Skip This
कांग्रेस केन्द्रीय समिति बैठक : गठबन्धनको औचित्य पुष्टि गर्नुपर्नेमा जोड
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण २६ शनिबार
  • Wednesday, 11 September, 2024
२o८१ श्रावण २६ शनिबार o६:१२:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कांग्रेस केन्द्रीय समिति बैठक : गठबन्धनको औचित्य पुष्टि गर्नुपर्नेमा जोड

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ श्रावण २६ शनिबार o६:१२:oo

केन्द्रीय समिति बैठकमा कांग्रेसका केन्द्रीय सदस्यहरूले सरकारको काम प्रभावकारी बनाएर कांग्रेस–एमाले गठबन्धनको औचित्य पुष्टि गर्नुपर्नेमा जोड दिएका छन् । तीन दिनदेखि जारी बैठकमा शुक्रबार धारणा राख्ने क्रममा संस्थापन पक्षका सदस्यले सरकारमा जानुलाई उपलब्धि भनेका छन् भने इतर समूहका सदस्यले गठबन्धनको औचित्य पुष्टि गर्ने गरी काम गर्नुपर्नेमा जोड दिएका छन् ।

केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलले बैठकमा एजेन्डा र पुरानै विषय दोहोरिएको बताए । ‘गम्भीर विषयमा धारणा आएनन् । विषय दोहोरिएका मात्रै छन्,’ उनले भने । केन्द्रीय सदस्य नागिना यादवका अनुसार शुक्रबार निर्वाचन प्रणालीमा सुधार र भ्रष्टाचार नियन्त्रणलगायत विषयमा नेताहरूले मत राखेका छन् । 

बैठकमा परराष्ट्रमन्त्रीसमेत रहेकी आरजु राणा देउवाले निर्वाचन प्रणाली सुधार गरेर ३३ प्रतिशत महिला मात्रलाई प्रतिस्पर्धाको सुनिश्चितता र १० प्रतिशत दलितको प्रतिनिधित्व हुने गरी निर्वाचन प्रणाली बनाउनुपर्ने धारणा राखिन् । साथै, अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा तीनै तहको सरकारले जानकारी पाउनुपर्ने र सोहीअनुसार नीति बनाएर अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्नुपर्नेमा उनको जोड थियो ।

नैनसिंह महरले वर्तमान सरकार सुशासन, सेवाप्रवाह र संविधान संशोधन गर्ने विषयमा खरो उत्रिनुपर्ने बताए । विगतमा कांग्रेस र एमालेले एक–अर्काविरुद्ध सडकदेखि सदनसम्म उठाएको प्रश्नलाई समेत प्रस्ट पार्नुपर्ने बताए । ‘कांग्रेस–एमालेको सरकार बन्नुका कारण सुशासन कायम गर्ने, जनतामा आशा जगाउने, सेवाप्रवाह बढाउने र संविधान संशोधन गर्ने थियो । सरकार बनेको एक महिना पुग्दै गर्दा त्यसतर्फ अब खरो उत्रिनुपर्छ,’ उनले भने, ‘हिजो हामीले सत्ता र प्रतिपक्षमा हुँदा एक–अर्का पार्टी र व्यक्तिविरुद्ध सडकदेखि सदनसम्म उठाएका प्रश्नको प्रस्टीकरण आउन जरुरी छ ।’

सुरेन्द्रराज पाण्डेले गठबन्धन सरकार बने पनि प्रधानमन्त्री केपी ओली मात्रै हाबी हुने अवस्था आएको बताए । ओली सत्ता र प्रशासनमा हाबी हुने हो भने कांग्रेस चेपुवामा मात्र पर्ने सम्भावना छ, यसमा ध्यान दिनुपर्छ,’ पाण्डेले भने । प्रकाश रसाइली स्नेहीले गठबन्धनको भविष्य ओलीकै हातमा रहेको बताए । ‘गठबन्धनको भविष्य ओलीकै हातमा छ । उहाँले कांग्रेसका मन्त्रीलाई पनि एमाले कार्यकर्ताजसरी चलाउन खोज्नुभएको छ,’ उनले भने । 

दिनेश कोइरालाले गठबन्धनको औचित्य पुष्टि हुने गरी कांग्रेसको नेतृत्वमा भ्रष्टाचारविरुद्ध महाभियान सुरु गर्नुपर्ने धारणा राखे । कोइरालाले सबैखाले भ्रष्टाचारको छानबिन गरी कारबाही सिफारिस गर्न उच्चस्तरीय नागरिक आयोग गठन गर्नुपर्ने बताए । ‘भ्रष्टाचार नियन्त्रणमा काम नगरी संविधान संशोधनको प्रयास गरियो भने अपेक्षित जनसमर्थन पाउन सकिँदैन । गठबन्धनको औचित्य जनस्तरमा बुझाउन सक्नुपर्छ,’ कोइरालाले भने । बैठकमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आफ्नो मन्त्रालयबारे जानकारी गराउँदै बजेट अपुग हुँदा ठूला योजनामा काम गर्ने अवस्था नरहेको गुनासो गरेका थिए ।

बैठकले बंगलादेशमा राजनीतिक घटना क्रमलाई नजिकबाट नियालिरहेको भन्दै लोकतान्त्रिक प्रक्रिया अवलम्बनबाट राजनीतिक संक्रमण अन्त्य हुने विश्वास व्यक्त गरेको छ । साथै, बंगलादेशको अन्तरिम सरकारका नवनियुक्त प्रमुख मोहम्मद युनुसलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्तसमेत गरेको छ । ‘कांग्रेस सदैव लोकतान्त्रिक र शान्तिपूर्ण बंगलादेशको पक्षमा रहेको तथा बंगलादेशी नागरिकको लोकतान्त्रिक तथा मानव अधिकारलाई उच्च सम्मान गर्दै आएको छ । त्यसैले लोकतन्त्र र शान्तिप्रेमी बंगलादेशी नागरिकको चाहना र भावनाअनुसार लोकतान्त्रिक र संवैधानिक प्रक्रिया अविलम्ब बहाल भई राजनीतिक संक्रमण अन्त्य हुने नेपाली कांग्रेस विश्वास गर्दछ,’ कांग्रेसको विज्ञप्तिमा छ । 

शुक्रबार प्रवक्ता डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरू जिपछिरिङ लामा, पद्मनारायण चौधरी, डा. चन्द्रकान्त भण्डारी, सुरेन्द्रराज पाण्डे, मीनबहादुर विश्वकर्मा, किरण यादव, योगेन्द्र चौधरी, कृष्णकिशोर घिमिरे, गेहेन्द्र गिरी, तारामान गुरुङ, चन्द्रबहादुर केसी, डा. आरजु राणा देउवा, अब्दुल सत्तार, नैनसिंह महर, गोविन्दबहादुर शाह, महेन्द्रकुमारी लिम्बू, सरस्वती बजिमय, चम्पादेवी खड्का, प्रकाश रसाइली स्नेही, मुक्ताकुमारी यादव, जावेदा खातुन जागा, हरिशरण नेपाली, मदनकृष्ण श्रेष्ठ, गंगालक्ष्मी अवाल, दिनेश कोइराला, राधा घले, धना खतिवडा, सीता थपलिया (उर्मिला), कल्याणी रिजाल, गोमाकुमारी भट्टराई र लक्ष्मी खतिवडा गरी ३२ जनाले धारणा राखेका थिए । बुधबारबाट जारी बैठकमा बिहीबारसम्म २६ केन्द्रीय सदस्य र सात प्रदेशका सभापतिले धारणा राखिसकेका छन् । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय समितिको अर्को बैठक आइतबार बिहान ११ बजे बस्नेछ । बैठक सोमबार समापन गर्ने कांग्रेसको तयारी छ । बैठकमा महासमिति बैठकको निर्णय अनुमोदनसहित ११ एजेन्डा छन् ।

बंगलादेश प्रकरणबारे कांग्रेसले भन्यो– लोकतान्त्रिक तरिकाले संवैधानिक प्रक्रिया बहाली होस्
बैठकले बंगलादेशको राजनीतिक घटना क्रमलाई नजिकबाट नियालिरहेको भन्दै लोकतान्त्रिक प्रक्रिया अवलम्बनबाट राजनीतिक संक्रमण अन्त्य हुने विश्वास व्यक्त गरेको छ । साथै, बंगलादेशको अन्तरिम सरकारका नवनियुक्त प्रमुख मोहम्मद युनुसलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्तसमेत गरेको छ । ‘कांग्रेस सदैव लोकतान्त्रिक र शान्तिपूर्ण बंगलादेशको पक्षमा रहेको तथा बंगलादेशी नागरिकको लोकतान्त्रिक तथा मानव अधिकारलाई उच्च सम्मान गर्दै आएको छ । त्यसैले लोकतन्त्र र शान्तिप्रेमी बंगलादेशी नागरिकको चाहना र भावनाअनुसार लोकतान्त्रिक र संवैधानिक प्रक्रिया अविलम्ब बहाल भई राजनीतिक संक्रमण अन्त्य हुने नेपाली कांग्रेस विश्वास गर्दछ,’ कांग्रेसको विज्ञप्तिमा छ ।