
देशकै पहिलो पुस्ताका होटेल व्यवसायी श्यामबहादुर पाण्डेको ८८ वर्षको उमेरमा निधन भएको छ । पाँचतारे सांग्रिला होटेलका संस्थापक पाण्डेको सोमबार बिहान ग्रान्डी अस्पतालमा निधन भएको छ । पाण्डे पञ्चायतकालीन समयमा सरकारी जागिर छाडेर हस्पिटालिटी बिजनेसमा प्रवेश गरेका थिए । उनले सन् १९७९ मा लाजिम्पाटमा ५० कोठाको चारतारे सांग्रिला होटेल निर्माण गरे । क्यासिनो सञ्चालनका लागि पाँचतारे हुनैपर्ने र पाँचतारे स्तरमा वर्गीकरण हुन सय कोठा चाहिने हुनाले सांग्रिला पनि स्तरोन्नति गरिएको थियो ।
एक सय कोठा रहेको सांग्रिलामा अहिले पनि कोठाहरू थप गरिँदै छ । अब सांग्रिला ब्रिटिस बहुराष्ट्रिय हस्पिटालिटी कम्पनी इन्टरकन्टिनेन्टल होटेल्स ग्रुप (आइएचजी)को व्यवस्थापनमा ‘इन्टरकन्टिनेन्टल काठमाडौं’का नामबाट सञ्चालनमा आउँदै छ । ‘इन्टरकन्टिनेन्टल’ आइएचजीको फ्ल्यागसिप ब्रान्ड हो ।
स्वर्गीय पाण्डे ०१५ सालतिर गृह मन्त्रालयअन्तर्गतका सेक्सन अफिसर थिए । उनले त्यतिवेला सुरिक्षत जागिर छाडेर व्यवसायमा होमिने निधो गरे । तर, त्यसवेला लाइसेन्स प्राप्त गर्न सहज थिएन । तत्कालीन राजा वीरेन्द्रको राज्याभिषेकको अवसरमा लाइसेन्स दिने नीति ल्याइएपछि उनले पनि होटेलको लाइसेन्स प्राप्त गरे ।
लाजिम्पाटमा होटेल खोलेपछि उनले पोखराको घारिपाटनमा अर्को चारतारे सांग्रिला भिलेज रिसोर्ट सञ्चालनमा ल्याए । जुन धेरै समयसम्म पोखराकै उत्कृष्ट रिसोर्टमध्येमा पथ्र्यो । अहिले सांग्रिला भिलेज रिसोर्ट पनि स्तरोन्नति गरेर विदेशी आइएचजीको ‘इन्डिगो’ ब्रान्डमा सञ्चालनमा आउँदै छ ।
काठमाडौंकै पद्मोदय स्कुलबाट एसएलसी दिएका पाण्डेले भारतबाट उच्च शिक्षा हासिल गरे । उनले सरकारी छात्रवृत्तिमा अमेरिका पुगेरसमेत उच्च शिक्षा हासिल गर्न भ्याए । स्नातकोत्तरसम्मको अध्ययन गरेका उनले जागिर छाडेर होटेल खोल्दा काठमाडौंमा औँलामा गन्न सकिने मात्र होटेल सञ्चालनमा थिए । त्यसवेला राजपरिवार र राणापरिवारको लगानीमा पाँचतारे सोल्टी र अन्नपूर्ण होटेल, बोरिस लिसानेभिच र राधेश्याम सर्राफको याक एन्ड यती होटेल, मल्ल होटेललगायत सञ्चालनमा थिए ।
स्वर्गिय पाण्डे होटेल संघ नेपाल (हान)का पूर्वअध्यक्षसमेत हुन् । उनी सन् १९९१ देखि १९९३ सम्म हानको अध्यक्ष थिए । हानले उनलाई ह्यान हल अफ फेम सम्मानबाट २०२४ मा विभूषित गरेको छ । हानले विज्ञप्ति जारी गर्दै नेपालको पर्यटन प्रवर्द्धनमा सदा सक्रिय रहेका पाण्डेको निधनबाट देशले पर्यटन विकासको अभिभावक गुमाएको बताएको छ ।
स्वर्गीय पाण्डेले सुरुवात गरेको हस्पिटालिटी व्यवसायलाई अहिले छोराहरू प्रशिद्धबहादुर पाण्डे र प्रवीणबहादुर पाण्डेले विस्तार गरिरहेका छन् । काठमाडौं र पोखराको पुरानो होटेलको स्तरोन्नति गरिँदै छ । पोखराकै बेगनास र चितवनको मेघौलीमा दुईवटा लक्जरी रिसोर्ट निर्माणाधीन अवस्थामा छन् । उनीहरूले काठमाडौं, बेगनास र मेघौलीमा निर्माण गरिरहेको रिसोर्टमा आइएचजीको फ्ल्यागसिप ब्रान्ड ‘इन्टरकन्टिनेन्टल’ र पोखराको सांग्रिला भिलेज रिसोर्टमा ‘इन्डिगो’ ब्रान्ड ल्याउन सम्झौता भइसकेको छ ।