
ढलको पानीमा पोलियो भाइरस देखिएपछि काठमाडौं महानगरसहित उपत्यकाका तीन जिल्लामा ९ देखि १२ साउनमा विशेष खोप अभियान चलाइने भएको छ । काठमाडौं महानगरपालिकाले भने महानगरका सबै घरमा पुगेर पाँच वर्षमुनिका बालबालिकालाई पोलियो थोपा खुवाउने भएको छ ।
बाँकी जिल्लामा भने स्वास्थ्य संस्थाहरूमा पोलियो थोपा खुवाइनेछ । यसअघि नियमित खोप लिएका बालबालिकालाई पनि यो खोप अनिवार्य उपलब्ध गराइनेछ । महानगरका जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठका अनुसार महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीसहितको टोलीले घरघरमा गएर पोलियो थोपा खुवाउनेछन् ।
पोलियो खोप शिशु जन्मेको ६, १० र १४ हप्तामा गरी तीनपटक मुखबाट (ओरल पोलियो भ्याक्सिन) खुवाइन्छ । यस्तै, १४ हप्ता र नौ महिनाको उमेरमा सुईबाट पोलियो खोप दिइन्छ ।
राष्ट्रिय जनगणना ०७८ अनुसार काठमाडौं महानगरपालिकाभित्र दुई लाख ३८ हजार नौ सय ६६ घर छन् । यी घरमा पाँच वर्षमुनिका करिब ६३ हजार ५६ जना बालबालिका रहेको अनुमान छ ।