१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २३ शुक्रबार
  • Friday, 06 June, 2025
सौरभ यादव राजविराज
२o८२ जेठ २३ शुक्रबार o९:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पूर्वअभ्यास गर्ने क्रममा बेपत्ता भएका सशस्त्र प्रहरीका दुई गोताखोरको खोजी अझै जारी

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८२ जेठ २३ शुक्रबार o९:o४:oo

विपतजन्य घटनाको पूर्वअभ्यास गर्ने क्रममा बेपत्ता भएका सशस्त्र प्रहरीका दुई गोताखोरको खोजी अझै जारी छ। विपत् प्रतिकार अभ्यासका क्रममा हराएका ती गोताखोरको उद्धारका लागि सशस्त्र प्रहरी बलको विशेष तालिमप्राप्त टोली कुरिनटारबाट घटनास्थल पठाइएको छ।

बेपत्ता भएका जवानहरूमा सशस्त्र प्रहरी बल इलाम दरबन्दीका हरदेव राजवंशी र पर्सा गणमार्फत छिन्नमस्ता बाहिनीमा कार्यरत सुरज साउद छन्। उनीहरू सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका– १ अन्तर्गत कोशी ब्यारेजको ढोका नम्बर ५५ र ५६ नजिक विपत् अभ्यासकै क्रममा दिउँसो करिब ३ बजे नदीमा पसेका थिए। अभ्यासकै वेला कोशीको भुमरीमा फसेर उनीहरू एक्कासि हराएको प्रत्यक्षदर्शीले बताएका छन्।

खोजीकार्यको प्रभावकारी समन्वय र नेतृत्वका लागि सशस्त्र प्रहरी बल विपत् उद्धार तालिम शिक्षालय, कुरिनटारबाट डिएसपी पुरुषोत्तम भण्डारीको कमान्डमा पाँचजना गोताखोरसहितको टोली बिहीबार राति पौने ११ बजे घटनास्थलतर्फ प्रस्थान गरेको जनाइएको छ। डिएसपी भण्डारी ०६९ मा बंगलादेशबाट विशेष गोताखोर तालिम लिएका र हाल नेपालमै सञ्चालन हुने गोताखोर तालिमका प्रशिक्षकसमेत हुन्।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार घटनास्थलको अवलोकन, पानीको बहाव, भुमरीको स्वरूप र सम्भावित जटिलतालाई आधार मानेर उनीहरूले आवश्यक निर्णय लिनेछन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी ढकेन्द्र खतिवडाले शनिबारका लागि तय गरिएको विपत् प्रतिकार कार्यक्रमको पूर्वाभ्यासकै क्रममा घटना भएको बताए। स्थानीय शंकरकुमार खड्गाका अनुसार कोशी ब्यारेजको ढोका नम्बर १, २, ५५ र ५६ बन्द गरिए पनि भित्री सतहमा जडान गरिएका ह्युमपाइपबाट पानीको बहाव जारी रहँदा गोताखोरहरू सोही प्रवाहमा फसेकाे हुन सक्ने अनुमान गरिएको छ।

छुटाउनुभयो की ?