१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
मलेसियाको कन्टेनर कोठामा नेपाली कामदार
सौरभ यादव सप्तरी
Invalid date format o६:११:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

१५ नेपाली कामदार दुई महिनादेखि मलेसियामा अलपत्र

काठमाडौंको जेपी ओभरसिजले मासिक ६१ हजार नेपाली रुपैयाँ पारिश्रमिक पाउने आश्वासन दिँदै तीनदेखि चार लाखका दरले असुलेर उडाएको थियो

Read Time : > 1 मिनेट
सौरभ यादव, सप्तरी
नयाँ पत्रिका
Invalid date format o६:११:oo

फर्निचरको कामका लागि भनेर म्यानपावर कम्पनीले दुई महिनाअघि मलेसिया पठाएका १५ नेपाली कामदारले काम नै पाएका छैनन् । काठमाडौंको जेपी ओभरसिजमार्फत १५ जेठमा मलेसिया पुगेका सप्तरी, सिराहा र बाराका ती कामदार काम नपाएपछि अलपत्र परेका छन् । 

जेपी ओभरसिजले मलेसियाको जोलानो डिजाइन एसडिन बिएचडीमार्फत फर्निचरको काममा लगाइदिने भनेर पठाएको सिराहाको लहान नगरपालिका– २३ का मोहनकुमार साहले बताए । ‘फर्निचरको काम दिइएन । बरु बिजुलीको पोल गाड्ने र नाला बनाउने काममा खटायो । त्यो पनि दुई महिनामा ६ दिन मात्रै काम पाएका छौँ,’ उनले भने । मासिक ६१ हजार नेपाली रुपैयाँ पारिश्रमिक पाउने आसमा तीनदेखि चार लाखका दरले पैसा बुझाएर उनीहरू मलेसिया उडेका थिए ।मलेसिया पुगेर अलपत्र पर्नेमा सप्तरीको बोदेबरसाइन नगरपालिका– ६ का अरुणकुमार साह र इन्जित साह तथा सोही पालिका– ३ का अभिनाश मण्डल छन् ।

सप्तरीकै डाक्नेश्वरी नगरपालिका– १ का हेमन्त साह, बलान बहुल गाउँपालिका– २ का चिन्तु मण्डल, शम्भुनाथ नगरपालिका– ११ का अनिल मण्डल, खड्क नगरपालिकाका धर्मनाथ यादव, छिनमस्ता गाउँपालिका– ६ का सन्तोषकुमार साह र सुरुंगा नगरपालिका– ३ का वीरेन्द्रकुमार यादवले पनि काम पाएका छैनन् । त्यस्तै, सिराहाको भगवानपुर गाउँपालिका– ३ का कृष्णकुमार यादव, सर्मेशकुमार यादव, गोलबजार नगरपालिका– ३ का रूपेशकुमार यादव, अर्नमा गाउँपालिका– ४ का दिलीपकुमार यादव र बाराको निजगढ नगरपालिका– १० का पाँचल वाइवाई उद्धारको पर्खाइमा छन् ।

जेपी ओभरसिजका प्रबन्ध–निर्देशक प्रचण्डबहादुर बम भन्छन्–ती कामदारको श्रम हामीले गराएको हो, तर अरू मलाई केही थाहा छैन । जे लेख्नु छ लेख्नुस् ।

मोहनकुमारका अनुसार सप्तरीका इन्जित र धर्मनाथ त्यहाँबाट भागेका छन् । ‘हामी अहिले १३ जना फलामले बनाएको कन्टेनर कोठामा एकै ठाउँमा बसेका छौँ,’ उनले भने, ‘बस्न र सुत्न निकै समस्या छ ।’ कृष्णकुमार यादवले आफूहरू उद्धारको पर्खाइमा रहेको बताए । ‘छिमेकीसँग तीन लाख ७० हजार ऋण लिएर म्यानपावर कम्पनीलाई बुझाएको हुँ,’ उनले भने, ‘अहिलेसम्म ६ दिन मात्र काम पाइएको छ । ऋण कसरी तिर्नु ?’ उनको पाँचजनाको परिवार छ । 

सप्तरीको डाक्नेश्वरी नगरपालिका घर भएका म्यानपावरका एजेन्टहरू रामचन्द्र साह, सन्तोष साह, शीतल मरर तथा सिराहाको लहानका रामशंकर यादव, कन्हैयाकुमार गोस्वानी, बारा निजगढका राहुल साहमार्फत उनीहरू म्यानपावर कम्पनीको सम्पर्कमा पुगेका थिए । प्रतिव्यक्ति तीनदेखि चार लाख दरले पैसा बुझाएर आफूहरू मलेसिया पुगेको पीडितले बताएका छन् । 

जेपी ओभरसिजका प्रबन्ध–निर्देशक प्रचण्डबहादुर बमले भने आफ्नो कम्पनीले ती कामदारको श्रम गराउनेबाहेक थप केही नगरेको बताए । ‘ती कामदारको श्रम हामीले गराएको हो, तर अरू मलाई केही थाहा छैन,’ उनले भने, ‘जे लेख्नु छ लेख्नुस् ।’

फलामको कन्टेनर कोठामा १३ जना एकै ठाउँमा बसेका छौँ
मोहनकुमार साह, लहान नगरपालिका– २३, सिराहा

जेपी ओभरसिजले मलेसियाको जोलानो डिजाइन एसडिन बिएचडीमार्फत फर्निचरको काममा लगाइदिने भनेर पठाएको हो । यहाँ आएपछि फर्निचरको काम दिइएन । बरु बिजुलीको पोल गाड्ने र नाला बनाउने काममा खटायो । त्यो पनि दुई महिनामा ६ दिन मात्रै काम पाएका छौँ । सप्तरीका दुईजना साथी त्यहाँबाट भागेका छन् । हामी अहिले १३ जना फलामले बनाएको कन्टेनर कोठामा एकै ठाउँमा बसेका छौँ । बस्न र सुत्न निकै समस्या छ ।