१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 06 June, 2025
Invalid date format २२:३१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार

जनताको सुख–दुःख बुझ्न देशभर जान्छु : प्रचण्ड 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २२:३१:oo

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनताको सुख–दुःख बुझ्न देशभर जाने भएका छन् । जनतासँग पार्टीको सम्बन्धको कडी कमजोर भएको निष्कर्ष निकाल्दै प्रचण्डले जनतासँग एकाकार हुन र सुखदुःख बुझ्न देशभर जाने बताएका हुन् । पार्टी कार्यालय पेरिसडाँडामा पाँच दिनसम्म चलेको केन्द्रीय कार्यालय बैठक मंगलबार समापन गर्दै उनले जनताको कुरा सुन्दै विचार संश्लेषण गरेर अगाडि बढ्ने जानकारी दिएका हुन् । 

‘जनतासँगको सम्बन्धको कडी अलि टुटेको छ । जनतासँग एकाकार हुन, जनताको सुख–दुःख बुझ्न देशैभरि जान्छु,’ प्रचण्डको भनाइ उद्धृत गर्दै माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले भने । आफ्नो नेतृत्वमा सुशासन र सामाजिक न्यायको सवालमा देखिने गरी काम भएको बताउँदै उनले नयाँ गठबन्धनको नियतमै शंका गरेका छन् । 
स्थायी समिति र केन्द्रीय समितिमा छलफलपछि विस्तृत योजनासहितको कार्यक्रम बन्ने र जनतामा जाने प्रचण्डको भनाइ थियो । माओवादीले २५ साउनमा स्थायी समिति बैठक बोलाएको छ । स्थायी समितिले केन्द्रीय कमिटी बैठकको मिति र एजेन्डा तय गर्ने माओवादीले जनाएको छ ।

प्रचण्डले बृहत् वामपन्थी एकीकरण गर्ने पवित्र मनसायले एमालेसँग सत्ता समीकरण गरे पनि एमाले अध्यक्ष केपी ओलीले धोका दिएको बताए । ‘नेपाली जनताले कम्युनिस्ट पार्टीलाई रुचाएको प्रमाणित भएको थियो । कम्युनिस्ट पार्टीको एकता भएपछि नेपाली जनताले झन्डै दुईतिहाइ मत दिएका थिए, त्यसलाई हामीले रक्षा गर्न सकेनौँ । त्यसको समीक्षा गर्दै हामीले एमालेसँग समीकरण बनाएका थियौँ । परसम्म जाने समझदारी तोडेर एमाले कांग्रेससँग गठबन्धन गर्न पुग्यो,’ प्रचण्डको भनाइ उद्धृत गर्दै सापकोटाले भने । 
माओवादी बैठकले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । ‘प्रमुख प्रतिपक्षको भूमिकालाई सदनमा प्रभावकारी बनाउने, देश र जनताका जल्दाबल्दा समस्या, माओवादी सरकारले सुरु गरेका सामाजिक न्याय, सुशासन र समृद्धिका सवालमा खोज, अनुसन्धानसहित गम्भीरतापूर्वक उठाउने, भ्रष्टाचारविरोधी अभियान अगाडि बढाउनका लागि सरकारलाई दबाब दिने निर्णय भएको छ,’ उनले भने । 

माओवादीले आगामी निर्वाचन एक्लै लड्ने र जित्ने योजनाका साथ अघि बढ्ने बताएको छ । ‘हाम्रा विचार, राजनीतिक कार्यदिशा र दृष्टिकोण जनतामा सोझै पु¥याउने गरी जानेछौँ । गठबन्धनमा जाँदा अरू पार्टीको पनि सन्तुलन मिलाउनुपर्ने हुँदा हाम्रो विचार, राजनीतिक कार्यदिशा र दृष्टिकोण जनतामा लान सकेका थिएनौँ । यो जनतामा जाने सुवर्ण अवसर पनि हो । हामी वर्गसँगको सम्बन्ध बलियो बनाउँदै अघि बढ्छौैँ । जनताको सुख, दुःखमा जोडिन्छौँ,’ सापाकोटाले भने ।

अग्रगामी शक्तिको संयुक्त मोर्चा बनाउनुका साथै कम्युनिस्ट पार्टीको पुनर्गठनका लागि निरन्तर प्रयत्न गरिरहने निष्कर्ष माओवादीले निकालेको छ । ‘अहिले चार पार्टीको संयुक्त समाजवादी मोर्चा छ । त्यसलाई विस्तार गरेर अघि बढ्छौँ । नेपाली जनता कम्युनिस्ट पार्टीको पुनर्गठन होस् र राष्ट्रियता, जनतन्त्र, जनजीविकाका सवाल उठुन् भन्नेमा छन्,’ सापकोटाले भने, ‘मुख्यतः नेपाली जनता सामाजिक न्यायसहितको समृद्धि कायम होस् भन्ने चाहन्छन् ।’ 
 

छुटाउनुभयो की ?