Skip This
हिराको ज्यान लिने बाघलाई नियन्त्रणमा लिएर बर्दिया निकुञ्जको उद्धार केन्द्रमा लगियो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण १९ शनिबार
  • Wednesday, 11 September, 2024
डार्ट गरेर नियन्त्रणमा लिइएको बाघ
मोहन विष्ट कञ्चनपुर
२o८१ श्रावण १९ शनिबार o६:o२:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

हिराको ज्यान लिने बाघलाई नियन्त्रणमा लिएर बर्दिया निकुञ्जको उद्धार केन्द्रमा लगियो

चार हात्ती र डार्ट प्राविधिक टोलीसहितका सुरक्षाकर्मीले २४ घण्टाको प्रयासपछि नियन्त्रणमा लिए बाघ

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ श्रावण १९ शनिबार o६:o२:oo

मृतकका परिवारलाई ५० हजार किरिया खर्च

कञ्चनपुरमा धान गोड्न गएकी महिलाको ज्यान लिने बाघलाई निकुञ्ज प्रशासनले २४ घण्टापछि नियन्त्रणमा लिएको छ । दोधाराचाँदनी नगरपालिका– २ की हिराकुमारी शाह (साहु)माथि आक्रमण गरेको भाले बाघलाई एउटा डार्टसुई हानेर शुक्रबार बिहान साढे ९ बजे उखुबारीबाट नियन्त्रणमा लिइएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका संरक्षण अधिकृत मनोजकुमार ऐरले बताए । 

‘बिहीबार बाघ नियन्त्रणमा लिन सकिएन, दोस्रो दिन खोजी सुरु गरेको डेढ घण्टामै फेला प¥यो,’ ऐरले भने, ‘पहिलो डार्टमै बेहोस भयो, त्यसपछि नियन्त्रणमा लिन सफल भएका छौँ ।’ 

हिराकुमारीको मृत्यु भएकै दिन निकुञ्जका चार हात्तीसहित डार्ट प्राविधिक टोली, सुरक्षाकर्मी परिचालन भएका थिए । पहिलो दिन फेला नपरेपछि उखुबारीमा राँगो छाडिएको थियो । राँगोसमेत खाएको बाघलाई बिहान नियन्त्रणमा लिएको हो । हिराको शव पोस्टमार्टमका लागि दोधाराचाँदनी नगर अस्पतालमा राखिएको छ ।  

बाघको आक्रमणबाट ज्यान गुमाएकी हिराकुमारी शाहको परिवारलाई दोधाराचाँदनी नगरपालिकाले किरिया खर्चबापत ५० हजार उपलब्ध गराएको छ । कार्यपालिका बैठकको निर्णयअनुसार मृतक शाहको परिवारलाई शुक्रबार ५० हजार किरिया खर्च उपलब्ध गराइएको मेयर किशोरकुमार लिम्बूले बताए । 

बर्दिया निकुञ्जको उद्धार केन्द्रमा लगियो बाघ
डार्ट गरेर कञ्चनपुरबाट नियन्त्रणमा लिइएको बाघ बर्दिया राष्ट्रिय निकुञ्ज उद्धार केन्द्रको खोरमा लगिएको छ । उक्त बाघ १२ देखि १४ वर्ष उमेरको छ । उद्धार केन्द्रमा यसअघि नै पाँचवटा समस्याग्रस्त बाघ छन् । 

निकुञ्जका अनुसार एउटा बाघलाई एक दिन बिराएर सात केजी मासु दिइन्छ । एक हप्तामा प्रतिबाघ २८ केजीको दरले मासु दिने गरिएको छ । पाँचवटा बाघलाई हरेक साता एक सय ४० केजी मासु खुवाउने गरिएको छ । त्यहाँ बाघलाई उपचार र रेखदेखका लागि जनशक्ति खर्चसमेत थप लाग्छ । बाघ बुढो भएमा वा बिरामी भई सिकार गर्न नसक्ने अवस्थाका बाघलाई समस्याग्रस्त बाघ भन्ने गरिन्छ । ती बाघ निकुञ्ज वा वन क्षेत्रको मुख्य क्षेत्रभन्दा टाढा सामुदायिक वन, बस्तीनजिक भेटिने गर्दछन् । तिनले सजिलै सिकार गर्न सकिने घरपालुवा जनावर र मानिसलाई आक्रमण गर्ने गर्छन् । 

उनीहरूको उमेर र अवस्था हेरेर चिडियाखाना वा निकुञ्जले नियन्त्रणमा लिई उद्धार केन्द्रमा राख्ने गरिन्छ । गत वर्ष नै कञ्चनपुरमा मान्छेलाई मारेको बाघलाई जावलाखेलस्थित सदर चिडियाखानामा राखिएको छ । नेपालमा बर्दिया, बाँके, चितवन र पर्सा राष्ट्रिय निकुञ्ज तथा सदर चिडियाखानामा झन्डै दुई दर्जन बाघ छन् ।  सन् २०२२ को सर्वेक्षणअनुसार नेपालमा तीन सय ५५ पाटेबाघ छन् ।