्रालयलाई पनि जानकारी गराइसकेको छ । 

त्रिवि उपकुलपति प्रा.डा. बरालले सुरक्षा थ्रेट तथा आफू बिरामी भएकाले कार्यालय जान छाडेको बताए । ‘म बिदा बस्न लागेको १५ दिन भयो, विद्यार्थीका धम्की आइरहेका छन्, पार्टटाइम शिक्षकहरूको पनि चर्को दबाब छ,’ उनले भने, ‘कतिपयले मलाई बारम्बार फोन गरिरहेका छन्, तर मैले फोन उठाएको छैन । बिदा बस्नुको अर्को कारण डेंगु लागेर पनि हो ।’ उपकुलपति प्रा.डा. बराल बिदा बसे पनि उनले कार्यवाहक जिम्मेवारी अरूलाई दिएका छैनन् । 

त्यस्तै, रेक्टर र रजिस्ट्रारले पनि बिदा बसेकोबारे पत्र वा विज्ञप्ति जारी गरेका छैनन् । त्रिवि रजिस्ट्रार प्रा.डा. रिजालले आफू शुक्रबारदेखि बिदा बसेको र बुधबारदेखि कार्यालय जाने बताए । ‘विद्यार्थी नेताहरूबाट दबाब नआएको होइन, अब बुधबारदेखि कार्यालय जान्छु,’ उनले भने । 

तर, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तीर्थ खनियाँले उपकुलपति, रेक्टर र रजिस्ट्रार लामो समय बिदा बस्नु वा सुरक्षा थ्रेट छ भनेर कार्यालय जान छाड्नु सही विकल्प नभएको बताए । ‘पाँच लाख विद्यार्थी पढ्ने विश्वविद्यालयको केन्द्रीय कार्यालय बन्द गरेर बस्नु भनेको राम्रो होइन,’ उनले भने, ‘भिसीले बाहिर बसेर होइन, कार्यालयमा बसेर काम गर्नुपर्छ । यदि थ्रेट छ भने पनि जिम्मेवार व्यक्ति कार्यालय जानुपर्छ ।’ 

त्रिवि स्ववियु सभापति श्यामराज ओझाले पदाधिकारीहरू बिदामा बसेकोबारे आफूलाई जानकारी नभएको बताए । ‘उहाँहरू बिदामा हुनुहुन्छ भन्नेबारे मलाई त जानकारी छैन,’ उनले भने, ‘पदाधिकारी भएर त्रिवि चलाउने हैसियत र समस्या समाधान गर्न नसक्ने भए कक्षाकोठामा पढाउन गए हुन्छ । सुरक्षा थ्रेटको कुरा हो भने उहाँको सुरक्षा ग्यारेन्टी हामी लिन्छौँ, त्रिविमा समस्या निम्त्याएर भाग्न पाइँदैन ।’ 

प्रहरी वृत्त कीर्तिपुरका डिएसपी भुवनेश्वरप्रसाद साहले हाल पदाधिकारीको सुरक्षामा थ्रेट नभएको बताए । ‘सुरक्षा पर्याप्त छ । त्रिविमा वर्षौँदेखि यस्तै चलेको छ । राजनीतिक कुरा थाहा भएन । प्रहरीले सुरक्षा दिइरहेको छ । सुरक्षामा कमी हुँदैन,’ उनले भने ।
 

See More On

सुझावित समाचार